खाँडादेवीले ल्यायो ६० करोड ५७ लाखको बजेट

अस्पतालदेखि मन्दिर, सडक र कृषि कार्यक्रमलाई प्राथमिकता दिइएको छ ।

असार १०, २०८३

नवराज श्रेष्ठ

Khanda Devi brought a budget of Rs. 605.7 million

What you should know

रामेछाप — खाँडादेवी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६० करोड ५७ लाख २१ हजार २ सय ३५ रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

मंगलबार सम्पन्न गाउँ सभामा उपाध्यक्ष रमा घिसिङले बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, पर्यटन, उद्यम विकास तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको बताइन्। गाउँपालिकाले निर्माणाधीन खाँडादेवी अस्पतालका लागि ५५ लाख रुपैयाँ विनियोजन गरेको छ। त्यसै गरी लिफ्ट खानेपानी आयोजनाको विद्युत् अनुदानका लागि २५ लाख, १ सय वटा बाख्राको खोर निर्माणका लागि २० लाख, एम्बुलेन्स सेवाका लागि ४ लाख तथा पानी भण्डारणका लागि ट्याङ्की वितरण कार्यक्रममा २० लाख रुपैयाँ छुट्याइएको छ।

धार्मिक तथा पर्यटन पूर्वाधारतर्फ खाँडादेवी मन्दिरसम्म पुग्ने सडक निर्माणका लागि ५० लाख रुपैयाँ विनियोजन गरिएको छ। निर्माणाधीन गुम्बाका लागि पनि ५० लाख रुपैयाँ बजेट छुट्याइएको गाउँपालिकाले जनाएको छ। यस्तै आवधिक योजना निर्माणका लागि ५ लाख र वडा नं. २ को वडा कार्यालय भवन निर्माणका लागि ७० लाख रुपैयाँ विनियोजन गरिएको छ।

गाउँ सभामा चालु आर्थिक वर्ष २०८२/८३ को प्रगति विवरण प्रस्तुत गर्दै उपाध्यक्ष घिसिङले ५९ करोड ८८ लाख २० हजार ८४० रुपैयाँको कुल बजेटमध्ये जेठ मसान्तसम्म चालुतर्फ ६०.९८ प्रतिशत र पुँजीगततर्फ २६.३८ प्रतिशत खर्च भएको जानकारी दिइन्। 

हालसम्म गाउँपालिकाको समग्र वित्तीय प्रगति ४९.०३ प्रतिशत रहेको उनले बताइन्। गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा, कृषि आधुनिकीकरण, युवा उद्यमशीलता विकास, खानेपानी विस्तार, पूर्वाधार निर्माण तथा पर्यटन प्रवर्द्धनलाई मुख्य प्राथमिकतामा राखिएको छ। अध्यक्ष श्रेष्ठले स्थानीय स्रोत–साधनको अधिकतम उपयोग गर्दै रोजगारी सिर्जना र सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्यसहित कार्यक्रम अघि बढाइएको बताए।

नवराज श्रेष्ठ कान्तिपुरका रामेछाप संवाददाता हुन् ।

Link copied successfully