काठमाडौंबाट लिखु तामाकोशी गाउँपालिकाको तिल्पुङ हुँदै ओखलढुंगाको खिजी फलाँटे हिँडेको बसलाई आरुबोटेमा रोकेर चालक र सहचालकलाई कुटपिट गरेको प्रालिका रामेछाप जिल्ला इन्चार्ज सुवास फुयाँलले बताए ।
What you should know
रामेछाप — गत मंगलबार मन्थली नगरपालिका–६ मा भएको बस दुर्घटनामा ज्यान गुमाएकाहरुका परिवारजनले नेपाल अरनिको यातायात सेवा प्रालिको बस सञ्चालनमा अवरोध गरेका छन् ।
काठमाडौंबाट लिखु तामाकोशी गाउँपालिकाको तिल्पुङ हुँदै ओखलढुंगाको खिजी फलाँटे हिँडेको बसलाई आरुबोटेमा रोकेर चालक र सहचालकलाई कुटपिट गरेको प्रालिका रामेछाप जिल्ला इन्चार्ज सुवास फुयाँलले बताए । उनले भने,'मृतकका आफन्तले चालक र सहचालकलाई कुटपिट गरेका छन् । अहिले चालक र सहचालक सम्पर्कमा छैनन् । उनीहरू भागेको भन्ने छ । अहिले लिखु तामाकोशी गाउँपालिका–७ तिल्पुङको कृष्ण मोडमा दुई वटा बस अलपत्र बनेको छ ।'
यो घटनाका कारण रामेछापका विभिन्न ठाउँका यात्रु लिएर काठमाडौंबाट आएका तीन वटा भन्दा बढी अरनिको यातायात सेवा प्रालिका बस मंगलबारको दुर्घटना भएको ठाउँमै रोकिएको उनले बताए । खिजीबाट काठमाडौं तर्फ यात्रु बोकेर छुटेको बसलाई पनि अवरोध भएको उनले बताए ।
बुधबार मध्यराति मृतकका आफन्त र स्थानीय प्रशासनबीच अवरुद्ध सडक सञ्चालन गर्ने, मृतकको शव बुझ्ने, कानुन बमोजिम दिइने क्षतिपूर्ति तत्काल उपलब्ध गराउनेलगायतको सहमति भएपछि बिहीबारबाट बस सञ्चालन भएको थियो ।
दुर्घटनाबाट तामाकोशीमा खसेको बसबाट हराइरहेका यात्रुको खोजीका लागि त्रिवेणीनजिक पुगेका आफन्तहरूले पनि काठमाडौंबाट आएका बसलाई रोकेका हुन् ।
यसैबीच नेपाल अरनिको यातायात सेवा प्रालिले शुक्रबार सूचना जारी गर्दै काठमाडौँ–खुर्कोट हुँदै मन्थली जाने सडकखण्ड प्रयोग गरी सञ्चालन हुँदै आएका आफ्ना सम्पूर्ण बस सेवा स्थगित गरेको छ।
रामेछापको मन्थली नगरपालिका–६ मा भएको सवारी दुर्घटनापछि सो सडक खण्डमा यात्रु तथा सवारी साधनको सुरक्षामा जोखिम देखिएको भन्दै अर्को सूचना जारी नभएसम्मका लागि बस सञ्चालन रोक्ने निर्णय गरिएको सूचनामा उल्लेख छ।
प्रालिका सहायक कार्यालय प्रमुख विकास लामाका अनुसार दुर्घटनाबाट उत्पन्न अवस्थाले यात्रु, सवारी साधन तथा चालक–कर्मचारीको सुरक्षामा खतरा बढेको ठहर गर्दै सेवा स्थगन गरिएको हो । यसबारे सम्बन्धित व्यवसायी, मजदुर तथा कर्मचारीहरूलाई जानकारी गराइसकिएको पनि सूचनामा उल्लेख छ।
गएको मंगलबार बिहान करिब १०:४० बजेको समयमा मन्थली नगरपालिका–६ लिलौतीमा काठमाडौंबाट ओखलढुंगाको पोल्थलीका लागि छुटेको बाप्र ००१–०५ ख ९९७५ नम्बरको बस दुर्घटना भएको थियो । बस सडकबाट तामाकोशीमा डुब्दा १२ जनाको घटनास्थलमै ज्यान गएको थियो भने ३ जना अझै बेपत्ता रहेका छन्। दुर्घटनामा परी ८ जना घाइते भएका छन् ।
