रामेछापमा निर्वाचन सामग्री बोकेको गाडी दुर्घटना: एक सुरक्षाकर्मीको मृत्यु, ६ जना घाइते

सोमबार अपराह्न भएको दुर्घटनामा ६ जना घाइते भएका छन् भने ३ जना गाडीबाट हाम फालेर ज्यान जोगाउन सफल भएका छन् ।

फाल्गुन १८, २०८२

नवराज श्रेष्ठ

रामेछाप — रामेछापमा निर्वाचन सामग्री तथा कर्मचारी लिएर गइरहेको गाडी दुर्घटना हुँदा एक जना सुरक्षाकर्मीको मृत्यु भएको छ । सोमबार अपराह्न भएको दुर्घटनामा ६ जना घाइते भएका छन् भने ३ जना गाडीबाट हाम फालेर ज्यान जोगाउन सफल भएका छन् ।

दुर्घटनामा एक जना असईको घटनास्थलमै ज्यान गएको हो । गाडीमा सवारमध्ये रामेछाप नगरपालिका–२ स्थित शीतलादेवी माध्यमिक विद्यालय मतदान केन्द्रका मतदान अधिकृत रवीराज खड्काका अनुसार उनीसहित ३ जना गाडीबाट हाम फालेर बाँच्न सफल भएका हुन् ।  उनका अनुसार घटनास्थलमै ज्यान गुमाउने नेपाल प्रहरीका असई आरपी यादव रहेका छन् । उनको ठेगाना भने खुल्न सकेको छैन । 

रामेछाप नगरपालिका–२ स्थित वडा कार्यालय नजिकैको स्वामीडाँडा भीरबाट गाडी खसेको हो । दुर्घटनाग्रस्त गाडी वडा नं. २ स्थित शीतलादेवी मतदान केन्द्र तथा वडा नं. ३ स्थित साघुटार वडा कार्यालय मतदान केन्द्रका लागि निर्वाचन सामग्री र कर्मचारी लिएर जाँदै गरेको बताइएको छ ।

घटनास्थल अप्ठेरो र भिरालो भएकाले गाडीको नम्बरसमेत खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजनप्रसाद तिम्सिनाले जानकारी दिए ।

नवराज श्रेष्ठ श्रेष्ठ कान्तिपुरका रामेछाप संवाददाता हुन् ।

Link copied successfully