प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरू घरदैलो अभियानमा जुटिरहेका बेला किसानलाई खेतबारीको कामले भ्याइनभ्याइ छ।
What you should know
रामेछाप — रामेछाप जिल्लाको हिमाली गाउँपालिका उमाकुण्डसहित लेकाली भेगका किसान यतिबेला आलु रोप्ने चटारोमा छन्।
आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरू घरदैलो अभियानमा जुटिरहेका छन् । किसानलाई भने चुनावी चासोभन्दा खेतबारीको कामले भ्याइनभ्याइ छ।
उमाकुण्ड गाउँपालिकाका किसानका लागि आलु नै प्रमुख आम्दानीको स्रोत र मुख्य बाली भएकाले यो समय निकै महत्त्वपूर्ण मानिन्छ।
उमाकुण्ड गाउँपालिका–५ का किसान ओलक सुनुवारका अनुसार माघको पहिलो सातादेखि सुरु गरेर माघ अन्तिमसम्म आलु रपिसक्नु पर्ने भएकाले किसानहरू यतिबेला बारीमा खटिएका छन्। 'हाम्रो मुख्य बाली आलु नै हो। अहिले चुनावभन्दा पनि आलु रोप्ने कामले नै फुर्सद छैन,' उनले भने।
उमाकुण्ड गाउँपालिका–५ का वडा अध्यक्ष कुलबहादुर बस्नेतले आलु उत्पादन वृद्धि गर्न सिँचाइ सुविधा विस्तारमा वडा निरन्तर लागिरहेको बताए। उनका अनुसार हरेक आर्थिक वर्षमा सिँचाइ कुलो निर्माणका लागि बजेट विनियोजन हुँदै आएको छ। 'सुक्खाग्रस्त स्थानमा केही वर्षभित्र सिँचाइ सुविधा पुर्याउने लक्ष्य छ। यसले आलुसँगै मकै र अलैँची उत्पादन पनि बढाउनेछ,' उनले भने ।
उमाकुण्ड गाउँपालिकाकी कृषि शाखा प्रमुख अभिजना कार्कीका अनुसार गत आर्थिक वर्ष २०८१/०८२ मा मात्रै करिब १४ करोड रुपैयाँ बराबरको आलु उत्पादन भएको थियो। आलुको उत्पादन अझै बढाउन कृषकलाई विभिन्न सहयोग उपलब्ध गराइँदै आएको उनले जानकारी दिइन्।
उमाकुण्डसँगै रामेछापका गोकुलगंगा र दोरम्बा शैलुङ गाउँपालिकाका किसानहरू पनि अहिले आलु रोपाइँमै व्यस्त छन्। दोरम्बा शैलुङ गाउँपालिका–१ डडुवाका किसान दावासाङ्बु शेर्पाका अनुसार शैलुङ क्षेत्रमा अहिले आलु रोप्ने मुख्य सिजन यही हो। 'यहाँका किसानलाई निर्वाचनभन्दा पनि आलु रोप्ने चटारो छ। पछिल्ला समय गाउँमा जनशक्ति अभाव हुँदा काम गर्न झन् समस्या भएको छ,' उनले भने।
उनका अनुसार शैलुङ क्षेत्रमा हिउँदको आलु पुसदेखि माघसम्म रोपेर असारदेखि साउन अन्तिमसम्म खन्ने गरिन्छ । यहाँका किसानहरूले रोजिटा, एमएस–४२ डेजिरे, जनकदेव र चाइनिज–१० जातका आलु लगाउने गरेका छन्। शैलुङ क्षेत्रमा मात्रै वार्षिक करिब ८० हजार मेट्रिक टन आलु उत्पादन हुने गरेको स्थानीय किसानको भनाइ छ।
लेकाली भेगका किसानका लागि चुनावी बहसभन्दा पनि यही सिजनको आलु उत्पादन नै वर्षभरको जीविकोपार्जनको आधार बन्ने स्थानीय किसानहरूको भनाइ छ । आलु रोप्ने बेला र सप्रने बेलामा हिमपात र हिउँदे वर्षा भएकामा खेती सप्रने स्थानीयको भनाइ छ । तर यो वर्ष रामेछापका उच्च भेगमा केही हिमपात भए पनि हिउँदे वर्षा भने हुनसकेको छैन ।
कृषि विकास कार्यालय रामेछापका अनुसार रामेछापमा ३ हजार तीन सय भन्दा बढी हेक्टर जमिनमा आलु खेती हुन्छ । दुई नगरपालिका र ६ वटा गाउँपालिका गरी आठ वटा स्थानीय तह रहेको रामेछापमा विशेषगरी उमाकुण्ड, गोकुलगंगा, दोरम्बा, शैलुङ, सुनापति गाउँपालिकासहित खाँडादेवी गाउँपालिकाको माथिल्लो भेगमा पर्याप्त मात्रामा आलु उत्पादन हुने गरेको छ ।
