बाँझो जमिनमा पम्फा खपाङ्गी, यमुना माझी र जानुका काफ्लेजस्ता जाँगरिला महिला कृषकले सम्भावनाको बीउ रोपेका छन् । स्थानीय बजारको सहज पहुँचले स्थानीयको मिहिनेतलाई प्रतिफल दिएको छ ।
What you should know
रामेछाप — मन्थली नगरपालिका–१३ चुहानटारकी पम्फा खपाङ्गीका लागि तरकारी खेती आज जीविकोपार्जन मात्र होइन, आत्मनिर्भरताको आधार पनि बनेको छ । उमेरले ४० कटेकी खपाङ्गी एकल महिला हुन् । चुनौतीका बाबजुद उनले गाउँमै बसेर व्यावसायिक तरकारी खेतीमार्फत आफ्नो जीवन सहज बनाएकी छन् ।
खपाङ्गीले मौसमी र बेमौसमी तरकारी खेती गर्दै आएकी छन् । सुरुमा परम्परागत र अनुभवका भरमा खेती गर्दै आएकी उनी विभिन्न गैरसरकारी संस्थाको सहयोगपछि व्यावसायिकतातर्फ उन्मुख भएकी हुन् । संस्थाले अगुवा कृषकका रूपमा छनोट गरेपछि उनले आईपीएम (एकीकृत किरा व्यवस्थापन) तालिम पाइन् ।
'तालिमपछि रोग–किरा नियन्त्रण, जैविक मलको प्रयोग र घरमै विषादी बनाउने तरिका सिकेँ,' खपाङ्गी भन्छिन्, 'यसले उत्पादन पनि बढ्यो, खर्च पनि घट्यो ।' हाल उनले सातवटा टनेलमा सिमी, काउली, गोलभेँडा र अदुवा खेती गरिरहेकी छन् ।
तरकारी बिक्रीबाट वार्षिक करिब २ लाख रुपैयाँ आम्दानी हुने गरेको उनको भनाइ छ । यससँगै बाख्रा पालनबाट थप वार्षिक एक लाख रुपैयाँ आम्दानी हुन्छ । तरकारी र बाख्रा पालनबाट आएको आम्दानीले अहिले आफ्नो जीवन सहज चलेको खपाङ्गी बताउँछिन् ।
'पहिला घर खर्च चलाउन दाजुभाइसँग हात थाप्नुपर्ने अवस्था थियो,' उनी भन्छिन्, 'अहिले आफ्नै कमाइले पुगेको छ, दुई वटा सहकारी, आमा समूहसहित चार ठाउँमा बचत पनि गरेकी छु ।' सीमित साधन, एकल जीवन र ग्रामीण परिवेशका बाबजुद उनले मिहिनेत र सीपको बलमा आत्मनिर्भरता हासिल गरेकी छन् ।
यमुना माझी
मन्थली नगरपालिका–१ की यमुना माझीका लागि पनि तरकारी खेती आज परिवारको मुख्य आम्दानीको स्रोत बनेको छ । परम्परागत कृषिलाई व्यावसायिक ढङ्गले अघि बढाउँदै आएकी माझीले गाउँमै बसेर आफ्नो तथा परिवारको जीवनयापन सहज बनाएकी छन् ।
माझीले काउली, आलु, साग लगायतका विभिन्न तरकारी खेती गर्दै आएकी छिन् । आफ्नै खेतबारीमा उत्पादित तरकारी बिक्री गरेर उनले छोरा–छोरीको पालनपोषण र शिक्षादीक्षा दिइरहेकी छिन् । तरकारी खेतीबाट आएको आम्दानीले वार्षिक करिब एक लाख रुपैयाँ बचत गर्न सफल भएको उनी बताउँछिन् ।
उनका अनुसार उत्पादन भएका तरकारीको बजार व्यवस्थापनमा कुनै समस्या छैन । 'घर नजिकै हरेक सोमबार हाट लाग्छ,' माझी भन्छिन्, 'उत्पादन गरेको तरकारी सजिलै बिक्री हुन्छ, बाहिर लैजानै पर्दैन ।' स्थानीय बजारको सहज पहुँचले स्थानीयको मिहिनेतलाई प्रतिफल दिएको उनको अनुभव छ । गाउँमै उत्पादन र गाउँमै बिक्रीको प्रणालीले समय र खर्च दुवै वचत भएको उनको अनुभव छ ।
