रामेछापका ८ पालिकाको बेरुजु १३ करोड ७३ लाख बढी । गत वर्ष ३.७५ प्रतिशत रहेको बेरुजु गोकुलगंगा गाउँपालिकाले यस वर्ष शून्य दशमलव ५३ प्रतिशतमा झारेको छ ।
What you should know
रामेछाप — जिल्लाका ८ पालिकाको १३ करोड ७३ लाख ३९ हजार रुपैयाँ बेरुजु देखिएको छ । महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदनअनुसार जिल्लाका तीन पालिकामा बेरुजु घटेको छ भने पाँच पालिकामा बढेको छ । बेरुजु सुधारमा भने गोकुलगंगा गाउँपालिकाले उल्लेख्य प्रगति गरेको छ ।
प्रतिवेदनअनुसार गोकुलगंगा गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ मा बेरुजु ३.७५ प्रतिशतबाट घटाएर शून्य दशमलव ५३ प्रतिशतमा झारेको हो । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा ३.७५ प्रतिशत बेरुजु रहेको उक्त पालिकाको यस वर्षको लेखा परीक्षणमा कुल १ अर्ब २६ करोड ९२ लाख ३५ हजार रुपैयाँमध्ये ६६ लाख ७६ हजार रुपैयाँ मात्रै बेरुजु देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै, सुनापती गाउँपालिकाले पनि बेरुजु घटाउन सफल भएको छ । अघिल्लो वर्ष २.३२ प्रतिशत रहेको बेरुजु यस वर्ष घटेर शून्य दशमलव ८८ प्रतिशतमा झरेको छ । सो पालिकाको १ अर्ब २७ करोड ६० लाख ३० हजार रुपैयाँको लेखा परीक्षण गर्दा १ करोड ११ लाख ९१ हजार रुपैयाँ बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ ।
यस्तै, दोरम्बा शैलुङ गाउँपालिकामा पनि बेरुजु घटेको छ । अघिल्लो आर्थिक वर्ष १.३० प्रतिशत रहेको बेरुजु घटेर ०.९६ प्रतिशतमा झरेको हो । १ अर्ब ३६ करोड ७० लाख ३७ हजार रुपैयाँको लेखा परीक्षण गर्दा १ करोड ३१ लाख ६६ हजार रुपैयाँ बेरुजु देखिएको महालेखाको प्रतिवेदनमा जनाइएको छ ।
खाँडादेवीको सबै भन्दा बढी बेरुजु
रामेछाप जिल्लाका दुई नगरपालिकासहित पाँच स्थानीय तहको बेरुजु बढेको छ । महालेखाको ६३औँ वार्षिक प्रतिवेदनअनुसार जिल्लामा केही पालिकामा वित्तीय अनुशासन कमजोर देखिँदा बेरुजु वृद्धि भएको हो । सबैभन्दा बढी बेरुजु खाँडादेवी गाउँपालिकामा देखिएको छ । खाँडादेवीको बेरुजु आर्थिक वर्ष २०८१/८२ मा १.६८ प्रतिशतबाट बढेर २.७७ प्रतिशत पुगेको छ । सो अवधिमा १ अर्ब ५२ करोड १९ लाख ८९ हजार रुपैयाँको लेखा परीक्षण हुँदा ४ करोड २१ लाख ५६ हजार रुपैयाँ बेरुजु देखिएको छ ।
उमाकुण्ड गाउँपालिकामा पनि बेरुजु वृद्धि भएको छ । अघिल्लो वर्ष ०.८० प्रतिशत रहेको बेरुजु यस वर्ष बढेर १.६ प्रतिशत पुगेको छ । आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब २८ करोड ७४ लाख ६८ हजार रुपैयाँको लेखा परीक्षण हुँदा २ करोड ६ लाख ३४ हजार रुपैयाँ बेरुजु देखिएको छ । जिल्ला सदरमुकाम रहेको मन्थली नगरपालिकामा पनि बेरुजु वृद्धि भएको छ । अघिल्लो वर्ष ०.३४ प्रतिशत रहेको बेरुजु बढेर ०.८७ प्रतिशत पुगेको छ । आर्थिक वर्ष २०८१/८२ मा २ अर्ब ३९ करोड ३१ लाख ५९ हजार रुपैयाँको लेखा परीक्षण गर्दा २ करोड ८ लाख १८ हजार रुपैयाँ बेरुजु देखिएको छ ।
रामेछाप नगरपालिकामा पनि बेरुजु बढेको छ । अघिल्लो वर्ष ०.५० प्रतिशत रहेको बेरुजु यस वर्ष बढेर ०.६२ प्रतिशत पुगेको छ । १ अर्ब ८७ करोड ९३ लाख ९० हजार रुपैयाँको लेखा परीक्षण हुँदा १ करोड १६ लाख १४ हजार रुपैयाँ बेरुजु देखिएको छ ।
लिखु तामाकोशी गाउँपालिकामा पनि बेरुजु वृद्धि भएको छ । अघिल्लो वर्ष ०.७८ प्रतिशत रहेको बेरुजु बढेर ०.८२ प्रतिशत पुगेको छ । १ अर्ब ३५ करोड ६० लाख ५८ हजार रुपैयाँको लेखा परीक्षण गर्दा १ करोड १० लाख ८४ हजार रुपैयाँ बेरुजु देखिएको छ । महालेखा परीक्षकको प्रतिवेदनले जिल्लाका अधिकांश पालिकामा बेरुजु नियन्त्रणमा चुनौती बढ्दै गएको देखाएको छ ।
