रात गहिरिँदै जाँदा वातावरणमा असामान्य तनाव बढ्दै गयो । अचानक बाहिरबाट आएको ठूलो आवाज सुनियो ड्याम... । ड्याम... । कसैले भने, मिसाइल आक्रमण भइरहेको छ ।
What you should know
काठमाडौँ — नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीइओ) का रूपमा विगत केही वर्षदेखि विश्वकै सबैभन्दा ठूलो पर्यटन मेला आइटीबी बर्लिनमा नेपालको सहभागिता समन्वय गर्दै आएको छु। यो मेला विश्व पर्यटन उद्योगको एउटा महत्वपूर्ण मञ्च हो, जहाँ पर्यटन व्यवसाय, नीति निर्माता, लगानीकर्ता र सञ्चार माध्यमका प्रतिनिधिहरू एकै ठाउँमा भेला हुन्छन् ।
प्रत्येक वर्ष जर्मानीमा आयोजना हुने यो मेलामा ७ हजारभन्दा बढी प्रदर्शक, १ लाखभन्दा बढी आगन्तुक र करिब १ सय ७० देशका प्रतिनिधिहरू सहभागी हुन्छन् ।
नेपालजस्तो उदाउँदो पर्यटन गन्तव्यका लागि यो मेला केवल प्रदर्शनी मात्र होइन, सम्बन्ध विस्तार गर्ने, नयाँ सहकार्य खोज्ने र भविष्यका सम्भावनाहरू खोल्ने महत्वपूर्ण अवसर पनि हो । यस वर्ष पनि नेपाल पर्यटन बोर्डसँगै निजी क्षेत्रका ३१ पर्यटन व्यवसायी सहभागी हुने तयारीमा थिए । २ देखि ५ मार्च २०२६ (फागुन १८–२१) सम्म विभिन्न द्विपक्षीय बैठक, गन्तव्य प्रस्तुति, सञ्चारकर्मीसँग अन्तरक्रिया तथा ‘नेपाल प्रवर्द्धन साँझ’ लगायतका कार्यक्रम तय भइसकेका थिए ।
तर यसपटक एउटा संयोग पनि थियो । मेलाको अन्तिम दिन नेपालमा प्रतिनिधिसभा निर्वाचनको मतदान पर्यो । नागरिक दायित्व र अन्तर्राष्ट्रिय जिम्मेवारीबीच सन्तुलन मिलाउने सोचसहित मैले दुवै काम पूरा गर्ने योजना बनाएँ । सोही योजनाअनुसार १६ फागुन बिहान म काठमाडौँबाट यात्रामा निस्किएँ । योजनाअनुसार २१ फागुनसम्म नेपाल आएर मतदानमा सहभागी हुने लक्ष्य थियो ।
१६ फागुन बिहान ९ बजेर १० मिनेटमा काठमाडौंबाट उडेको विमान दिउँसो १२ बजे दोहा अवतरण भयो । त्यहाँबाट बर्लिन जाने अर्को उडान स्थानीय समयअनुसार दिउँसो ३ बजेर ४५ मिनेटमा थियो ।
सुरुमा सबै कुरा सामान्य देखिन्थ्यो । अन्तर्राष्ट्रिय विमानस्थलको सुव्यवस्थित वातावरण र व्यवस्थित ट्रान्जिट प्रक्रियाले यात्रालाई सहज बनाइरहेको थियो । तर, दिउँसो करिब २ बजेतिर अचानक एउटा त्रासदी खबर फैलियो । इरानमा संयुक्त राज्य अमेरिका र इजरायलको संयुक्त आक्रमणपछि युद्ध चर्कियो । हवाई मार्ग तत्कालका लागि बन्द गरिएको सूचना आयो ।
सुरुमा ‘केही समय ढिलाइ’ भनिएको सूचना बिस्तारै ‘सबै उडान रद्द’ मा परिणत भयो। उडान बन्दको समय बढाउँदै लगियो । विमानस्थलका डिजिटल डिस्प्लेमा ‘ढिलाइ’ र ‘रद्द’ लेखिएका शब्दहरू लगातार देखिन थाले । केही समयअघि आफ्नो गन्तव्य पुग्ने उत्साहमा रहेका सयौं यात्रुहरू अचानक युद्धको प्रभावमा परेका थिए । मोबाइल फोनमा समाचार खोज्ने, सामाजिक सञ्जालमा फैलिएका सूचना र अफवाह छुट्याउने प्रयास गर्ने यात्रुहरूको भीड सूचना काउन्टरमा झुतिन थाल्यो । कहाँ बस्ने, के खाने, सुरक्षित कसरी हुने ? भिसाको अवस्था के हुने ? लगेज कसरी पाउने ? जस्ता प्रश्नहरू सबै यात्रुका मनमा उब्जिए ।
विमानस्थल सञ्चालन हुने आशामा करिब १० घण्टा बित्यो । रात गहिरिँदै जाँदा वातावरणमा असामान्य तनाव बढ्दै गयो । अचानक बाहिरबाट आएको जस्तो ठूलो आवाज सुनियो ड्याम... । ड्याम... । कसैले भने, मिसाइल आक्रमण भइरहेको छ । मिसाइलको दृश्य प्रत्यक्ष देखिएको थिएन तर त्यो आवाजले मनभित्रसम्म कम्पन पैदा गर्यो । विश्व राजनीति एकाएक व्यक्तिगत अनुभूतिमा बदलिएको महसुस भयो ।
रसिया-युक्रेन, इजरायल-हमासको लडाइका दृश्यहरू मानसपटलमा उत्रिए । टेलिभिजन र सामाजिक सञ्जालमा देखेका विस्फोट र भगदौडका दृश्यहरू आफैं उभिएको भौगोलिक परिवेशमै भइरहेको जस्तो आभाष हुन थाल्यो । विमानस्थलजस्तो सुरक्षित संरचनाभित्र रहेर बाहिरको युद्धको प्रतिध्वनि सुन्नु मेरो जीवनको पहिलो डरलाग्दो अनुभव थियो त्यो ।
स्वभावतः संयमित हुने स्वभाव भएकाले अत्यधिक डरभन्दा बढी एउटा चिन्ता मनमा छाइरह्यो । नेपालका लागि तय भएका महत्वपूर्ण बैठकहरू समयमै पुग्न सकिएला कि नसकिएला भन्ने चिन्ताले पछ्याइरह्यो ।
त्यसैबीच नेपालबाट लगातार फोन आउन थाले—परिवार, आफन्त, साथीभाइ र सहकर्मीहरूबाट । सबैको एउटै प्रश्न थियो, 'सुरक्षित हुनुहुन्छ नी ?’
