प्रहरीका अनुसार १८ देखि ३० वर्षसम्मका युवामा लागुऔषध प्रयोग बढेसँगै सवारी दुर्घटनाको जोखिम बढिरहेको तथ्यांकले देखाएको छ।
What you should know
रामेछाप — गत माघ २७ गते रामेछापको बेनीघाटमा भएको बस दुर्घटनामा १५ जनाको ज्यान गयो । ८ जना घाइते भए । उक्त घटनाले जिल्लामा बढ्दो लागुऔषध दुर्व्यसनको प्रत्यक्ष प्रभाव सवारी सुरक्षामाथि कति गम्भीर रूपमा परेको छ भन्ने तथ्य उजागर भयो ।
काठमाडौंबाट आउँदै गरेको बा.प्र ०१–००५ ख ९९७५ नम्बरको पूर्व अरनिको यातायात प्रालिको बस मन्थली नगरपालिका–६ स्थित बेनीघाट पुलनजिक दुर्घटना हुँदा तामाकोशी नदीमा खसेको उक्त घटना प्रारम्भिक रूपमा सामान्य सडक दुर्घटना जस्तो देखिएको पछि फरक मोड लियो ।
बस चालक ३१ वर्षीय सुशान्त थापा मगरले लागुऔषध सेवन गरेको पुष्टि भएपछि उनी अहिले जिल्ला अदालत रामेछापको आदेशमा पुर्पक्षका लागि कारागारमा छन् ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार यो घटना जिल्लामा लागुऔषध सेवन गरी सवारी चलाउने समस्याको एउटा उदाहरण बनेको छ। शनिबार मन्थलीमा आयोजित लागुऔषध दुरुपयोग तथा ओसारपसार विरुद्ध अन्तर्राष्ट्रिय दिवस–२०२६ अन्तर्गतको अन्तरक्रिया कार्यक्रममा प्रहरी निरीक्षक राजनप्रसाद तिम्सिनाले चालु आर्थिक वर्ष २०८२/०८३ को हालसम्म लागुऔषध सेवन गरेर सवारी चलाएको आरोपमा आठ जनाभन्दा बढी चालक पक्राउ परिसकेको जानकारी दिए । उनका अनुसार पक्राउ परेकामध्ये केही पुर्पक्षका लागि थुनामा छन्, केही धरौटी वा तारेखमा छुटेका छन् भने केहीलाई परामर्शपछि छाडिएको छ ।
रामेछापमा पछिल्ला वर्षमा लागुऔषध सम्बन्धी मुद्दाको सङ्ख्या बढ्दै गएको प्रहरी तथ्याङ्कले देखाउँछ। आर्थिक वर्ष २०८०/८१ मा तीन वटा लागुऔषध मुद्दा दर्ता भएका थिए। २०८१/०८२ मा त्यो सङ्ख्या घटेर एकमा झरे पनि चालु आर्थिक वर्षको हालसम्म मात्रै पाँच वटा मुद्दा दर्ता भइसकेका छन्। ती मुद्दामा नौ जना प्रतिवादी छन्।
प्रहरी निरीक्षक तिम्सिनाका अनुसार जिल्लामा विशेषगरी १८ देखि ३० वर्ष उमेर समूहका युवामा गाँजा तथा विभिन्न प्रकारका लागुऔषध जन्य ट्याब्लेट प्रयोग गर्ने प्रवृत्ति बढ्दो छ। 'पहिला लागुऔषधका घटना सीमित थिए। अहिले युवामाझ यसको पहुँच बढिरहेको देखिन्छ। यसले सामाजिक समस्या मात्र होइन, सार्वजनिक सुरक्षामा समेत प्रत्यक्ष असर गरिरहेको छ,' उनले भने।
जिल्ला प्रहरी प्रमुख डीएसपी सन्तुलाल प्रसाद जैसवालका अनुसार बेनीघाट दुर्घटनापछि प्रहरीले मापेसँगै लापसे परीक्षणलाई पनि प्राथमिकतामा राखेको छ। 'सवारी चालकहरूको नियमित जाँच, शङ्कास्पद अवस्थाका चालकको परीक्षण तथा सचेतनामूलक अभियानलाई तीव्र बनाएका छौं,' उनले भने, 'विद्यालय, समुदाय र सार्वजनिक यातायात क्षेत्रलाई केन्द्रमा राखेर कार्यक्रम सञ्चालन भइरहेका छन्।' उनका अनुसार लागुऔषध सेवन गरेर सवारी चलाउने प्रवृत्ति नियन्त्रण गर्न नसके सडक दुर्घटनाको जोखिम अझ बढ्न सक्ने देखिएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर केसीले जिल्लामा लागुऔषध दुव्र्यसनबारे बढ्दो चिन्ता व्यक्त गर्दै यसको नियन्त्रण प्रहरीको मात्रै जिम्मेवारी नभएको बताए। 'परिवार, विद्यालय, स्थानीय तह, नागरिक समाज र सुरक्षा निकाय सबैले संयुक्त रूपमा काम गर्नुपर्छ,' उनले भने, 'अहिले सञ्चालन भइरहेको सप्ताहव्यापी अभियानलाई व्यवहारमै प्रभावकारी बनाउन आवश्यक छ।'
