विद्यालयबाहेकको समय सदुपयोग गरी कृषिमा रमाएका दिलबहादुर

मन्थली नगरपालिका–९ पुरागाउँस्थित स्थानापति माविमा सामाजिक विषय शिक्षक रहेका उनले विद्यालयबाहेकको समय खाली नछाडेर आफ्नै बारीमा कृषिमा भविष्य खोज्ने निर्णय गरे ।

मंसिर १२, २०८२

नवराज श्रेष्ठ

Dil Bahadur, who used his time outside of school to enjoy agriculture

What you should know

रामेछाप — मन्थली नगरपालिका–७ भटौलीका ४० वर्षीय दिलबहादुर आछामी शिक्षण पेशासँगै कृषिमा संलग्न छन् ।

श्रम र सिकाइको उपयोग गरेर उनले अरुलाई पनि गाउँमै सम्भावना देखाइरहेका छन् । मन्थली नगरपालिका–९ पुरागाउँस्थित स्थानापति माविमा सामाजिक विषय शिक्षक रहेका उनले विद्यालयबाहेकको समय खाली नछाडेर आफ्नै बारीमा कृषिमा भविष्य खोज्ने निर्णय गरे ।

२०८० सालबाट थालेकाे ड्रागन फ्रुटकाे खेती दुई वर्षमै दिलबहादुरको पहिचान बनेको छ। घर वरिपरी १ सय वटा पोलमा ४ सय ड्रागन फ्रुटका साथै आँप, अनार, कागती, केरा, कुरिलो, भूइँकटहरलगायतका फलफूलले सुक्खाग्रस्त देखिने बारी हरियाली बगैंचामा बद्लेका छन् ।

गत वर्ष उत्पादन धेरै नभए पनि यस वर्ष भने आछामीको मिहनेतले राम्रो नतिजा दिएकाे छ । बारीमा उत्पादन भएको ९ सय किलो बढी ड्रागन फ्रुट प्रतिकिलो ३ सय रुपैयाँमा बेचेर उनले २ लाख ७० हजार रुपैयाँभन्दा  आम्दानी गरेका छन् । अन्य फलफूलबाट पनि उनले आम्दानी लिन थालिसकेका छन् । 'पानीको अभाव हुने हाम्रो गाउँमा कृषि सजिलो छैन, तर निरन्तरता र लगन भए सम्भव हुने रहेछ,' आछामी भन्छन् । अहिले उनलाई आफ्नै गाउँमै कृषिमा स्वरोजगार बन्न सकिने विश्वास बढेको छ ।

२५ भन्दा बढी जातका फलफूल तथा तरकारी खेतीले उनको बारी बहुउपयोगी कृषि फार्म जस्तै बनेको छ । यही विविधीकृत खेती अहिले उनको परिवारको आम्दानीको मुख्य आधार पनि बनिरहेको छ ।

शिक्षणसँगै कृषिमा पनि सफलता मिल्दै जानुमा उनकी श्रीमती सरिता कुमारी रम्तेलको भूमिका महत्त्वपूर्ण छ। श्रीमान्को योजना र सिकाइ अनुसार कृषि कार्यमा साथ दिँदै सरिता उजाड बारीलाई हरियाली बगैंचा बनाउने यात्रामा अग्रसर भइन् । 'निरन्तर मिहनेत र थाेरै सीप भए गाउँमै कृषिबाट स्वरोजगार बन्न सकिने रहेछ,' उनले भनिन् ।

नवराज श्रेष्ठ कान्तिपुरका रामेछाप संवाददाता हुन् ।

Link copied successfully