मैले सबैलाई धैर्यका साथ एउटै उत्तर दिइरहे, 'म सुरक्षित छु । मिडियामा देखिएजस्तो स्थिति दोहामा छैन । चिन्ता नगर्नुहोला ।’
यसैबीच मेरो ११ वर्षीया छोरी इभाराले श्रीमती र जेठी छोरी समेटेर बनाएको पारिवारिक ह्वाट्सएप समूहमा सन्देशहरू आउन थाले,’ सुरक्षित रहनुहोस् । बाहिर नजानु । अहिले स्थिति कस्तो छ ?’ यी साना सन्देशहरूले मनको भित्रैसम्म छोए । संकटका बेला बालहृदयको चिन्ताले भावुक बनायो । 
रात करिब डेढ बजे विमानस्थलको विश्राम कक्षमा केही समय निदाएछुँ । अचानक कतारका कर्मचारीले उठाउँदै भने कि दुबइ विमानस्थलमा ड्रोन आक्रमण भएको छ र यहाँ पनि जोखिम हुन सक्ने भएकाले यात्रुहरूलाई होटलमा सार्ने तयारी भइरहेको छ ।
हतारिँदै सूचना डेस्कमा पुगेँ । लामो लाइनमा बसेर बिहान ४ बजेर ३० मिनेटसम्म प्रतीक्षा गर्नुपर्यो । सुरुमा एउटा होटलको भौचर दिइयो तर त्यो होटल भरिएको खबर आयो । पछि पुनः समन्वय गरेर दोहाको वेस्ट बे क्षेत्रमा रहेको पाँचतारे होटलमा बस्ने व्यवस्था मिलाइयो । बिहान ९ बजे मात्र विशेष मार्गबाट इमिग्रेसन प्रक्रिया पूरा गरेर विमानस्थलबाट बाहिर ल्याइयो ।
म सामान्यतया हल्का यात्रा गर्ने भएकाले हातको झोलामा ल्यापटप, कार्यक्रमसम्बन्धी फाइल र एउटा पुस्तक मात्रै थिए । करिब ३० घण्टा कपडा फेर्न नपाउँदा असहज अनुभव भइरहेको थियाे । होटल पुगेपछि लगाएका कपडा आफैँ धोएर सुकाए । अर्को दिन नजिकैको किनमेल केन्द्र खुलेपछि गएर दुईवटा टिसर्ट, एउटा अन्डरवेयर, एउटा ट्राउजर र एक जोर मोजा किनेर दैनिक जीवनलाई केही सहज बनाइयो । त्यो सानो किनमेलको अनुभव थियो । तर, एउटा सफा कपडा वा सामान्य खाना कति महत्वपूर्ण हुन्छ भन्ने गहिरो बोध गरायो ।
दिनहरू बित्दै गए । १ दिन, २ दिन, ३ दिन... हरेक बिहान एयरलाइन्सबाट आउने सूचना एउटै हुन्थ्यो,’ भोलि नयाँ जानकारी दिइनेछ ।’
यसरी १२ दिन कतारको राजधानी दोहाको एक होटलमा बिते । अन्ततः २७ फागुनमा कतारले सञ्चालन गरेको उद्दार उडानमार्फत म दिल्ली उत्रिएँ । त्यहाँबाट अर्को दिन, २८ फागुनमा नेपाल फर्किएँ ।
दोहामा बिताएका ती १२ दिन केवल त्रास र प्रतीक्षाका दिन मात्र थिएनन् । ती अवलोकन, आत्ममन्थन र सिकाइका दिन पनि भए । इरान आक्रमणको घटनाले एउटा महत्वपूर्ण कुरा स्पष्ट गर्यो- पर्यटन केवल गन्तव्यको प्रचार मात्र होइन । यो सुरक्षा, संकट व्यवस्थापन, कूटनीतिक समन्वय र संस्थागत विश्वसनीयताको समष्टि पनि रहेछ ।
पर्यटक गन्तव्यमा पुग्नुअघि उडान, ट्रान्जिट, भिसा, सुरक्षा र सूचना जस्ता अनेक प्रणाली पार गर्छन् । यीमध्ये कुनै एक कमजोर भयो भने सम्पूर्ण गन्तव्यको छवि प्रभावित हुने रहेछ ।
दोहाको आकाशमा बेला बेला सुनिएको मिसाइलको गर्जन आज पनि काठमाडौंमा म मेरो घर धुम्बराहीमा गुञ्जिरहेको महसुस गरिरहेको छु । तर, त्यससँगै एउटा सन्देश पनि मनमा बसेको छ,’ संकट अस्थायी हुन्छ, तर त्यसले दिएको पाठ दीर्घकालीन हुने रहेछ ।
