योजनाको नापजाँच, अनुगमन र निरीक्षणका लागि फिल्डमा जान सक्ने अवस्था नरहेको प्राविधिक कर्मचारीले बताएका छन् ।
रामेछाप — रामेछापको खाँडादेवी गाउँपालिकामा कार्यरत इन्जिनियर तथा असिस्टेन्ट सब–इन्जिनियरहरूले कार्यस्थलमा भएको कुटपिट, दुर्व्यवहार र निरन्तरको धम्कीको विरोध गर्दै सामूहिक रूपमा राजीनामा दिएका छन् । जसका कारण पूर्वाधार विकास शाखामार्फत हुने नाप जाँच, अनुगमन, योजना कार्यान्वयन तथा भुक्तानी प्रक्रिया प्रभावित भएको छ।
गाउँपालिकाको लेटर प्याडमा बिहीबार जारी विज्ञप्तिमा केही समययता उपभोक्ता समितिसँग सम्बन्धित तथा अन्य व्यक्तिबाट प्राविधिक कर्मचारीमाथि अनावश्यक दबाब, धाकधम्की र असुरक्षा सिर्जना गर्ने गतिविधि बढ्दै गएको उल्लेख छ। विज्ञप्तिमा राजीनामा दिने कर्मचारीको सङ्ख्या र विज्ञप्ति जारी गर्ने जिम्मेवार व्यक्तिको नाम उल्लेख गरिएको छैन। यद्यपि, त्यसमा २२ जनाको हस्ताक्षर रहेको छ।
विज्ञप्तिमा राष्ट्रसेवक कर्मचारीले भयमुक्त र सुरक्षित वातावरणमा काम गर्न पाउनुपर्ने संवैधानिक र कानुनी अधिकारमाथि आघात पुगेको उल्लेख गर्दै कर्मचारीमाथि भइरहेको दबाब र भौतिक असुरक्षाका कारण विकास निर्माणका काम तथा सेवा प्रवाहमा गम्भीर असर परेको जनाएको छ। घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाहीका लागि स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय भइरहेको पनि विज्ञप्तिमा उल्लेख छ। गाउँपालिकाले समस्या तत्काल समाधान नभए विकास निर्माणका काम मात्र होइन, समग्र सेवा प्रवाह नै प्रभावित हुने चेतावनी दिइएको छ।
विज्ञप्तिअनुसार असार ९ गते २०औँ गाउँसभा अधिवेशन चलिरहेका बेला गाउँपालिका कार्यालय परिसरमै प्रमुख प्रशासकीय अधिकृतसहित प्राविधिक कर्मचारीमाथि दुर्व्यवहार र हातपातको प्रयास भएको थियो । त्यसको दुई दिनपछि असार ११ गते, पूर्वाधार शाखाभित्रै प्राविधिक कर्मचारीमाथि अपशब्द प्रयोग गर्दै गालीगलौज र हातपातको धम्की दिइएको उल्लेख गरिएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युगेशकुमार यादवले बिहीबार साँझ प्राविधिक कर्मचारीमाथि घेरा हालेर कुटपिट गरिएको दाबी गरे। उनका अनुसार पछिल्ला घटनाले कर्मचारीहरू अत्यन्तै असुरक्षित महसुस गरिरहेका छन्। 'प्राविधिक कर्मचारीलाई घेरा हालेर कुटपिट गरिएको छ,' यादवले भने, 'विधि र प्रक्रियाअनुसार काम गर्दा पनि विभिन्न दबाब र अवरोध खेप्नुपरेको छ। अहिले काम कसरी गर्नेभन्दा पनि ज्यान कसरी जोगाउने भन्ने चिन्ता भएको छ ।'
उनले यस्तो अवस्थामा प्राविधिक कर्मचारीहरू योजनाको नाप जाँच, अनुगमन र निरीक्षणका लागि फिल्डमा जान सक्ने अवस्था नरहेको बताए । 'यस्तो वातावरणमा कर्मचारीलाई फिल्डमा पठाउन सकिने अवस्था छैन,' उनले भने ।
घटनामा संलग्न खाँडादेवी गाउँपालिका–६ का प्रेम तामाङलाई बिहीबार साँझ नै प्रहरीले नियन्त्रण लिई जिल्ला प्रहरी कार्यालय रामेछाप ल्याएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजनप्रसाद तिम्सिनाका अनुसार प्राविधिक कर्मचारी र सेवाग्राहीबिचको विवादपछि धकेलाधकेल र हात हालाहाल भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
उनका अनुसार घटनाबारे थप तथ्य बुझ्न दुवै पक्षलाई शुक्रबार छलफलका लागि बोलाइएको छ। छलफलमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युगेशकुमार यादवलाई समेत उपस्थित हुन आग्रह गरिएको प्रहरीले जनाएको छ। घटनाको वास्तविक कारण र दोषीको पहिचान गर्न अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।
गाउँपालिका उपाध्यक्ष रमा घिसिङले प्राविधिक शाखाका कर्मचारीहरूले सामूहिक राजीनामा दिएको विषय आफूले विज्ञप्तिमार्फत मात्र थाहा पाएको बताइन्। कसले राजीनामा दिएको भन्नेबारे भने आफूलाई आधिकारिक जानकारी प्राप्त नभएको उनको भनाइ छ।
उनका अनुसार बिहीबार साँझ घटना भएपछि गाउँपालिका कार्यालय पुग्दा प्राविधिक कर्मचारीहरूले आफूमाथि हातपात भएको जानकारी गराएका थिए। घटनामा संलग्न एक जना सेवाग्राहीलाई प्रहरीले मन्थली लगिसकेको उनीहरूले बताएका थिए।
उपाध्यक्ष घिसिङले आर्थिक वर्षको अन्तिम चरण भएकाले पूर्वाधार शाखामा एक साताभित्र सम्पन्न गर्नुपर्ने धेरै काम बाँकी रहे पनि घटनापछि शाखाको काम प्रभावित भएको बताइन्। 'अहिले काम गर्ने सबैभन्दा संवेदनशील समय हो। तर घटनाका कारण पूर्वाधार शाखाको काम नै रोकिएको अवस्था छ,' उनले भनिन् ।
