विद्यार्थी अभावले रामेछाप बहुप्राविधिक शिक्षालय संकटमा

शिक्षालयमा प्रत्येक विषयमा ४० जनासम्म विद्यार्थी भर्ना गर्न सकिने कोटा रहे पनि पछिल्ला शैक्षिक सत्रहरूमा उक्त कोटा कहिल्यै पूरा हुन सकेको छैन ।

वैशाख १८, २०८३

नवराज श्रेष्ठ

Ramechhap Polytechnic Institute in crisis due to lack of students

What you should know

रामेछाप — जिल्ला सदरमुकाम मन्थलीलाई शैक्षिक केन्द्र बनाउने लक्ष्यसहित २०७४ सालमा स्थापना गरिएको रामेछाप बहुप्राविधिक शिक्षालय अहिले अस्तित्व जोगाउने संघर्षमा पुगेको छ । सरोकारवालाको लामो पहलपछि स्थापना भएको शिक्षालय १५६ रोपनी क्षेत्रफलमा फैलिएको छ । पर्याप्त भौतिक पूर्वाधार, प्रयोगशाला र आवश्यक सुविधा हुँदाहुँदै पनि पछिल्ला वर्षमा विद्यार्थी निरन्तर घट्दै जाँदा शिक्षालय सञ्चालनमा गम्भीर चुनौती थपिएको हो ।

३ वर्षे डिप्लोमा तहअन्तर्गत कृषि बाली विज्ञान, पशु विज्ञान र फुड एन्ड डेरी टेक्नोलोजी विषयमा अध्यापन हुँदै आएको यो शिक्षालय उत्कृष्ट प्राविधिक संस्थाका रूपमा समेत सम्मानित भएको थियो । तर, हाल विद्यार्थी अभावका कारण शैक्षिक गुणस्तर, नियमित कक्षा सञ्चालन र दीर्घकालीन स्थायित्वमै प्रश्न उठ्न थालेको छ ।

शिक्षालय सञ्चालक समिति सदस्य टंकप्रसाद दाहालका अनुसार प्राविधिक शिक्षाप्रति राज्यको प्राथमिकता कमजोर बन्दा यस्तो अवस्था सिर्जना भएको हो । '२०७४ सालपछि सीटीईभीटीले सम्बन्धन दिने प्रक्रिया प्राथमिक तहको विद्यालय सरह सहज बनायो तर शिक्षा मन्त्रालयले प्राविधिक शिक्षालाई आवश्यक प्राथमिकता दिन सकेन,' उनले भने, 'सिटिइभिटी शिक्षा मन्त्रालयकै मातहतको संरचना भए पनि मन्त्रालयले बिर्सिएका कारण प्राविधिक शिक्षालयहरू कमजोर बन्दै गएका छन् ।'Ramechhap Polytechnic Institute in crisis due to lack of students

उनका अनुसार माध्यमिक शिक्षा परीक्षा (एसईई)पछि २ वर्ष अध्ययन गरेर बिदेसिने प्रवृत्तिले पनि प्राविधिक शिक्षामा विद्यार्थी आकर्षण घटाएको छ । 'हामीले जिल्लाका सबै स्थानीय तह र सरोकारवाला निकायसँग समन्वय गरेर विद्यार्थी भर्ना बढाउने प्रयास गरिरहेका छौँ । तर, अपेक्षित सफलता मिल्न सकेको छैन,' दाहालले भने । दाहालले शिक्षा मन्त्रालयले स्पष्ट नीति बनाएर सीटीईभीटीलाई प्राथमिकतामा राखे र सीटीईभीटीले पनि नवीन कार्यक्रम तथा आकर्षक योजना ल्याएमा शिक्षालयलाई पुनः नमुना संस्थाका रूपमा विकास गर्न सकिने बताए ।

