रामेछापमा दुर्घटनापछि २ मतदानस्थलका लागि नयाँ कर्मचारी र निर्वाचन सामग्री पठाइयो

दुर्घटना स्थलबाट मतपत्र, मतदाता नामावलीलगायतका सबै निर्वाचन सामग्री सोमबार राति सकुशल अवस्थामा मुख्य निर्वाचन अधिकृतको कार्यालय मन्थलीमा ल्याइएको थियो।

फाल्गुन १९, २०८२

नवराज श्रेष्ठ

New staff and election materials sent to 2 polling stations after accident in Ramechhap

रामेछाप — मतदानका लागि खटाइएका कर्मचारी सवार गाडी सोमबार दुर्घटनामा परेपछि रामेछापका २ वटा मतदानस्थलका लागि मंगलबार नयाँ निर्वाचन सामग्री र थप कर्मचारी पठाइएको छ।

रामेछाप नगरपालिका–२ स्थित सिरुवारी मतदानस्थलको क र ख मतदान केन्द्र तथा रामेछाप नगरपालिका–३ साँघुटारस्थित मतदानस्थलको क र ख मतदान केन्द्रका लागि निर्वाचन सामग्री र कर्मचारी बोकेको निशान गाडी दुर्घटनामा परेको थियो । 

जिल्ला निर्वाचन कार्यालय रामेछापका निर्वाचन अधिकृत नारायण लामिछानेका अनुसार यी दुवै मतदानस्थलमा मंगलबार कर्मचारीसहित निर्वाचन सामग्री पठाइसकिएको छ।

उनले भने, 'दुर्घटनापछि केही मतदान अधिकृत र सहायक मतदान अधिकृत नपुगेको अवस्था थियो। मुख्य निर्वाचन अधिकृतको कार्यालयसँग समन्वय गरी आवश्यक कर्मचारी र निर्वाचन सामग्री समयमै पठाइएको छ।'

लामिछानेका अनुसार दुर्घटना स्थलबाट मतपत्र, मतदाता नामावलीलगायतका सबै निर्वाचन सामग्री सोमबार राति सकुशल अवस्थामा मुख्य निर्वाचन अधिकृतको कार्यालय मन्थलीमा ल्याइएको थियो।

मुख्य निर्वाचन अधिकृतको कार्यालय मन्थलीबाट रामेछाप नगरपालिका–२ स्थित सिरुवारीको शीतलादेवी माध्यमिक विद्यालय तथा वडा ३ को वडा कार्यालय भवन साँघुटारस्थित मतदान केन्द्रका लागि मतपत्र र निर्वाचन सामग्री बोकेर गएको ना ७ ख ६७६८ नम्बरको निशान गाडी मोड नपुगी ब्याक गर्ने क्रममा अनियन्त्रित भई करिब १०० मिटर तल खस्दा दुर्घटना भएको थियो।

सोमबार अपराह्न रामेछाप नगरपालिका–२ सिरुवारीस्थित भित्री सडक खण्डमा भएको दुर्घटनामा रामेछाप नगरपालिका–३ साँघुटारस्थित ख मतदान केन्द्रमा मतदान अधिकृतका रूपमा खटिएका मन्थली नगरपालिका–१ भैँसेश्वरका ५७ वर्षीय डोरप्रसाद घिमिरेको मन्थली अस्पतालमा उपचारका क्रममा सोमबार साँझ मृत्यु भएको थियो। त्यसैगरी सप्तरीको रुबनी गाउँपालिका–१ घर भई जिल्ला प्रहरी कार्यालय रामेछापमा कार्यरत प्रहरी सहायक निरीक्षक परशुराम यादवको पनि ज्यान गएको छ।

दुर्घटनामा घाइते भएका ३ महिला र ४ पुरुष गरी ७ जनालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको थियो।

नवराज श्रेष्ठ कान्तिपुरका रामेछाप संवाददाता हुन् ।

Link copied successfully