रामेछापमा अरनिको यातायातले सेवा रोकेपछि आवतजावतमा समस्या

माघ २७ गते मन्थली नगरपालिका–६ लिलौटीमा काठमाडौँबाट ओखलढुंगातर्फ जाँदै गरेको बाप्र ००१–०५ ख ९९७५ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा घटनास्थलमै १२ जनाको ज्यान गएको थियो ।

फाल्गुन ९, २०८२

नवराज श्रेष्ठ

Traffic problems in Ramechhap after Araniko Yatayat stops services

What you should know

रामेछाप — रामेछापको मन्थली नगरपालिका–६ मा भएको बस दुर्घटनापछि नेपाल अरनिको यातायात सेवा प्रालिले काठमाडौँ–खुर्कोट हुँदै मन्थली आउने–जाने बस सेवा रोकेपछि रामेछापका सर्वसाधारण गम्भीर समस्यामा परेका छन्।

माघ २७ गते मन्थली नगरपालिका–६ लिलौटीमा काठमाडौँबाट ओखलढुंगातर्फ जाँदै गरेको बाप्र ००१–०५ ख ९९७५ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा घटनास्थलमै १२ जनाको ज्यान गएको थियो भने ३ जना बेपत्ता भएका थिए। दुर्घटनामा ८ जना घाइते भएका थिए। बेपत्तामध्ये एक बालक र एक युवाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

दुर्घटनापछि पीडित पक्ष र जिल्ला प्रशासनबीच माघ २८ गते मध्यरातसम्म चलेको वार्तापछि सहमति भए पनि मृतकका आफन्तले विभिन्न स्थानमा बस अवरोध गरेपछि प्रालिले फागुन १ गतेदेखि काठमाडौँ–खुर्कोट–मन्थली सडक खण्डमा बस सेवा बन्द गरेको थियो । हालसम्म पनि बस सेवा सञ्चालन नहुँदा जिल्लाका ग्रामीण क्षेत्रका नागरिकको दैनिक जीवन प्रभावित बनेको छ । 

लिखुतामाकोशी गाउँपालिका–५ की सुमित्रा लामा भन्छिन्, 'झन्डै एक हप्तादेखि गाउँ जाने बस चलेको छैन। बाबु मन्थलीमा पढ्न बसेको छ, भेट्न आएको फर्किने बस नचल्दा मन्थलीमै रोकिएको छु।' अधिकांश गाउँमा पुग्ने बस अरनिकै भएकाले सेवा बन्द हुँदा गाउँ–गाउँको जनजीवन प्रभावित भएको उनको भनाइ छ।

अरनिको यातायातको बस सेवा ठप्प हुँदा मन्थली हुँदै दोलखाको मेलुङ र ओखलढुंगातर्फ यात्रा गर्ने नागरिक पनि यातायात सुविधाबाट वञ्चित जस्तै बनेका छन्। बस सेवा सञ्चालनबारे केन्द्रबाट कुनै निर्देशन नआएको प्रालिका रामेछाप जिल्ला इन्चार्ज सुवास फुयाँलले बताए। 

'अहिले रामेछापमा अरनिको बस सेवा पूर्ण रूपमा ठप्प छ। केन्द्रबाट कुनै जानकारी आएको छैन। स्थानीय प्रशासनले अझै सुरक्षित वातावरण बनाउन नसकेको व्यवसायीको गुनासो छ,' उनले भने। उनका अनुसार दैनिक ७० भन्दा बढी बस काठमाडौँ–रामेछाप आवतजावत गर्दै आएका थिए।

यसैबीच बस सेवा तत्काल सञ्चालन हुनुपर्ने भन्दै नेपाल पत्रकार महासंघ, रामेछाप उद्योग वाणिज्य संघ, गैसस महासंघ लगायतका संघसंस्थाले जिल्ला प्रशासन कार्यालय रामेछापको ध्यानाकर्षण गराएका छन्। 

पत्रकार महासंघ रामेछापका अध्यक्ष दीपकुमार घिमिरेका अनुसार झन्डै एक हप्तादेखि बस सेवा ठप्प हुँदा सर्वसाधारणले सास्ती खेप्नु परेकाले प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराइएको हो। 

प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जिल्लामा बस सञ्चालनका लागि सुरक्षाको कुनै समस्या नरहेको बताउँदै सरोकारवाला निकायसँग छलफल भइरहेकाले समस्या चाँडै समाधान हुने बताएका छन्। पर्याप्त यातायातको साधन सञ्चालन नभएको मौका छोपेर सवारी साधनहरूले तोकिएको भन्दा बढी र मनपरी भाँडा असुल्न थालेका यात्रुहरूको गुनासो छ ।

नवराज श्रेष्ठ श्रेष्ठ कान्तिपुरका रामेछाप संवाददाता हुन् ।

Link copied successfully