१५ शय्याको खाँडादेवी अस्पताल निर्माण ६ वर्षदेखि अलपत्र, बर्सेनि बजेट फ्रिज

समयमै निर्माण नहुँदा खाँडादेवी गाउँपालिकाको १५ शय्याको अस्पताल अलपत्र परेको छ, जसले गर्दा स्थानीय बासिन्दा अझै उपचारका लागि टाढा जान बाध्य छन् ।

वैशाख २८, २०८३

नवराज श्रेष्ठ

Construction of 15-bed Khandadevi Hospital stalled for 6 years, budget frozen every year

What you should know

रामेछाप — ग्रामीण भेगका नागरिकलाई स्थानीय स्तरमै सहज स्वास्थ्य सेवा दिने उद्देश्यले निर्माण सुरु गरिएको रामेछापको खाँडादेवी गाउँपालिकास्थित १५ शय्याको अस्पताल छ वर्ष बित्न लाग्दा पनि अलपत्र अवस्थामै छ ।

समयमै निर्माण सम्पन्न नहुँदा स्थानीय नागरिक सामान्य उपचारका लागि समेत सदरमुकाम मन्थली र काठमाडौं धाउन बाध्य छन् ।

खाँडादेवी गाउँपालिका–५ पकरवासस्थित सुलिथुम्का सामुदायिक वन क्षेत्रमा निर्माण सुरु गरिएको अस्पतालको ठेक्का आत्रिया शिवको बस्नेत जेभीले ३ करोड ७२ लाख रुपैयाँमा पाएको थियो । २०७७ भदौ अन्तिम साताबाट काम सुरु गरिएको अस्पताल तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य थियो । तर काम सुरु भएको झन्डै ६ वर्ष पुग्न लाग्दा पनि निर्माणले पूर्णता पाउन सकेको छैन ।

गाउँपालिकाले दुर्गम क्षेत्रका नागरिकलाई आधारभूत तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित आफ्नै लगानीमा अस्पताल निर्माण थालेको थियो । तर निर्माण कम्पनीको ढिलासुस्ती र लापरबाहीका कारण योजना अन्योलमा परेको स्थानीय जनप्रतिनिधि बताउँछन् ।

खाँडादेवी गाउँपालिका–५ का वडाध्यक्ष मनोज पौडेलका अनुसार निर्माण कम्पनीले काम नगरी ढलान भएको भन्दै भुक्तानी लिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । त्यसपछि अख्तियारले छानबिन गरी सोही कम्पनीलाई १० प्रतिशत हर्जाना तिराएर म्याद थप गरी काम गराउन निर्देशन दिएको उनले बताए । 'कार्यपालिकाले पनि म्याद थप गरेर काम अघि बढाउने निर्णय गरेको थियो,' वडाध्यक्ष पौडेलले भने, 'तर निर्माण कम्पनीले आवश्यक बैंक ग्यारेन्टी पेस गर्न नसक्दा पुनः सम्झौता हुन सकेन । अहिले निर्माण व्यवसायी सम्पर्कमै आउन छाडेका छन् ।'

४ करोड ९५ लाख बजेट खर्च हुन सकेन
निर्माण व्यवसायी सम्पर्कविहीन भएपछि चालु आर्थिक वर्ष २०८२/०८३ मा बागमती प्रदेश सरकारको विशेष अनुदानअन्तर्गत अस्पताल निर्माणका लागि विनियोजन गरिएको ६५ लाख रुपैयाँ बजेटसमेत हालसम्म खर्च हुन सकेको छैन ।

यसअघि विभिन्न आर्थिक वर्षमा गाउँपालिकाले छुट्टाएको बजेट पनि उपयोगविहीन बनेको छ । गाउँपालिकाका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा विनियोजन गरिएको १ करोड ५० लाख रुपैयाँ, २०७९/०८० मा छुट्टाइएको १ करोड रुपैयाँ, २०८०/०८१ मा दुई शीर्षकअन्तर्गत विनियोजन गरिएको थप १ करोड ३० लाख रुपैयाँ तथा २०८१/०८२ मा छुट्टाइएको ५० लाख रुपैयाँसमेत निर्माण कम्पनीकै कारण खर्च हुन सकेन ।

यसरी हालसम्म अस्पताल निर्माणका लागि विनियोजन गरिएको कुल ४ करोड ९५ लाख रुपैयाँ बजेट खर्च हुन नसकेको गाउँपालिकाले जनाएको छ । अस्पताल निर्माण लामो समयदेखि अलपत्र परेपछि स्थानीयवासी निराश बनेका छन् ।

स्वास्थ्य सेवाको पहुँच अभाव झेलिरहेका नागरिक गाउँमै अस्पताल सञ्चालन हुने आशामा वर्षौँदेखि प्रतीक्षारत छन् । तर निर्माण कम्पनीको लापरबाही र सरोकारवाला निकायको प्रभावकारी पहल अभावले खाँडादेवी गाउँपालिकाको दक्ष चिकित्सकसहितको स्वास्थ्य सेवा सञ्चालन गर्ने योजना अन्योलमा परेको छ ।

निर्माण कम्पनीले सम्झौताअनुसार काम नगरे पनि गाउँपालिकालगायत सम्बन्धित निकायले आवश्यक कारबाही प्रक्रिया अघि बढाउन सकेका छैनन् । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ओमप्रकाश श्रेष्ठका अनुसार बहुवर्षीय योजनाअन्तर्गत ठेक्का लागेको अस्पताल निर्माणमा कम्पनीले विनियोजित बजेटअनुसार काम गर्न सकेको छैन ।

उनका अनुसार अख्तियारमा भएको छलफलपछि म्याद थप गरेर काम अघि बढाउन मौखिक निर्देशन आएको थियो । त्यसपछि गाउँ कार्यपालिकाबाट सोही कम्पनीलाई म्याद थप गर्ने निर्णय गरिएको उनले बताए । तर निर्माण कम्पनीको बैंक ग्यारेन्टी अवधि सकिएकाले नयाँ पेस गर्न नसक्दा हालसम्म सम्झौता नवीकरण हुन सकेको छैन ।

'अख्तियारको मौखिक निर्देशनपछि निर्माण व्यवसायीलाई सम्पर्कमा आउन आग्रह गरेका थियौं । वैशाख १५ गते आउने भने पनि आएनन् । पछि वैशाख २५ सम्म आउने भनेका थिए, त्यो पनि भएन,' श्रेष्ठले भने, 'अख्तियारबाट निरन्तर फोनमार्फत जानकारी लिने काम भइरहेको छ । अब सरोकारवालासँग समन्वय गरेर थप प्रक्रिया अघि बढाउने तयारीमा गाउँपालिका छ ।'

नवराज श्रेष्ठ कान्तिपुरका रामेछाप संवाददाता हुन् ।

Link copied successfully