उम्मेदवारहरूले सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि र रोजगारीलाई प्राथमिकतामा राख्दै प्रचार अभियानलाई तीव्र बनाएका छन् ।
What you should know
रामेछाप — आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै उम्मेदवारहरू मतदातासँग प्रत्यक्ष भेटघाटका लागि घरदैलो अभियानमा जुट्ने तयारीमा छन् ।
उम्मेदवारहरूले सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि र रोजगारीलाई प्राथमिकतामा राख्दै प्रचार अभियानलाई तीव्र बनाएका छन् ।
एक मात्र प्रतिनिधिसभा क्षेत्र रहेको रामेछापमा निर्वाचनलाई लक्षित गरी कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राप्रपासहित १४ राजनीतिक दल र ३ स्वतन्त्र गरी १७ जना उम्मेदवार चुनावी मैदानमा होमिएका छन् ।
यसपटक कांग्रेस, एमाले र रास्वपाले नयाँ उम्मेदवार अघि सारेका छन् भने नेकपाले दोस्रो संविधानसभा निर्वाचन र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित भइसकेका श्यामकुमार श्रेष्ठलाई पुनः उम्मेदवार बनाएको छ ।
कांग्रेसले पूर्वजिल्ला सभापति रामचन्द्र खड्कालाई, एमालेले युवा नेता तथा अनेरास्ववियुका पूर्वकेन्द्रीय अध्यक्ष माधवप्रसाद ढुङ्गेललाई र रास्वपाले डा. कृष्णहरि बुढाथोकीलाई उम्मेदवार बनाएको छ ।
दोहोरिएका र पहिलो पटक चुनावी प्रतिस्पर्धामा होमिएका उम्मेदवारहरू सबैका प्रमुख एजेन्डा विकास निर्माण, शिक्षा, स्वास्थ्य, सडक र खानेपानी रहेका छन् । एमाले उम्मेदवार ढुङ्गेलले जिल्लालाई एआई डेटा सेन्टरको हबका रूपमा विकास गर्ने नयाँ एजेन्डा सार्वजनिक गरेका छन् ।
कांग्रेसले रामेछापमा सुशासन तथा शासकीय सुधारलाई प्रमुख एजेन्डा बनाएर प्रतिनिधिसभा निर्वाचनका लागि आफ्ना उम्मेदवारलाई मतदातामाझ लैजाने तयारी गरेको छ । कांग्रेस रामेछापका प्रचार शाखा प्रमुख हिमाल ढुङ्गेलका अनुसार माघ १७ गते कांग्रेसको जिल्ला कार्यसमिति बैठकले निर्वाचन अभियानको विस्तृत रणनीति तय गर्नेछ ।
त्यसैगरी माघ १९ गतेदेखि घरदैलो कार्यक्रम सुरु गरिने उनले जानकारी दिए । हाल कांग्रेसका उम्मेदवारहरू राजधानी काठमाडौंमा रहेका रामेछापका मतदातासँग भेटघाट तथा छलफलमा व्यस्त छन् । 'अब माघ १९ गतेदेखि गाउँ–गाउँमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद सुरु गर्छौं । विकास निर्माणसँगै सुशासन, शासकीय र नीतिगत सुधार नै हाम्रो प्रमुख एजेन्डा हो,' ढुङ्गेलले भने ।
एमालेले घरदैलो कार्यक्रममार्फत मतदातासँग प्रत्यक्ष संवाद गर्दै स्थानीय समस्या बुझ्ने र समाधानका ठोस योजना प्रस्तुत गर्ने तयारी गरेको छ । एमाले रामेछापका अध्यक्ष पुरुषोत्तम कडरियाका अनुसार निर्वाचनलाई लक्षित गर्दै पालिका–स्तरीय निर्वाचन परिचालन समिति केन्द्रित बैठकहरू सञ्चालन भइरहेका छन् । धेरै पालिकामा यस्ता बैठक सम्पन्न भइसकेका छन् । 'गाउँ–गाउँमा भेला, अन्तरक्रिया र छलफलमार्फत सुझाव सङ्कलन गरिरहेका छौं । स्थानीय आवश्यकताअनुसार विकासका प्राथमिकता तय गरेर मतदातासमक्ष स्पष्ट योजना प्रस्तुत गर्छौं,' कडरियाले भने ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आइतबारदेखि चुनावी प्रचार कार्यक्रम औपचारिक रूपमा सुरु गरिसकेको छ । पार्टीले लिखुतामाकोशी गाउँपालिका–६ खिम्ती र वडा ७ तिल्पुङमा घरदैलो कार्यक्रम सञ्चालन गर्दै मतदातासँग प्रत्यक्ष संवाद थालेको हो ।
प्रतिनिधिसभा प्रत्यक्षतर्फका उम्मेदवार तथा पूर्वगृहराज्यमन्त्री श्यामकुमार श्रेष्ठसहित समानुपातिकतर्फका दुई उम्मेदवार पनि प्रचार अभियानमा सहभागी छन् ।
पार्टीका नेता मदन कालिकोटेका अनुसार निर्वाचन आचारसंहितालाई पूर्णरूपमा पालना गर्दै घरदैलो कार्यक्रम सञ्चालन भइरहेको छ । 'हामी आचारसंहिताको सम्मान गर्दै जनताको घर–घरमा पुगेर नीति र कार्यक्रमबारे स्पष्ट जानकारी दिइरहेका छौं,' कालीकोटेले भने ।
जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत नारायण लामिछानेका अनुसार यो निर्वाचनमा जिल्लाभर कुल १ लाख ८७ हजार ९५२ मतदाता कायम छन् । जिल्लाभर ९६ वटा मतदानस्थल र २२८ वटा मतदान केन्द्र निर्धारण गरिएका छन् ।
