३५ वर्षे छोराको आत्मकथन
What you should know
'बाबा, मलाई पैसा दिनु न !'– जीवनमा सबैभन्दा धेरै पटक उच्चारण गरेको शब्द सायद यही होला । कहिले स्कुलको किताब किन्न होस्, कहिले साथीहरूसँग चिया खान, कहिलेकाहीँ त कुनै ठोस कारण बिना नै । हरेक बहानामा अनि हरेक निहुँमा म बाबाकहाँ पुग्थेँ । मनमा थोरै लाज हुन्थ्यो, कहिलेकाहीँ आफैँलाई खिसी पनि लाग्थ्यो । तर भन्नचाहिँ छोड्दिनथेँ, 'बाबा, मलाई पैसा दिनु न !'
बाबाले म र भाइ दुवैलाई सधैं 'ए सुन त...' भनेर बोलाउनुहुन्थ्यो । वहाँले नामै काढेर बोलाएको सम्झनै छैनभन्दा पनि हुन्छ । तर 'ए सुन त...' भन्ने आवाजमा एउटा यस्तो अपनत्व मिल्थ्यो, सायदै त्यो कुनै शब्दबाट मिल्ला । कहिलेकाहीँ त यस्तो लाग्छ, सायद म नामलेभन्दा बढी त्यही सम्बोधनमा आफ्नो पहिचान भेट्छु ।
म झापा भद्रपुरको एक मध्यम वर्गीय परिवारको छोरो । हाम्रो घर ममीले सम्हाल्नुहुन्छ । बाबाले राष्ट्र बैंकमा काम गर्नुहुन्थ्यो (अहिले त अवकाश पाई सक्नु भ'को छ) । बाबाकै कमाईमा घर चल्थ्यो, पढाइ हुन्थ्यो, हामी त्यसरी नै हुर्कियौँ ।
२०५८ सालमा पढ्नकै लागि काठमाडौं जाने भएँ म । त्यही बेला पहिलोपटक जहाज चढेँ । जहाजमा बाबाले झ्यालबाट पर परतिर औँला सोझ्याउँदै अनेक ठाउँ देखाउनुभयो ।
काठमाडौं आएको साल म कहिल्यै भुल्दिनँ ।
किनकी त्यही साल राजदरबारमा राजाको परिवारकै हत्या भएको थियो । त्यो बिहान म भद्रपुरस्थित घरमा मस्त निन्द्रामा थिएँ । दिदीले 'ए भाइ! तँलाई थाहा छ... राजा रानीहरुको त हत्या भयो नि ।' त्यो खबर म ७ कक्षामा पढ्ने फुच्चेलाई कति गम्भीर बनायो होला भनेर म अनुमान मात्रै गर्न सक्छु ।
'बाबा, मलाई पैसा दिनु न !' यो मेरा लागि थेगो जस्तै थियो । कहिलेकाहीँ म झुटो बहाना बनाएर पनि भन्थे, 'बाबा, मलाई पैसा दिनु न !'
कहिलेकाहीँ मलाई लाज लाग्थ्यो, 'कति माग्ने पैसा ?' तर कहिल्यै सोध्ने आँट देखाइनँ । अहिले त आफैं कमाउन सक्ने भएको छु । तर पनि कहिलेकाहीँ पैसा सकिन्छ । बैंक ब्यालेन्स खाली हुन्छ । खासै बचत गर्ने बानी पनि छैन । बेला बखत सोच्छु, साँच्चै बाबाले त्यो बेला के सोच्नुभयो होला? उहाँलाई पनि त गाह्रो हुन्थ्यो होला, उहाँसँग पनि त पैसा हुँदैन थियो होला । यस्तै यस्तै । मैले टिफिनमा मःम: र कोक खाएको, साथीसँग फिल्म हेर्न गएको, कलेज बंक गरेको यस्ता कुरा बाबालाई थाहा थिएन होला र ? सायद पक्कै थाहा हुन्थ्यो होला । म बेला बेला सोच्थेँ पनि, 'म साँच्चै किन मागिरहेको छु पैसा ।' तर वहाँले कहिल्यै सोध्नुभएन - 'किन ? कति ? जहिल्यै पैसा ?'