शिक्षालयले कृषि विषय अध्ययन गर्ने विद्यार्थीका लागि उन्नत जातका बाख्रा, कुखुरा पालन, पशुपालन अभ्यास तथा मौसमी–बेमौसमी तरकारी खेतीका लागि आवश्यक भौतिक संरचना निर्माण गरेको छ । तर, यी पूर्वाधार उपयोग गर्ने विद्यार्थी भने निरन्तर घट्दै गएको छ ।

शिक्षालयमा प्रत्येक विषयमा ४० जनासम्म विद्यार्थी भर्ना गर्न सकिने कोटा रहे पनि पछिल्ला शैक्षिक सत्रहरूमा उक्त कोटा कहिल्यै पूरा हुन सकेको छैन । हाल सबै विषय र तहमा गरेर जम्मा ७४ जना विद्यार्थी मात्र अध्ययनरत रहेको शिक्षालय प्रमुख मनोजकुमार शरणले जानकारी दिए ।

उनका अनुसार विद्यार्थी अभावकै कारण आउने शैक्षिक सत्रबाट फुड एन्ड डेरी टेक्नोलोजी विषय बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको छ । 'शिक्षालयमा विद्यार्थी कम भएको कुरा सत्य हो । यसलाई ध्यानमा राखेर हामी सबै साधनस्रोत परिचालन गर्दै विद्यार्थी आकर्षित गर्ने प्रयासमा छौँ,' शरणले भने, 'तर अपेक्षित रूपमा बढ्न सकेको छैन ।'

प्राविधिक शिक्षालयमा पूर्वाधार र प्रयोगात्मक सुविधा पर्याप्त भए पनि विद्यार्थी आकर्षण कमजोर हुनु संस्थाका लागि ठूलो चुनौती बनेको छ । शरणका अनुसार पछिल्ला वर्षहरूमा प्राविधिक शिक्षाभन्दा स्वास्थ्य क्षेत्रप्रति विद्यार्थीको आकर्षण बढ्दै गएको छ, जसले कृषि तथा पशु विज्ञानजस्ता विषयमा भर्ना घटाएको हो । शिक्षालयले अब स्वास्थ्य क्षेत्रतर्फ कार्यक्रम विस्तार गर्ने तयारी थालेको छ । 'हेल्थ असिस्टेन्ट विषय सञ्चालन गर्ने तयारी भइरहेको छ,' शिक्षालय प्रमुख शरणले बताए ।Ramechhap Polytechnic Institute in crisis due to lack of students

विद्यार्थी बढाउन मन्थली नगरपालिकाले समेत विशेष पहल गरेको छ । नगरपालिकाले १४ वटै वडाबाट कृषि बाली विज्ञान र कृषि पशु विज्ञानमा एक एक जना विद्यार्थी छनोट गरी छात्रवृत्तिमार्फत निःशुल्क अध्ययनको व्यवस्था गरेको छ । तर, यस्तो सुविधा हुँदाहुँदै पनि अपेक्षाअनुसार विद्यार्थी आकर्षित हुन नसकेको नगर प्रमुख लव श्रेष्ठले बताए ।

उनका अनुसार केही विद्यार्थीले छात्रवृत्तिमा अध्ययन सुरु गरे पनि समग्रमा प्राविधिक शिक्षाप्रति आकर्षण कमजोर देखिएको छ । 'संस्थालाई जोगाउँदै अघि बढाउनुपर्छ भन्ने उद्देश्यले सबै वडाबाट निःशुल्क पढाउने व्यवस्था गरेका छौँ,' श्रेष्ठले भने, 'केही विद्यार्थी आएका छन् तर पहिलेजस्तो बाहिरी जिल्लाबाट आउने घटेका छन् । पछिल्ला वर्ष विद्यार्थी घट्नु चिन्ताजनक विषय हो ।' नगरपालिकाको पहलले आंशिक राहत दिए पनि दीर्घकालीन रूपमा विद्यार्थी आकर्षण बढाउन अझ व्यापक रणनीति आवश्यक देखिएको उनले बताए ।

नवराज श्रेष्ठ कान्तिपुरका रामेछाप संवाददाता हुन् ।

Link copied successfully