रामेछाप बस दुर्घटना : क्षतिपूर्ति विवाद उत्कर्षमा, पीडितले तोडे प्रहरी घेरा

बुधबार अबेरसम्म बसेको सर्वपक्षीय बैठकमा पनि क्षतिपूर्तिको विषयमा सहमति नजुटेपछि पीडित परिवार झन् आक्रोशित बनेका छन् ।

माघ २८, २०८२

नवराज श्रेष्ठ

What you should know

रामेछाप — बस दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारले क्षतिपूर्ति माग गर्दै जिल्ला प्रशासन कार्यालय रामेछाप घेराउ गरी चर्को विरोध जनाएका छन् ।

प्रमुख जिल्ला अधिकारीसँग प्रत्यक्ष भेटेर आफ्ना पीडा र माग राख्नुपर्ने भन्दै केही पीडित तथा आफन्तले प्रहरीको घेरा तोडेर जिल्ला प्रशासन कार्यालयभित्र प्रवेश गरेपछि प्रहरीले बल प्रयोग गरेर बाहिर निकालेका छन् । बुधबार अबेरसम्म बसेको सर्वपक्षीय बैठकमा पनि क्षतिपूर्तिको विषयमा सहमति नजुटेपछि पीडितको आक्रोश झन् बढेको हो ।

जिल्ला प्रशासनमा सहमति हुन नसकेपछि मृतकका आफन्तले बुधबार बिहानदेखि मन्थली नगरपालिका–६ स्थित आकाशे, भैंसेश्वर क्षेत्र हुँदै मन्थली–खुर्कोट सडक अवरुद्ध गरेका छन् । दुर्घटनामा संलग्न सवारीसाधन धनी तथा यातायात समिति सम्पर्कमा नआएको भन्दै आफन्तले सडक बन्द गरेका हुन् ।

काठमाडौंबाट मन्थली–खुर्कोट पुष्पलाल राजमार्ग हुँदै रामेछापको सिरिसे ढाँडे भएर ओखलढुंगातर्फ जाँदै गरेको बा.प्र ००१–०५ ख ९९७५ नम्बरको (पूर्व अरनिको यातायात प्रालि) यात्रुवाहक बस मंगलबार बिहान करिब १०:४० बजे मन्थली नगरपालिका–६ स्थित बेनीघाट पुलनजिक अनियन्त्रित भई सडकबाट खसेर तामाकोशी नदीमा डुबेको थियो ।

उक्त दुर्घटनामा १२ जनाको ज्यान गएको थियो भने चालकसहित ८ जना घाइते भएका थिए । मृतकका परिवारले प्रति मृतक २५ लाख रुपैयाँ क्षतिपूर्ति, घाइतेको सम्पूर्ण उपचार र जीवनभर पालन–पोषणको व्यवस्था हुनुपर्ने माग राखेका छन् ।

तर यातायात व्यवस्था ऐन अनुसार बिमाबाट ५ लाख, किरिया खर्चबापत ५० हजार रुपैयाँ प्राप्त हुने र पूर्व अरनिको यातायात प्रालिले थप प्रति मृतक ३०/३० हजार रुपैयाँ दिने प्रस्ताव गरे पनि पीडित पक्षले अस्वीकार गरेपछि बैठक निष्कर्षविहीन भएको हो । बैठकमा सहभागी नेकपा एमाले रामेछापका अध्यक्ष पुरुषोत्तम कडरियाले क्षतिपूर्तिको विषयमा सहमति हुन नसकेको जानकारी दिए ।

सहमति नजुटेपछि अहिले मृतक तथा घाइतेका परिवार र आफन्त जिल्ला प्रशासन कार्यालयमै भेला भई न्यायको माग गरिरहेका छन् । दुई सन्तानको शव फेला परेको र दुई नातिहरू अझै बेपत्ता रहेको पीडा सुनाउँदै लिखुतामाकोशी गाउँपालिका–७ का शुकमान तामाङले यातायात प्रालि र बस चालकलाई तत्काल सम्पर्कमा ल्याई कानुनी कारबाही गर्नुपर्ने बताए । उनले भने, 'चार जना परिवारका सदस्य दुर्घटनामा परेका छन् । दुई जनाको शव भेटिएको छ, दुई नातिहरू अझै हराइरहेका छन् । हाम्रो माग पूरा नभएसम्म सडक खुल्दैन ।'

यसैबीच दुर्घटनापछि ३ जना बेपत्ता भएको भन्दै जिल्ला प्रहरी कार्यालय रामेछापमा आफन्तहरूले निवेदन दिएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार बेपत्ता व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको छ तर बुधबार साँझसम्म खोजी गर्दा पनि बेपत्ता भनिएकाहरू फेला पर्न सकेन । प्रहरीमा प्राप्त निवेदन अनुसार बेपत्ता हुनेमा उमाकुण्ड गाउँपालिका–६, गुप्तेश्वरका २४ वर्षीय विशाल सुनुवार रहेका छन् । उनका दाइ युवराज सुवालले खोजतलासका लागि प्रहरी कार्यालय रामेछापमा निवेदन दिएका हुन् । 

यस्तै, लिखु तामाकोशी गाउँपालिका–७, तिल्पुङकी ८ वर्षीया रेमिसा तामाङ पनि बेपत्ता रहेकी छन् । उनी मृतक रमिता तामाङकी छोरी रहेको बताइएको छ । रेमिसाको खोजीका लागि उनका आफन्तले प्रहरीमा निवेदन दर्ता गराएको प्रहरीले जनाएको छ । त्यसैगरी मन्थली नगरपालिका–२ का ९ वर्षीय क्रिचन तामाङ पनि सम्पर्कविहीन रहेको भन्दै उनका आफन्तलेसमेत खोजीका लागि निवेदन दिएका छन् ।

नवराज श्रेष्ठ कान्तिपुरका रामेछाप संवाददाता हुन् ।

Link copied successfully