कहिलेकाहीँ लाग्छ, 'के उहाँले साँच्चै बुझ्नुभएन होला ? के उहाँलाई थाहा थिएन होला त मैले अनेकन् बहाना बनाएर पैसा मागेको ।' हिजोआज मैले बुझ्न थालेको छु, उहाँलाई सबै थाहा थियो । त्यो थाहा पनि एक किसिमको प्रेम थियो - मौन प्रेम, नबोलेको विश्वास।
अनेकन् बहाना गरेर पैसा माग्दै म हुर्किएँ । काठमाडौंकै कलेजबाट स्नातक तहको पढाइ सकेँ । मास्टर्स पढ्न भारत पुगेँ । त्यहाँको पढाइ सस्तो थिएन । दैनन्दिनको खर्च, होस्टेल, किताब– सबैमा पैसा लाग्थ्यो । छात्रवृत्ति केही थियो होला तर मुख्य रकम त बाबाकै गोजीबाट आउँथ्यो । तर पनि मैले वहाँको अनुहारमा बोझ देखिनँ ।
कहिलेकाहीँ मलाई लाज लाग्थ्यो, कति माग्ने पैसा । तर कहिल्यै सोध्ने आँट देखाइन् ।
अहिले त आफैं कमाउन सक्ने भएको छु । तर पनि कहिलेकाहीँ पैसा सकिन्छ । बैंक ब्यालेन्स खाली हुन्छ । खासै बचत गर्ने बानी पनि छैन । बेला बखत सोच्छु, 'साँच्चै बाबाले त्यो बेला के सोच्नुभयो होला? उहाँलाई पनि त गाह्रो हुन्थ्यो होला, उहाँसँग पनि त पैसा हुँदैन थियो होला ।' यस्तै यस्तै ।
तर किन उहाँले कहिल्यै पनि 'छैन' भन्नुभएन ? सायद, उहाँको लागि म पैसाभन्दा ठूलो थिएँ । सायद, उहाँको लागि म खुसी भए पुग्थ्यो । सायद, त्यही 'बाबा' बन्नु पनि वहाँका लागि एउटा सपना थियो ।
म फेरि अतिततिरै फर्किन्छुँ । 'म छोरी हुर्काइरहेको बाबा हुँ' भनेर सम्झिन्छु । मेरी सानी छोरीले बाबा, 'पैसा दिनु न' भन्ने सिकिसकेकी छैन ।
तर म डराउँछु– त्यो दिन आउँछ। र एकदिन उसले चम्किलो आँखा र मधुरो स्वरमा भन्नेछे, 'बाबा, मलाई पैसा दिनु न ।'
त्यस दिन म के गर्छु होला ? म उसलाई अँगालो हाल्छु होला, हाँसेर सोध्छु होला वा भन्छु होला, 'किन चाहियो सानु पैसा ?' कहिलेकाहीँ अनायासै सोच्छु, 'के म आफ्नो बाबाजस्तै बन्न सक्छु?'
शान्त, गम्भीर, धैर्यवान्– सधैँ दिने, केही नबोली, केही नदेखाई ?
'कि म अरू नै किसिमको बाबा हुनेछु ?' थोरै बढी सुरक्षात्मक, बढी बुझाउने, वा कहिलेकाहीँ 'छैन' भन्न सक्ने? र सबैभन्दा गहिरो डर त्यतिबेला लाग्छ, जब छोरी पैसा मागिरहेकी हुनेछिन् र म सँग पैसा नभएको होस् ।
के म छोरीको त्यो नमिठो र निराश नजर सहन सकुँला ?
सायद त्यसबेला म हाँसेर भन्नेछु, 'छोरी, आज छैन... तर भोलि पक्का ल ।' यति भनिसकेर म उसको कान्छी औंला समाएर भन्नेछु, 'प्रमिस छोरी । भोलि पक्का ल ।'
सायद म उसलाई पैसाभन्दा महत्त्वपूर्ण कुराहरूको मूल्य सिकाउन थाल्छु होला । अनि सायद, भित्रभित्रै आफ्नो बाबालाई सम्झँदै, उनको त्यही चुपचाप माया झलझली सम्झँदै - म मुस्कुराउँछु।
किनकि त्यो दिन, म फेरि एकपल्ट बच्चा बनेको हुन्छु…एक जना बाबाको छोरो, अनि एक छोरीको बाबा।
आज म आफ्नै बाबालाई सम्झिन्छु । उहाँ अझै पनि त्यही साधारण जीवन बाँचिरहनु भएको छ । तर म वहाँजस्तो छैन । पैसा कमाएर मात्र बाबा बन्न सकिन्न रहेछ । त्यो त मनको उदारताले मात्र बन्ने रहेछ ।
एकदिन मैले सोचे,'के म विदेश भए त्यही बोल्न सक्थेँ ?' अर्को एकदिन सोचे, 'यदि म अमेरिका वा अस्ट्रेलिया वा अन्य कुनै देश हुन्थे भने...। के म त्यत्तिकै सजिलै बाबासँग पैसा माग्न सक्थेँ ?' सायद सक्दिन थिए होला। त्यो हिम्मत नआउला, त्यो दूरी बढ्ला, त्यो 'संस्कृति' फेरिएको होला।
नेपालमा बाबा भन्नेबित्तिकै हामी एउटा सहारा, एउटा संरक्षक, एउटा मौन शक्तिको रूपमा हेर्छौं । बाबा भन्नेबित्तिकै हाम्रो भाषा त्यसै सजिलो हुन्छ । बोली निश्चिन्त हुन्छ। त्यही भएर बाबा, 'मलाई पैसा दिनु न !' भन्ने वाक्य पनि हामीलाई आत्मियताको प्रतीक जस्तो लाग्छ।
अहिले मैले बुझ्न थालेको छ । पैसा त सधैं सकिन्छ, तर त्यो साथ, त्यो विश्वास कहिल्यै सकिँदैन। उहाँले पैसा दिँदा मलाई खुसी मात्रै दिनुभएन आत्मबल, आशा, र अभिभावकत्वको अर्थ पनि दिनुभयो ।
त्यसैले म चाहन्छु म बाबाजस्तो बनूँ । म अझै चाहन्छु, म पनि आफ्नो छोरीको लागि त्यही बन्न सकूँ– मौन प्रेम दिने, नसोधीकन विश्वास गर्ने, र सधैं साथ दिने बाबा।
