रामेछापमा यसपटक कुल ४८ प्रतिशत मत खसेको छ ।
रामेछाप — प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रामेछापमा आज बिहान साढे ११ बजेदेखि मतगणना सुरु हुने भएको छ । भर्खरै सम्पन्न सर्वदलीय बैठकले बिहान ११:३० बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले जनाएको छ।
जिल्लाका सबै मतदान केन्द्रबाट संकलन गरिएका मतपेटिका सदरमुकाम मन्थलीस्थित मालपोत कार्यालय भवनमा जम्मा गरिएको छ। सर्वदलीय बैठकबाट मतगणना सुरु गर्ने सहमति भएपछि सदरमुकाम मन्थलीमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, उम्मेदवार तथा नेता–कार्यकर्ताहरू जम्मा हुने क्रम बढ्दै गएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार रामेछापमा यस पटक कुल ४८ प्रतिशत मत खसेको छ। कार्यालयका अनुसार जिल्लामा ९० हजार ७१० मत खसेको हो, जसमा पुरुष ५० हजार ६२४ र महिला ४० हजार ८६ जना मतदाताले मतदान गरेका छन्। यस निर्वाचनका लागि रामेछापमा कुल १ लाख ८७ हजार ९५२ जना मतदाता रहेका थिए।
एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा मतदानका लागि ९६ वटा मतदान स्थल र २२८ वटा मतदान केन्द्र तोकिएका थिए। मतगणनासँगै रामेछापको निर्वाचन परिणामप्रति चासो बढ्दै गएको छ ।
