म्याग्दी — स्थानीय व्यापारीको विरोधका बीच आगामी पुस २८ देखि माघ ८ गतेसम्म सदरमुकाम बेनीमा आठौं म्याग्दी महोत्सव हुने भएको छ ।
प्राचीन ‘रेशमी उपमार्ग’ र ‘साल्ट ट्रेड रुट’को रुपमा परिचित कालीगण्डकी करिडोरको एक प्रमुख व्यापारिक केन्द्र बेनीको महत्वलाई झल्काउने तथा आन्तरिक पर्यटन बढाउन भन्दै म्याग्दी उद्योग वाणिज्य संघले ‘प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक व्यापार मेला-२०८१ तथा म्याग्दी महोत्सव’ आयोजना गरेको हो ।
महोत्सवको स्थानीय फेन्सी, भाँडा व्यवसायीहरुले विरोध गरेका छन् । उनीहरुले १० दिनसम्म लाग्ने यस्तो महोत्सवको कारण व्यापार घट्ने, हिंसात्मक घटनाहरु बढ्ने, आजसम्म गरिएका सात वटा महोत्सवहरुले औचित्य पुष्टि नभएको, राति अबेरसम्म होहल्ला हुने गरेको भन्दै विरोध गरिरहेका छन् । ‘म्याग्दी महोत्सवको औचित्य पुष्टि भएको छैन । बरु महोत्सवमा भएको विवादले कुनै वर्ष युवाको त कुनै वर्ष युवतीले ज्यान गुमाउने गरेका प्रमाणित घटना छन् । महोत्सवले बजारका पसलहरुको व्यापार ठप्प हुने भएकोले पनि महोत्सव आवश्यक छैन,’ बेनी बजारको न्यूरोडस्थित फेन्सी पसल सञ्चालक देवीप्रसाद शर्माले भने, ‘देशभर कहीं पनि महोत्सव राति हुँदैन, यहाँ रात्रिकालीन महोत्सवले सांस्कृतिक विचलन ल्याएको छ ।’
उद्योग वाणिज्य संघको नेतृत्वमा हुन लागेको महोत्सवमा एक लाख आन्तरिक तथा बाहृय पर्यटक भित्र्याउने लक्ष्य रहेको छ । संघले हरेक तीन–तीन वर्षमा कृषि, पर्यटन तथा व्यापार महोत्सव गर्ने गरेको छ । ‘सीमित व्यापारमा महोत्सवको बेला व्यापार खुम्चिन सक्छ तर समग्रमा महोत्सवको आफ्नै व्यापारिक महत्व छ,’ म्याग्दी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेश शाक्यले भने, ‘साना, लघु, मझौला उद्योग, जडिबुटीमा आधारित उद्योग व्यवसाय, शिक्षा, कलासंस्कृति र पर्यटनमा भित्र्याउन र प्रवर्द्धन गर्न महोत्सव आयोजना गरिएको हो ।’
बेनी–जोमसोम–कोरला सडक मार्ग निर्माणसँगै फेरिएको प्राचीन ‘रेशमी मार्ग’को बदलिँएको स्वरुप तथा चीनसँग भएको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौताबाट कालीगण्डकी करिडोरमा लिन सकिने फाइदाबारे अवगत गराउन म्याग्दी व्यापार महोत्सव गर्न लागेको आयोजकले जनाएका छन् ।
महोत्सवमा रेशमी मार्ग र साल्ट ट्रेड रुटको फेरिएको महत्त्वमा छलफलबाहेक विभिन्न खेलकुद प्रतियोगिता, दोहरी गीत, स्थानीय लोकसंस्कृति र भेषभुषा समेतको झाँकी, जिल्ला चिनाउने फोटो एवं वृत्तचित्र प्रर्दशनी, स्थानीय कृषि, लघु उद्यमका सामग्री स्थानीय खानीबाट निकालिएका कच्चा तामाहरु, स्लेट ढुंगालगायतका सामग्रीलाई प्रर्दशनी गरिने उपाध्यक्ष शाक्यले बताए ।
दुई नदीको निरन्तर कटानले त्रिकोणाकार रुपमा अवस्थित बेनी क्षेत्रफल सानो भए पनि इतिहास भने लामो छ । प्राचीन समयमा भारत–भोट व्यापारको केन्द्र रहेको बेनी चौबीसे राज्य पर्वतको राजधानी थियो । चौबीसे राज्यको राजधानी रहेको समयावधिलाई यो बजारको स्वर्णकाल मानिन्छ ।
