दिउँसो एक्कासि चलेको तीव्र हावाहुरीले गाउँका कम्तीमा पाँच घरको छानो पूर्ण रूपमा उडाएको वडाध्यक्ष प्रदीप तामाङले जानकारी दिए।
रामेछाप — जिल्लाको लिखुतामाकोशी गाउँपालिका–१ दुरागाउँमा आइतबार दिउँसो आएको हावाहुरीका कारण स्थानीय बासिन्दाका घरमा क्षति पुगेको छ।
दिउँसो एक्कासि चलेको तीव्र हावाहुरीले गाउँका कम्तीमा पाँच घरको छानो पूर्ण रूपमा उडाएको वडाध्यक्ष प्रदीप तामाङले जानकारी दिए। उनका अनुसार हावाहुरीका कारण एक दर्जन घरमा आंशिक क्षतिसमेत पुगेको छ।
हालसम्म प्राप्त प्रारम्भिक विवरणअनुसार पाँच घरमा ठूलो क्षति भएको र अन्य घरमा सामान्य क्षति देखिएको बताइएको छ। घटनापछि स्थानीय जनप्रतिनिधि र सम्बन्धित निकायले क्षतिको विस्तृत विवरण सङ्कलन गर्ने काम गरिरहेको वडाध्यक्ष तामाङले बताए ।
वडाध्यक्ष तामाङका अनुसार अहिले पनि प्रभावित घरपरिवारको अवस्थाबारे जानकारी आउने क्रम जारी रहेको छ। क्षतिको यकिन विवरण सङ्कलनपछि आवश्यक सहयोग र राहतका लागि पहल गरिने उनले बताए।