जानुका काफ्ले
मन्थली नगरपालिका–२ कठजोरकी जानुका काफ्ले पनि पछिल्लो तीन वर्षदेखि व्यावसायिक तरकारी खेतीमा संलग्न छिन् । उनले जेनिशा कृषि तथा पशुपन्छी फार्म दर्ता गरी गाउँमै आठवटा टनेलमार्फत टमाटर, बोडी र सिमी लगायतका तरकारी खेती गर्दै आएकी छिन् ।
टनेल प्रविधिको प्रयोगसँगै काफ्लेले उत्पादन र आम्दानी दुवै बढाएकी छिन् । 'आठवटा टनेलमा गोलभेँडा, बोडी र सिमी खेती गर्दै आएको छु,' उनी भन्छिन्, 'यो वर्ष हालसम्म तीन लाख रुपैयाँभन्दा बढी आम्दानी भइसकेको छ ।' उनका अनुसार आफूले उत्पादन गरेको तरकारीको मुख्य बजार सदरमुकाम मन्थली हो । बजार नजिकै भएकाले बिक्रीमा समस्या नआएको उनले बताइन् ।
यस वर्षको उत्पादनबाट उत्साहित काफ्लेले आगामी दिनमा खेती विस्तार गर्ने तयारीसमेत गरेकी छिन् । आधुनिक प्रविधि र निरन्तर मिहिनेतले गाउँमै बसेर व्यावसायिक कृषि सम्भव हुने उनको अनुभव छ ।
गाउँमा अहिले धेरै मानिस बस्दैनन् । बसोबास गरिरहेकाहरू पनि वैदेशिक रोजगारी, उमेर ढल्कँदै जानु, श्रम अभाव, बजारको अनिश्चितता तथा बाँदरलगायत जङ्गली जनावरको समस्याका कारण खेतीबाट क्रमशः टाढिँदै गएका छन् । यसको प्रत्यक्ष असरस्वरूप रामेछापका धेरै गाउँका खेतबारी बाझिँदै गएका छन् । तर यही बाँझो जमिनमा पम्फा खपाङ्गी, यमुना माझी र जानुका काफ्लेजस्ता महिला कृषकले सम्भावनाको बीउ रोपेका छन् ।
आधुनिक प्रविधि, टनेल खेती र नजिकैको बजारको सदुपयोग गर्दै उनीहरू गाउँमै बसेर कृषिलाई आय आर्जनको भरोसायोग्य आधार बनाइरहेका छन् । मिहिनेत, सीप र बजारको पहुँच मिल्न सके गाउँमै कृषिबाट स्वरोजगार सम्भव हुने विश्वाससहित उनीहरू कृषि कर्ममा पसिना बगाइरहेका छन् ।
गाउँमा केही हुँदैन भन्नेहरूका लागि यस्ता महिला कृषक र उनीहरूको कृषि कर्म आफैँमा उदाहरण बनेको मन्थली नगरपालिकाकी उपप्रमुख ईश्वरी बस्नेत बताउँछिन् । उनका अनुसार अहिले धेरै मानिसले गाउँमा सम्भावना देख्न छाडेका छन् । 'धेरैले गाउँमा केही हुँदैन भन्छन्,' उनी भन्छिन्, 'तर गाउँमै बसेका धेरै महिलाले साना–ठूला कृषि कामबाट निकै राम्रो परिणाम निकालिरहेका छन् ।'
बस्नेतले विशेष गरी महिलाको कृषिप्रतिको सक्रियता र लगनशीलता उल्लेखनीय रहेको बताइन् । 'महिलाहरू कृषिमा बढी अनुशासित र निरन्तर देखिन्छन्,' उनको भनाइ छ । यस्ता महिलालाई प्रविधि, तालिम र बजार व्यवस्थापनमा थप सहयोग गर्न सके बाझिँदै गएको जमिन पुनः खेतीयोग्य बनाउँदै ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउन सकिने उनको विश्वास छ । 'गाउँमै अवसर सिर्जना गर्न सकिन्छ भन्ने कुरा पनि यिनै महिलाले प्रमाणित गरिरहेका छन्,' बस्नेतले भनिन् ।
