लिखुखोलामा आकस्मिक बाढी, लाछेवर जाने सडक अवरुद्ध

बाढीका कारण सडक सञ्जाल अवरुद्ध भएपछि लाछेवर क्षेत्रका स्थानीयको आवतजावत र दैनिक आपूर्तिमा समेत समस्या भएको छ ।

असार २९, २०८३

नवराज श्रेष्ठ

रामेछाप — रामेछाप र सोलुखुम्बु जिल्लाको सीमा भएर बग्ने लिखुखोलामा सोमबार राति आएको आकस्मिक बाढीले लाछेवर जोड्ने मोटरेबल पुल बगाउँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

अविरल वर्षापछि आएको बाढीले रामेछापको उत्तरी भेगस्थित उमाकुण्ड गाउँपालिका–१ को अन्तिम मानव बस्ती लाछेवर जाने सडक अवरुद्ध बनेको हो।

उमाकुण्ड गाउँपालिका–१ गुम्देलका वडाध्यक्ष ङावा तिन्डु शेर्पाका अनुसार स्थानीय बिखे खोलाबाट आएको बाढीले लिखुखोलाको बहाव थुनेपछि एक्कासि ठूलो बाढी आएको थियो। सोही बाढीले लाछेवरको फेदीस्थित सुन्दा क्षेत्रमा रहेको एउटा होटेल बगाएको उनले बताए।

बाढीका कारण दुगड ग्रुपद्वारा सञ्चालित एक जलविद्युत् आयोजनाको ड्याम क्षेत्रमा समेत क्षति पुगेको वडाध्यक्ष शेर्पाको भनाइ छ। हालसम्म मानवीय क्षति भने नभएको उनले जानकारी दिए।

स्थानीय वासीका अनुसार बाढीले मोटरेबल पुलसहित तीन वटा पुलमा क्षति पुर्‍याएको छ। पुल बगेपछि लाछेवर जाने सडक पूर्ण रूपमा अवरुद्ध बनेको छ भने एउटा जलविद्युत आयोजनको ड्याम क्षेत्रमा क्षति पुगेको स्थानीय मणिराज सुनुवारले बताए ।

बाढीका कारण सडक सञ्जाल अवरुद्ध भएपछि लाछेवर क्षेत्रका स्थानीयको आवतजावत र दैनिक आपूर्तिमा समेत समस्या भएको उनले बताए । 

नवराज श्रेष्ठ कान्तिपुरका रामेछाप संवाददाता हुन् ।

Link copied successfully