म्याग्दी — म्याग्दीलाई १६ महिनादेखि ५ वर्षमुनिका बालबालिकाहरुले पूर्ण खोप पाएको सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ ।
खोपको माध्यमबाट रोगको रोकथाम, निवारण र उन्मुलन गरी शिशु, बाल, मातृ तथा अन्य व्यक्तिको मृत्युदर घटाउन र खोप सेवाको विस्तार र सुदृढीकरण गरी गुणस्तरीय खोप सेवा निरन्तरता रहेको भन्दै सोमबार एक समारोहका बीच म्याग्दी पूर्ण खोप सुनिश्चतता तथा दिगोपना जिल्ला घोषणा भएको हो ।
गण्डकी प्रदेशकी स्वास्थ्यमन्त्री सीता सुन्दासले पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार सबै ६ वटा स्थानीय तहका ४५ वटै वडामा घरधुरी सर्वेक्षण गरी जन्मेदेखि १५ महिना मुनिका १ हजार ५ सय ६७ जना बालबालिका र छुट्टै १६ महिना देखि ५ वर्ष मुनिका सबै ४ हजर ८ सय ६९ जना बालबालिकाले पाउनुपर्ने सबै पूर्ण खोप पाएको सुनिश्चित भएको हो । योसँगै म्याग्दी गण्डकी प्रदेशकै पहिलो पूर्ण खोप सुनिश्चितता तथा दिगोपनासहितको जिल्ला बनेको छ ।
म्याग्दीलाई ०७१ चैत १५ गते नेपालकै छैठौं पूर्णखोप सुनिश्चित जिल्ला घोषणा देखि वर्षेनि पूर्णखोप सुनिश्चिता र दिगोपाना जिल्ला घोषणा हुँदै आएको छ । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार चालु आवमा म्याग्दीका रघुगंगा गाउँपालिकाका सबै ५ सय ९२ जना, धवलागिरी गाउँपालिकाका ६ सय ४१ जना, मंगला गाउँपालिकाका ८ सय २१ जना, बेनी नगरपालिकाका १ हजार २ सय ६४ जना, मालिका गाउँपालिकाका १ हजार ८० जना र अन्नपूर्ण गाउँपालिकाका ४ सय ७१ जना बालबालिकाले पूर्ण खोप प्राप्त गरेका छन् ।
१६ महिनादेखि १६ वर्षमुनिका बालबालिकाले बीसीजी, रोटा, पोलियो, एफआईपीभी, पीसीभी, डीपीटी, हेप–बी, दादुरा–रुवेला र जापनीज इन्सेफलाइटिस विरुद्धका विभिन्न चरणका खोप समय तालिकाभित्र प्राप्त गरेपछि पूर्ण खोप पाएको मानिन्छ ।
जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका संयोजक राजकुमार थापाले नेपालको संविधानको धारा ३५ र स्थानीमय सरकार संञ्चालन ऐन, ०७४ ले नै प्रत्यक बालबालिकालाई पूर्ण खोप पाउनै पर्ने कानुनी ब्यवस्था गरेको र विश्व स्वास्थ्य संगठनको प्रावधान अनुसार पनि वर्षेनि पूर्ण खोप सुनिश्चिता र दिगोपना घोषणा गर्ने गरिएको हो ।
स्थानीय सरकार संचालन ऐन, ०७४ को परिच्छेद ३ मा गाउँपालिका/नगरपालिकाको काम, कर्तब्य र अधिकार तथा वडा समितिको काम, कर्तब्य र अधिकार भित्र आधारभूत स्वास्थ्य सेवा अर्न्तगत खोप सेवा संञ्चालनको ब्यवस्था गरेको छ ।
