गाउँको बाँसबाट आम्दानीको आश

स्थानीयस्तरमा पाइने बाँसलाई आधुनिक डिजाइनका सामग्रीमा रूपान्तरण गर्दै कुबुकास्थलीका बासिन्दाले स्वरोजगार व्यवसायका रूपमा अघि बढाउन थालेका छन्।

जेष्ठ २९, २०८३

नवराज श्रेष्ठ

Hope for income from village bamboo

What you should know

रामेछाप — उमाकुण्ड गाउँपालिका–३ कुबुकास्थलीका स्थानीयका लागि गाउँमै पाइने बाँस आम्दानीको भरपर्दो माध्यम बन्दै गएको छ । पुस्तौंदेखि बाँसका डोका, डाला र नाङ्ला बनाउँदै आएका स्थानीयले पछिल्लो समय त्यसैलाई आधुनिक हस्तकलाका सामग्री उत्पादनसँग जोड्न थालेका छन् ।

स्थानीय स्तरमा प्रशस्त पाइने बाँसको सदुपयोग गर्दै कुबुकास्थलीका बासिन्दाले मुढा, ¥याक, ढक्की, आकर्षक सजावटलगायतका सामग्री उत्पादन गर्न थालेका छन् । यस्ता सामग्रीको बिक्रीबाट हुने आम्दानीले स्थानीयको घर खर्च चलाउन समेत सहयोग पुगेको छ । 

परम्परागत सीपलाई परिष्कृत गर्दै व्यावसायिक उत्पादनमा जोड्ने उद्देश्यले उद्योग तथा वाणिज्य कार्यालय रामेछापको आयोजना तथा उमाकुण्ड गाउँपालिकाको समन्वयमा यो वर्ष एक महिने बाँस हस्तकला सीप विकास तालिम सञ्चालन गरिएको छ । तालिममा सहभागी स्थानीयले बाँसबाट बजारमा माग भएका विभिन्न उपयोगी सामग्री निर्माण गर्ने सीप सिकेका छन् ।

तालिमका क्रममा सहभागीहरूले डोका, डाला, नाङ्ला, मुढा, र्‌याक, ढक्कीलगायतका सामग्री तयार गरेका थिए । परम्परागत रूपमा उत्पादन गर्दै आएका सामग्रीलाई आधुनिक डिजाइन र आकर्षक स्वरूप दिन तालिमले सहयोग गरेको स्थानीय बताउँछन् ।

स्थानीय काजीमान सुनुवारका अनुसार कुबुकास्थली उमाकुण्ड गाउँपालिकाकै सबैभन्दा बढी र गुणस्तरीय बाँस पाइने क्षेत्रमध्ये एक हो । यही कारण यहाँका धेरै परिवारले लामो समयदेखि बाँसका सामग्री उत्पादन गर्दै आएका छन् । 'हामीले पहिलेदेखि नै परम्परागत शैलीमा डोका, डाला बनाउँदै आएका थियौँ,' उनले भने, 'तर अहिलेको तालिमले आधुनिक डिजाइनका सामग्री बनाउन सिकायो । अब बाँसका सामग्रीलाई व्यवसायका रूपमा अघि बढाउने सोच बनेको छ ।'

स्थानीय दुर्गाबहादुर कार्की पनि तालिमपछि बाँसजन्य सामग्री उत्पादनप्रतिको सोचमा परिवर्तन आएको बताउँछन् । उनका अनुसार पहिले घरायसी प्रयोगका लागि मात्र सामग्री बनाइन्थ्यो । अहिले बजारमा बिक्री गर्न सकिने आकर्षक सामग्री उत्पादन गर्ने सीप प्राप्त भएको छ । 'डोका, डाला जस्ता सामग्री बनाउन त पहिलेदेखि नै जान्थ्यौं,' उनले भने, 'तर नाङ्ला, मुढा, र्‌याक, ढक्कीलगायतका नयाँ सामग्री बनाउन सिकेका छौं । अब व्यावसायिक रूपमा उत्पादन बढाउने योजना छ ।'

बाँसजन्य सामग्री उत्पादनलाई स्थानीय आयआर्जनको माध्यम बनाउन सकिने सम्भावना देखेर नै तालिम सञ्चालन गरिएको उमाकुण्ड गाउँपालिकाका उद्यम विकास सहजकर्ता रणबहादुर कार्कीले बताए ।

उमाकुण्ड गाउँपालिकाकी उपाध्यक्ष सावित्री सुनुवारले स्थानीय स्रोत–साधनको उपयोग गर्दै आत्मनिर्भर बन्न यस्ता सीपमूलक कार्यक्रम प्रभावकारी हुने बताइन् । 'ग्रामीण क्षेत्रमा प्रशस्त पाइने बाँसको प्रयोग अझै पनि परम्परागत सीमाभित्रै छ,' उनले भनिन्, 'यस्ता तालिमले स्थानीय स्रोतलाई आयआर्जनको माध्यममा रूपान्तरण गर्न सहयोग गर्छ । विशेषगरी महिला र स्वरोजगार खोजिरहेका युवाका लागि यो राम्रो अवसर बन्न सक्छ ।' स्थानीय उत्पादनलाई बजारसँग जोड्न सके बाँसबाट बनेका सामग्रीको माग बढ्ने सम्भावना रहेको उनको भनाइ छ ।

नवराज श्रेष्ठ कान्तिपुरका रामेछाप संवाददाता हुन् ।

Link copied successfully