छोराछोरीको खुसीमा हाँस्ने तिम्रा ओठ, तिम्रा आँखा, तिम्रो निश्चल मन जसरी सिरानीको एउटा पाटोमा संघर्ष गरिरहेका थिए, त्यसरी नै म पनि तिम्रा दु:खहरूलाई आँखामा राखेर बाँच्नका लागि लडिरहेको छु ।
What you should know
काठमाडौँ — मेरी माता, तिमी मेरो तीर्थ ।
तिम्रो देहको मोहले छट्पटिएकी तिम्री छोरी आज पनि उत्तिकै छट्पटिमा छ ।
तिमी ढलेदेखि ढलेका मेरा रहर, खुसी, आत्मविश्वासहरू सबै तिमी जस्तै हराएका, गुमेका छन् आमा ।
छोराछोरीको खुसीमा हाँस्ने तिम्रा ओठ, तिम्रा आँखा, तिम्रो निश्चल मन जसरी सिरानीको एउटा पाटोमा संघर्ष गरिरहेका थिए, त्यसरी नै म पनि तिम्रा दु:खहरूलाई आँखामा राखेर बाँच्नका लागि लडिरहेको छु ।
अचेल तिमीलाई सम्झिदाको छट्पटिमा पटकपटक रुन्छु । तिम्रा हात समाएर सहाराको बैशाखी म पनि हुँ है आमा भनेर तिम्रो हात थम्थमाएको महसुस मात्रैले पनि भित्रबाट गलाउँछ । म माया, सम्बन्ध महसुस गर्ने मान्छे ।
तिमीसँग खरो भएर उत्रिदाको समय सम्झिँदा पाप गरेको महसुस हुन्छ । जब मैले थाहा पाउने भए तिमी त्यतिबेला गल्दै गयौ र एक्लो बनाएर छोड्यौं । मेरा उमंग, कामना, मभित्रका खुसी दिने बहानाहरू सबै बलेनीमा पोखिएर सकिँदासम्म पनि तिमीले गरेका हिम्मतलाई मनले ढोगेको थिए आमा । म आमा हुनु र तिमी आमा हुनुको अर्थ आजसम्म भेटेको छैन, तिम्रो महिमा धेरै माथि छ, मैले त तिम्रो मायालाई प्रसाद जस्तो मिठो मानेकी छु । संसारमा त्यो माया अरु कसैबाट पाइँदैन ।
हिजो तिमीले टेकेको पैतालाको माटो आज पनि मलाई बसाउँछ । तिमीले पसिना बगाएर एक मुठ्ठी अन्न उब्जाउने माटोमा मारेको थकाइ अझै बसाउँछ । तिमीले पुछ्ने गरेको पसिनाको बर्को अझ स्वादिलो लाग्छ । तिमी खुसी हुँदा हाँसेका मनहरू तिम्रा मदुसभित्र छन् कि भनेर खोतल्न मन लाग्छ । तिमीले लगाउने चप्पलमा तिम्रा औँलाका डामहरूलाई मुसारेर धोइदिन मन लाग्छ । मभित्रको अथाह मायाले मलाई जिस्काइरहन्छ आमा । तै पनि म चुप चाप छु । कहिलेकाहीँ मन दु:खेर रुँदा आँशु पुछेको पटुकाको सप्को आज पनि सुघ्न मन लाग्छ । त्यही पटुका झिकेर मेरा आँखा पुच्छ्न मन हुन्छ । जब गाउँ सम्झन्छु नि मैले त्यही कामको चटारो सम्झिएर घाँस काट्न हँसिया उदाएर ओरालो लाग्छेउ कि भन्ने कल्पनाका चाङ्गहरू म भित्र उम्लिन थाल्छन् ।
मेरा मनमा उम्रिएका तमाम आशालाई अझै पनि पर्खाउन मन लाग्छ आमा । तिम्रा पसिनाका छिटाहरू अझै पनि बारीको कान्ला र कुनामा ओत लागेर बसेका छन् कि भन्ने महसुस हुन्छ । आफन्त पर्नेहरूले तिमी दु:खमा परेको बेला मलाई हेपेको महसुस हुन्थ्यो आमा । तर, तिम्रो मायालाई शीरमा राखेर गरेको सेवाप्रति समाजले प्रश्न गर्न सकेन । आज समाजले तिम्रो दु:खप्रति गर्व गर्छ । दु:ख सिकाएकी थियौँ दु:खबाट उठेको मान्छे सुखका लागि आसक्त हुँदैन । तर दु:ख थेग्न चाहिँ सजिलो हुँदो रहेनछ आमा । जुन आज मैले भोगिरहेकी छु ।
