रामेछापको उमाकुण्डमा शिक्षा सुधारको अभियान : उत्कृष्ट विद्यालयलाई २ लाखसम्म पुरस्कार

तोकिएको मापदण्डका आधारमा विद्यालय र शिक्षकहरूको मूल्याङ्कन गरी उत्कृष्ट शैक्षिक संस्था तथा शिक्षक छनोट गरिएको गाउँपालिकाले जनाएको छ।

असार २४, २०८३

नवराज श्रेष्ठ

रामेछाप — शैक्षिक गुणस्तर सुधार गर्दै विद्यालय र शिक्षकबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्ने उद्देश्यले रामेछापको उमाकुण्ड गाउँपालिकाले उत्कृष्ट विद्यालय तथा शिक्षकलाई नगद पुरस्कारसहित सम्मान गर्ने कार्यक्रम सुरु गरेको छ।

तोकिएको मापदण्डका आधारमा विद्यालय र शिक्षकहरूको मूल्याङ्कन गरी उत्कृष्ट शैक्षिक संस्था तथा शिक्षक छनोट गरिएको गाउँपालिकाले जनाएको छ। प्रमुख प्रशासकीय अधिकृत ङावा शेर्पाका अनुसार गाउँपालिका स्तरीय छनोट समितिको असार १९ गते बसेको बैठक तथा गाउँ कार्यपालिकाको असार २० गतेको निर्णयअनुसार उत्कृष्ट विद्यालय र शिक्षकको नाम सार्वजनिक गरिएको हो।

उत्कृष्ट विद्यालयतर्फ उमाकुण्ड गाउँपालिका–६, गुप्तेश्वरस्थित श्री कैलेश्वर माध्यमिक विद्यालय प्रथम भएको छ। उक्त विद्यालयले २ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ। त्यसै गरी, उमाकुण्ड–४, प्रीतिस्थित श्री चण्डेश्वरी माध्यमिक विद्यालय द्वितीय हुँदै १ लाख रुपैयाँ तथा उमाकुण्ड–३, कुभुँकास्थलीस्थित श्री जनता माध्यमिक विद्यालय तृतीय हुँदै ५० हजार रुपैयाँ नगद पुरस्कारका लागि छनोट भएका छन्।

यस्तै गाउँपालिकाले उत्कृष्ट कार्यसम्पादन गरेका पाँच जना शिक्षक तथा प्रधानाध्यापकलाई जनही १० हजार रुपैयाँ नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय गरेको छ। पुरस्कृत हुने शिक्षक तथा प्रधानाध्यापकमा श्री जनजागृति आधारभूत विद्यालयका कुमार थापा, श्री सिद्धेश्वर माध्यमिक विद्यालय, बाम्तीका जगदीश बस्नेत, सोही विद्यालयका इराक आङदेम्बे, श्री जनता माध्यमिक विद्यालय, कुभुँकास्थलीकी प्रविणा सुनुवार तथा श्री चण्डेश्वरी माध्यमिक विद्यालय, प्रीतिकी इन्दिरा आचार्य रहेका छन्।

शिक्षा क्षेत्रमा उत्कृष्ट कार्य गर्ने विद्यालय र शिक्षकलाई प्रोत्साहन गर्दै गुणस्तरीय शिक्षाको विकास, शैक्षिक उपलब्धि अभिवृद्धि तथा विद्यालयहरूबीच सकारात्मक प्रतिस्पर्धा बढाउने उद्देश्यले यस्तो कार्यक्रम सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत शेर्पाले बताए । 

नवराज श्रेष्ठ कान्तिपुरका रामेछाप संवाददाता हुन् ।

Link copied successfully