चैत १५ को राति श्रीमान् ३६ वर्षीय गोपीलाल तामाङको निर्घात कुटपिटबाट गम्भीर घाइते भएकी शर्मिला उपचारका लागि अस्पताल भर्ना भएकी हुन् ।
What you should know
रामेछाप — गोकुलगंगा गाउँपालिका–६ की शर्मिला तामाङ अहिले सदरमुकाम मन्थलीस्थित तामाकोशी अस्पतालको बेडमा छिन् । शरीरभरि चोटका डाम छन्, अनुहारमा पीडाको गहिरो छाप देखिन्छ । तर पीडाभन्दा ठूलो उनको न्यायको माग छ ।
चैत १५ को राति श्रीमान् ३६ वर्षीय गोपीलाल तामाङको निर्घात कुटपिटबाट गम्भीर घाइते भएकी शर्मिला उपचारका लागि अस्पताल भर्ना भएकी हुन् । उनीसँगै १२ वर्षीया छोरी गुञ्जन तामाङ र ७ वर्षीय छोरा सुजल तामाङ पनि अस्पतालमै छन् ।
२०७० सालमा प्रेमविवाह गरेकी शर्मिलाको वैवाहिक जीवन सुरुदेखि नै सहज रहेन । विवाह भएको केही महिनामै श्रीमान्ले विभिन्न आरोप लगाउँदै कुटपिट गर्न थालेका थिए । गर्भावस्थाजस्तो संवेदनशील अवस्थामा समेत उनले हिंसा सहनुपरेको थियो । समयसँगै त्यो हिंसा झन् क्रूर बन्दै गयो, जसको पछिल्लो उदाहरण चैत १५ को घटना हो । 'विवाह भएको ३ महिनामै नै कुटपिट सुरु भयो, गर्भवती हुँदा पनि छुट पाइएन,' अस्पतालको बेडबाट शर्मिलाले भनिन्, 'अब त बाँच्नकै लागि न्याय मागिरहेकी छु ।'
यो घटना कुनै एक पटकको आवेग होइन, बरु १२ वर्ष लामो घरेलु हिंसाको निरन्तर शृङ्खला हो । वडा कार्यालयदेखि विभिन्न सामाजिक संस्थासम्मले पटक–पटक मिलापत्र गराए । माइती नेपालसम्मको पहलमा सहमति गराइएको थियो । हरेक पटक शर्मिलाले बच्चाहरूको भविष्यका लागि सम्झौता स्वीकार गरिन् । तर ती सहमतिहरू टिकाउ बन्न सकेनन् । श्रीमान्ले कुटपिट गर्ने बानी छाडेनन् ।
काठमाडौँमा सवारी चालकको काम गर्दै आएका गोपीलाल गाउँ फर्किने बित्तिकै फेरि कुटपिटमा उत्रिने गरेको शर्मिलाको आरोप छ । शर्मिलाकी १२ वर्षीया छोरी गुञ्जन तामाङ भन्छिन्, 'बुबाले ममीलाई सधैँ कुट्नुहुन्छ । चैत १५ गते राति त म, भाइ र ममी सबैलाई कुट्नुभयो । ममीलाई त इँटाले हानेर दाँत नै भाँचिदिनुभयो । घर भनेको अब हामीका लागि सुरक्षित ठाउँ रहेन, सधैं डर र त्रासमै बाँच्नुपर्छ । अब हामी कहाँ जाऔं ?'
शर्मिलाका दाई भूपाल तामाङ परिवारले पटक–पटक मिलाउने प्रयास गरे पनि व्यवहारमा सुधार नआएको बताए । 'हामीले धेरै पटक मिलाउन खोज्यौँ, तर सुधार भएन । अहिले त ज्यानै जाने अवस्था बनायो,' उनले भने । पीडित पक्षले प्रहरी तथा न्यायिक निकायबाट अपेक्षित सहयोग नपाएको गुनासो पनि गरेका छन् । पटक पटक हिंसाको घटना हुँदा पनि प्रभावकारी कारबाही नभएको उनीहरूको भनाइ छ । यता जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजनप्रसाद तिम्सिनाले घटनाबारे अनुसन्धान सुरु गरिएको जानकारी दिएका छन् । दोषीमाथि कानुन अनुसार कारबाही हुने उनले बताए ।
