०७७ मंसिरमा रामेछापका उमाकुण्ड, सुनापति, लिखुतामाकोशी र दोरम्बा शैलुङ गाउँपालिकामा पनि अस्पताल निर्माणको घोषणा गरिएको थियो ।
रामेछाप — तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले आधारभूत स्वास्थ्य सेवा स्थानीय तहसम्म विस्तार गर्ने योजना अनुसार २०७७ मंसिर १५ गते देशभरका ३९६ स्थानीय तहमा आधारभूत अस्पताल शिलान्यास गरेको थियो ।
त्यसबेला सातै प्रदेशमा सरुवा रोग अस्पतालको एकैसाथ शिलान्यास भएको थियो । गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने भन्दै ठाउँ हेरेर ५, १० र १५ शय्याका एकै डिजाइनका अस्पताल शिलान्यास गरिएको थियो। स्थानीय तहको जनसङ्ख्या र आवश्यकताअनुसार एउटै अवधारणामा अस्पताल निर्माण गरी दुई वर्षभित्र सबै अस्पताल सञ्चालनमा ल्याउने सरकारी लक्ष्य थियो।
त्यसबेला बागमती प्रदेशमा ५१ वटा आधारभूत अस्पतालको शिलान्यास भएको थियो, जसमध्ये रामेछापका चार स्थानीय तह उमाकुण्ड, सुनापति, लिखुतामाकोशी र दोरम्बा शैलुङ गाउँपालिकामा पनि अस्पताल निर्माणको घोषणा गरिएको थियो।
तर ६ वर्ष पुग्न केही महिना मात्रै बाकी रहँदा पनि रामेछापमा सरकारी लक्ष्य अनुसार आधारभूत अस्पताल बन्न सकेको छैन । चारमध्ये दुई उमाकुण्ड र सुनापति गाउँपालिकामा आधारभूत अस्पताल निर्माण सम्पन्न भई सेवा प्रवाह गरिरहेका छन्। तर लिखुतामाकोशी र दोरम्बा शैलुङका अस्पताल भने अझै निर्माणाधीन अवस्थामै छन्। निर्माणमा भएको लामो ढिलाइले स्थानीय नागरिकले आफ्नै पालिकाबाट सहज र गुणस्तरीय स्वास्थ्य सेवा पाउने अपेक्षा अझै पूरा हुन सकेको छैन।
उजुरीको छायाँमा लिखुतामाकोशी आधारभूत अस्पताल
लिखुतामाकोशी गाउँपालिकामा निर्माणाधीन १५ शय्याको आधारभूत अस्पतालको निर्माण कार्य विगत एक वर्षदेखि ठप्प छ । जसका कारण स्थानीयवासी आफ्नै गाउँमा आधारभूत स्वास्थ्य सेवा पाउने अपेक्षाबाट वञ्चित भएका छन्।
गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक किशोरीप्रसाद साहका अनुसार अस्पताल निर्माणमा उठेको विवाद अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुगेपछि निर्माण कार्य रोकिएको हो। 'निर्माण व्यवसायीले काम नगरेर वा बजेट अभावका कारण काम रोकिएको होइन,' उनले भने, 'निर्माणसम्बन्धी विवाद अख्तियारमा पुगेकाले काम अगाडि बढ्न सकेको छैन।'
उनका अनुसार करिब साढे १४ करोड रुपैयाँ लागतमा निर्माण सम्झौता भएको अस्पतालको काम उजुरी परेपछि गत एक वर्षदेखि अघि बढ्न सकेको छैन। विवादको टुंगो नलाग्दा निर्माणाधीन संरचना अलपत्र परेको छ भने अस्पताल सञ्चालनमा आउन थप ढिलाइ हुने देखिएको छ। गाउँपालिकाले विवादको शीघ्र समाधान गरी निर्माण कार्य पुनः सुरु गर्न सम्बन्धित निकायसँग जनप्रतिनिधि लगायत गाउँपालिका लागि परेको उनले बताए ।
स्थानीयले अस्पताल सञ्चालनमा आएपछि सामान्यदेखि आकस्मिक स्वास्थ्य सेवा आफ्नै पालिकाभित्र उपलब्ध हुने अपेक्षा गरेका थिए। तर निर्माण कार्य अनिश्चित कालका लागि रोकिँदा उनीहरू अझै पनि उपचारका लागि जिल्ला सदरमुकाम वा काठमाडौँ धाउन बाध्य छन्।
दोरम्बा शैलुङ आधारभूत अस्पतालको कामले गति लियो
दोरम्बा शैलुङ गाउँपालिका–२ दोरम्बामा निर्माणाधीन १५ शय्याको आधारभूत अस्पताल पनि निर्धारित समयमै सम्पन्न हुन सकेको छैन। निर्माण सुरु भएको पाँच वर्ष नाघिसेको भए पनि अस्पताल भवन तयार नभएपछि स्थानीयले आफ्नै पालिकामा सहज स्वास्थ्य सेवा पाउने प्रतीक्षा अझै लम्बिएको छ।
अस्पताल निर्माणका लागि आरोग्य–सुवेदी जेभीसँग २०७७ चैत १७ गते ठेक्का सम्झौता भएको थियो। भ्याटसहित ११ करोड ३० लाख ११ हजार ४६० रुपैयाँ लागतमा २०७८ चैत १६ गतेभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि काम समयमै सकिएन। त्यसपछि गाउँ कार्यपालिकाले पहिलो पटक २०७९ असोज १६ गतेसम्म र पुनः २०८० असार २४ गतेसम्म म्याद थप गर्यो। तर थपिएको समय सीमाभित्र पनि निर्माण सम्पन्न हुन सकेन।
गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक नरेश महतोका अनुसार निर्माण प्रक्रिया बिचमा करिब दुई वर्ष विभिन्न विवादका कारण अवरुद्ध भएको थियो। 'विवादका कारण दुई वर्ष काम रोकियो,' उनले भने, 'अहिले भने निर्माण तीव्र गतिमा भइरहेको छ।'
महतोका अनुसार अहिलेको कार्य गतिले निरन्तरता पाए निर्माण व्यवसायीले चालु आर्थिक वर्ष २०८३/८४ भित्र भवन हस्तान्तरण हुने र त्यसपछि अस्पतालबाट सेवा सञ्चालन सुरु गर्ने सम्भावना रहेको छ।
