स्थानीयस्तरमा पाइने बाँसलाई आधुनिक डिजाइनका सामग्रीमा रूपान्तरण गर्दै कुबुकास्थलीका बासिन्दाले स्वरोजगार व्यवसायका रूपमा अघि बढाउन थालेका छन्।
What you should know
रामेछाप — उमाकुण्ड गाउँपालिका–३ कुबुकास्थलीका स्थानीयका लागि गाउँमै पाइने बाँस आम्दानीको भरपर्दो माध्यम बन्दै गएको छ । पुस्तौंदेखि बाँसका डोका, डाला र नाङ्ला बनाउँदै आएका स्थानीयले पछिल्लो समय त्यसैलाई आधुनिक हस्तकलाका सामग्री उत्पादनसँग जोड्न थालेका छन् ।
स्थानीय स्तरमा प्रशस्त पाइने बाँसको सदुपयोग गर्दै कुबुकास्थलीका बासिन्दाले मुढा, ¥याक, ढक्की, आकर्षक सजावटलगायतका सामग्री उत्पादन गर्न थालेका छन् । यस्ता सामग्रीको बिक्रीबाट हुने आम्दानीले स्थानीयको घर खर्च चलाउन समेत सहयोग पुगेको छ ।
परम्परागत सीपलाई परिष्कृत गर्दै व्यावसायिक उत्पादनमा जोड्ने उद्देश्यले उद्योग तथा वाणिज्य कार्यालय रामेछापको आयोजना तथा उमाकुण्ड गाउँपालिकाको समन्वयमा यो वर्ष एक महिने बाँस हस्तकला सीप विकास तालिम सञ्चालन गरिएको छ । तालिममा सहभागी स्थानीयले बाँसबाट बजारमा माग भएका विभिन्न उपयोगी सामग्री निर्माण गर्ने सीप सिकेका छन् ।
तालिमका क्रममा सहभागीहरूले डोका, डाला, नाङ्ला, मुढा, र्याक, ढक्कीलगायतका सामग्री तयार गरेका थिए । परम्परागत रूपमा उत्पादन गर्दै आएका सामग्रीलाई आधुनिक डिजाइन र आकर्षक स्वरूप दिन तालिमले सहयोग गरेको स्थानीय बताउँछन् ।
स्थानीय काजीमान सुनुवारका अनुसार कुबुकास्थली उमाकुण्ड गाउँपालिकाकै सबैभन्दा बढी र गुणस्तरीय बाँस पाइने क्षेत्रमध्ये एक हो । यही कारण यहाँका धेरै परिवारले लामो समयदेखि बाँसका सामग्री उत्पादन गर्दै आएका छन् । 'हामीले पहिलेदेखि नै परम्परागत शैलीमा डोका, डाला बनाउँदै आएका थियौँ,' उनले भने, 'तर अहिलेको तालिमले आधुनिक डिजाइनका सामग्री बनाउन सिकायो । अब बाँसका सामग्रीलाई व्यवसायका रूपमा अघि बढाउने सोच बनेको छ ।'
स्थानीय दुर्गाबहादुर कार्की पनि तालिमपछि बाँसजन्य सामग्री उत्पादनप्रतिको सोचमा परिवर्तन आएको बताउँछन् । उनका अनुसार पहिले घरायसी प्रयोगका लागि मात्र सामग्री बनाइन्थ्यो । अहिले बजारमा बिक्री गर्न सकिने आकर्षक सामग्री उत्पादन गर्ने सीप प्राप्त भएको छ । 'डोका, डाला जस्ता सामग्री बनाउन त पहिलेदेखि नै जान्थ्यौं,' उनले भने, 'तर नाङ्ला, मुढा, र्याक, ढक्कीलगायतका नयाँ सामग्री बनाउन सिकेका छौं । अब व्यावसायिक रूपमा उत्पादन बढाउने योजना छ ।'
बाँसजन्य सामग्री उत्पादनलाई स्थानीय आयआर्जनको माध्यम बनाउन सकिने सम्भावना देखेर नै तालिम सञ्चालन गरिएको उमाकुण्ड गाउँपालिकाका उद्यम विकास सहजकर्ता रणबहादुर कार्कीले बताए ।
उमाकुण्ड गाउँपालिकाकी उपाध्यक्ष सावित्री सुनुवारले स्थानीय स्रोत–साधनको उपयोग गर्दै आत्मनिर्भर बन्न यस्ता सीपमूलक कार्यक्रम प्रभावकारी हुने बताइन् । 'ग्रामीण क्षेत्रमा प्रशस्त पाइने बाँसको प्रयोग अझै पनि परम्परागत सीमाभित्रै छ,' उनले भनिन्, 'यस्ता तालिमले स्थानीय स्रोतलाई आयआर्जनको माध्यममा रूपान्तरण गर्न सहयोग गर्छ । विशेषगरी महिला र स्वरोजगार खोजिरहेका युवाका लागि यो राम्रो अवसर बन्न सक्छ ।' स्थानीय उत्पादनलाई बजारसँग जोड्न सके बाँसबाट बनेका सामग्रीको माग बढ्ने सम्भावना रहेको उनको भनाइ छ ।
