बाग्मती प्रदेश सरकारले प्रदेशका ११ जिल्लामा एकसाथ निर्माण गरेका भ्यु टावरमध्ये सुली थुम्कामा निर्माण गरिएको संरचना संरक्षण अभावले निर्माण भएको केही वर्षमै जीर्ण र बेवारिसे अवस्थामा पुगेको हो ।
What you should know
रामेछाप — समाज, राजनीति र इतिहासमा योगदान दिएका व्यक्तित्वप्रति सम्मान प्रकट गर्न तथा नयाँ पुस्तालाई इतिहाससँग जोड्न सार्वजनिक स्थलमा सालिक निर्माण गरिन्छ । विकास र पर्यटन प्रवर्द्धनका नाममा भ्यु टावर, पार्क, प्रतीक्षालयजस्ता संरचना पनि निर्माण गरिएका छन् । तर पछिल्ला वर्ष रामेछापको खाँडादेवी गाउँपालिकामा यस्ता सार्वजनिक संरचनामा तोडफोडसमेत हुन थालेपछि संरक्षण चुनौतीपूर्ण बनेको छ ।
खाँडादेवी गाउँपालिका–५ गोगनपानी सुली थुम्कामा निर्माण गरिएको भ्यु टावर अहिले यसको पछिल्लो उदाहरण बनेको छ । बाग्मती प्रदेश सरकारले प्रदेशका ११ जिल्लामा एकसाथ निर्माण गरेका भ्यु टावरमध्ये एक मानिएको यो संरचना संरक्षण अभावले निर्माण भएको केही वर्षमै जीर्ण र बेवारिसे अवस्थामा पुगेको हो ।
२०७७ सालमा निर्माण सम्झौता भएको उक्त आयोजनामा ३ करोड २० लाख ६० हजार ८ सय ५१ रुपैयाँ खर्च भएको थियो । भ्यु टावरसँगै पदमार्ग, शौचालय, प्रतीक्षालय, टिकट घर र कार्यालय भवनसमेत निर्माण गरिएका छन् । तर सञ्चालनको स्पष्ट योजना नबन्दा अहिले करोडौं लगानीमा बनेका संरचना प्रयोगविहीन छन् ।
भ्यु टावर परिसरमा प्रवेश गर्दा तोडफोडका दृश्य प्रस्ट देखिन्छन् । टिकट घरका झ्याल–ढोका फुटाइएका छन् । शौचालयका धारा, बेसिन र ढोकासमेत उखेलिएको छ । कार्यालय भवनका संरचनामा समेत क्षति पुगेको छ । टावर आफैँ पनि सुरक्षित छैन । झ्याल–ढोका फुटाइएका छन् भने छानो उडेर पानी चुहिने अवस्थामा पुगेको छ । समयमै मर्मत र संरक्षण नहुँदा संरचना क्रमशः खण्डहरमा परिणत हुँदै गएका छन् ।
खाँडादेवी गाउँपालिका–५ का वडाध्यक्ष मनोज पौडेलका अनुसार संरचना निर्माणपछि सञ्चालनका लागि स्थानीय सरकारलाई हस्तान्तरण नहुँदा समस्या थप जटिल बनेको हो । उनले भने, 'बाग्मती प्रदेश सरकारको उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयले निर्माण सुरु गरेको हो । तर अहिलेसम्म न पूर्ण रूपमा निर्माण सकिएको छ, न त हस्तान्तरण नै भएको छ । मन्त्रालय वा निर्माण कम्पनीले स्थानीय सरकारलाई जिम्मेवारी नदिँदा संरक्षण चुनौतीपूर्ण बनेको छ ।'
पौडेलका अनुसार पछिल्लो समय सार्वजनिक सम्पत्तिमाथि अराजक व्यवहार बढ्दो छ । उनले केही वर्षअघि खाँडादेवी गाउँपालिका–५ पकरबासस्थित सल्लेनी वनमा निर्माण गरिएको जननेता मदन भण्डारीको सालिकमा समेत तोडफोड भएको घटना स्मरण गरे । बाग्मती प्रदेश सरकार, गाउँपालिका, वडा कार्यालय र स्थानीयको श्रमदानबाट पार्कसहित निर्माण गरिएको उक्त सालिक स्थापना भएको केही महिनामै क्षतिग्रस्त बनाइएको थियो । पछि सीसीटीभी निगरानी सुरु गरिएपछि भने तोडफोडका घटना रोकिएको वडाध्यक्ष पौडेलले बताए ।
निर्माण सम्पन्न भएर पनि संरक्षण अभावमा अलपत्र परेको सुलीथुम्का भ्यु टावर दुई पटकको लगानी जोड्दा झन्डै पाँच करोड रुपैयाँ खर्चिएर बनाइएको खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले बताए । उनका अनुसार प्रदेश सरकारमार्फत निर्माण गरिएको टावर हस्तान्तरण नहुँदा गाउँपालिकाले संरक्षणको जिम्मेवारी लिनसमेत नपाएको हो ।
'दुई चरणमा गरेर झन्डै पाँच करोड रुपैयाँ लगानीमा भ्यु टावर बनेको छ,' पालिका अध्यक्ष श्रेष्ठले भने, 'तर संरक्षण अभावमा अहिले भद्रगोल अवस्थामा पुगेको छ । झ्याल–ढोका फुटाइएका छन्, शौचालयका धारा, बेसिन र ढोकासमेत उखेलेर क्षति पुर्याइएको छ ।' उनका अनुसार टावरसँगै बनेका कार्यालय भवनका संरचनामा समेत क्षति पुगेको छ । टावरको छानो उडेर पानी चुहिने अवस्थामा पुगेको छ भने विद्युत् सामग्रीसमेत चोरी भएका छन् ।
प्रदेश सरकारले हालसम्म गाउँपालिकालाई औपचारिक रूपमा संरचना हस्तान्तरण नगरेकाले संरक्षण तथा व्यवस्थापनमा समस्या भएको श्रेष्ठको भनाइ छ । 'पालिकाले जिम्मेवारी लिएर संरक्षण गर्न तयार हुँदाहुँदै पनि हस्तान्तरण प्रक्रिया अघि बढ्न सकेको छैन,' उनले भने । श्रेष्ठका अनुसार पटक–पटक ताकेता गरेपछि प्रदेश सरकार हस्तान्तरणका लागि सकारात्मक बनेको छ । केही दिनअघि भएको टेलिफोन संवादमा जीर्ण र तोडफोड भएका संरचनाको मर्मतपछि गाउँपालिकालाई जिम्मा लगाउने सहमति भएको उनले बताए ।
'अब मर्मतको भारसमेत लिएर भए पनि गाउँपालिकाले संरक्षणको जिम्मेवारी लिन्छ,' उनले भने । सार्वजनिक सम्पत्तिको सुरक्षा चुनौती बढिरहेका बेला गाउँपालिकाले निगरानी प्रणाली विस्तार गर्ने तयारीसमेत गरेको उनले बताए । हाल गाउँपालिकाभर करिब एक सयवटा सीसी क्यामेरा जडान गरेर निगरानी गरिरहेको उनले बताए । सुलीथुम्का भ्यु टावरलगायत संवेदनशील क्षेत्रमा थप एक सय क्यामेरा जडान गर्ने योजना रहेको पनि पालिका अध्यक्ष श्रेष्ठले बताए ।
