बीआरआई सम्झौता उपलब्धिमूलक : एमाले उपमहासचिव ज्ञवाली

मंसिर २२, २०८१

BRI agreement successful: UML Deputy General Secretary Gyawali

म्याग्दी — नेकपा एमालेका उपमहासचिव तथा पूर्वपरराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले हालै प्रधानमन्त्री केपी शर्मा ओलीको छिमेकी चीन भ्रमणका क्रममा भएको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौता उपलब्धिमूलक भएको बताएका छन् । एमाले म्याग्दीले शनिबार बेनीमा आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा ज्ञवालीले पत्रकारसँग कुराकानी गर्दै यस्तो बताएका हुन् ।

‘सन् २०१७ मा सहमति भई कार्यान्वयन हुन नसकेको बीआरआईको ड्राफ्टमा अहिले सम्झौता भएको छ,’ उनले भने, ‘कसैसँग सहयोग लिएकै आधारमा छिमेकीसँगको सम्बन्धमा असर पुग्दैन ।’

चीन भ्रमण र बीआरआई सम्झौतासँग जोडेर देशमा ओली सरकार परिवर्तन हुने हल्ला चलाइएको भन्दै नेता ज्ञवालीले मुख्य प्रतिस्पर्धी दल कांग्रेस र एमालेबीचको गठबन्धन २०८४ सम्मै चल्ने पनि दाबी गरे । ‘कहिले बंगलादेश बनाउने, कहिले कोशी प्रदेशको नाम परिवर्तन गर्छौं भन्ने त कहिले दरबारियासँग साँठगाँठ गरी अस्थिरता मच्याउन चाहनेले नै सरकार परिवर्तनको पनि हल्ला चलाएका हुन्,’ उनले थपे, ‘सधैं ३२ सिटको जादुले काम गर्दैन, अब यो फर्मुला पुरानो भयो ।’

Link copied successfully