मनको कुनाबाट यत्ति भन्न मन छ आमा जहाँ छौ सधै सम्मान छ । मलाई गाली गर्ने मान्छे मनपर्छ, मायाले त गलाउने, दुखाउने रहेछ । तिम्रो मायाको आशले म कति गलेको छु त्यहिँमाथिबाट हेरिराख्नु । सुतिरहेको तिम्रो देहलाई छोएर, संघर्श गरिरहेको सासलाई महसुस गरेर तिमीभित्र चमत्कारको जिन्दगी भरिदिन भगवानसँग परेको शरण सम्झिदा आज पनि त्यहिँ दुखाई आँखाबाट खस्छ । खसेका आँशुलाई तिम्रा हातले पुछ्न मन हुँदा पनि नसकिने कुरामा मनले जिद्दी गरेर गलाउँछ ।
नयाँ वर्षमा पर्ने तिम्रो जन्मदिन र आमाको मुख हेर्ने दिन आउँदा म शब्दविहीन हुन्छु । आज फेरि तिम्रो मुख हेर्ने दिन आउँदा मलाई कस्तो महसुस भएको होला । मैले तिमीलाई दिने भनेर राखेका खुशी र रहरले मलाई नै थिचिरहेको हुन्छ, घोचिरहेको हुन्छ । अरुको आमाको फोटो देख्दा मैले तिम्रा पाउ सम्झन्छु, तिमीले गाएको गीत सम्झन्छु अनि तिमी नाचेको त्यो ठाउँ सम्झन्छु । चारैतिर घुमेर तिम्रा खुशी देखेर फर्किन्छ मन । वास्तविकता देख्दा फेरि मुर्छा पर्छ ।
मेरा परिश्रमले तिमीलाई ढाक्न छोप्न मन थियो । तिम्रा रहरहरूलाई पुरिदिन मन थियो मेरै पसिनाको कमाइले । तर तिमी छैनौँ मेरो लागि खड्किएको भनेकै तिमी हौँ । अरु कुनै चिजसँग गुनासो छैन आमा । तिम्रा खुसीलाई अर्थाएर तिम्रै रहरलाई उनेर तिमीलाई फुलाउन मन थियो ढकमक्क हुने गरी । तिमी खुसी भएको दिन सम्झिदा त मन खुसी हुन्छ । फेरि तिम्रो दु:खको संघर्ष झ्याप्प अघि आएर उभिन्छ । अनि मन तितो भएर आँखाबाट नुनिलो पानी खस्छ । आँशु पुछ्दा तिम्रा हात मेरा गालामा छन् कि, किन रुन्छेस् भन्ने आवाज छ कि भन्ने महसुसले मलाई उचाल्ने पछार्ने गरिराखेको हुन्छ आमा ! कहाँ सुनाउ ? सुनाउने ठाउँ तिमी हौँ तर तिमी छैनौँ । यसरी त मनको दु:ख अति भारी लाग्ने रहेछ आमा, बिसाउने, लामो सास फेर्ने ठाउँ तिम्रो काख रहेछ । अरु ठाउँ फेर्दा त पैँचो तिर्नुपर्छ आमा ।
तिम्रो छट्पटिले म रोएको थिए, मलाई दु:खेको थियो । तिमीले भोगेका दु:खलाई मैले डायरीमा उनेकी छु । शरीर दुख्दा सजिलो हुने रहेछ आमा । मन दुख्दा मलाई तिमी नै चाहिन्छ । धर्तीमा तिम्रो मात्रै अभाव छ मलाई ।
तिमी चुप छौ, म चुप छु तिमी छैनौँ । तिम्रो देहले मलाई नहेरे पनि तिम्रो आत्माले मलाई हेरेको हुनुपर्छ । अहिले त तिम्रा र मेरा रहरहरू सबै मौन छन्, दु:ख र संवेदनाको खुसीहरू छट्पटिमा छन् ।
म थाकिसकेको छु, म भित्र उमंग रौनक, खुशी केही पनि छैनन ।
यत्ति हो कि अब म बाँच्नका लागि आशीर्वादको हात मेरो शिरमा होस् ।
आमा तिम्रो पाउमा सधै मेरो शीर हुनेछ ।
आमा हुनेले आमालाई माया दिनु, सम्मानले पुज्नु, उनका रहरहरूलाई उठाउनु । आमाको तुलना कुनै चिज र कुनै अरु सम्बन्धसँग हुँदैन । आमाविनाको संसार संसार नै हुँदैन । सबैका आमाप्रति नमन ।
