केउरेनी र साउने क्षेत्र उच्च जोखिममा छन्। कतिपय घर भत्किसकेका छन् भने धेरै घर चर्किएर बस्नै नसकिने अवस्थामा पुगेका छन्।
What you should know
रामेछाप — रामेछापको सुनापति गाउँपालिका–३ हिलेदेवीस्थित केउरेनी, साउने, च्यामदुङ लगायतका बस्तीका पहिरोपीडित लामो समयदेखि सुरक्षित स्थानमा सारिने दिनको प्रतीक्षामा छन् ।
बस्तीभन्दा तल बग्ने खानीखोलाबाट सुरु भएको पहिरोले पूरै जमिन सरेको छ । जसका कारण तीन बस्तीका ७७ भन्दा बढी घरपरिवार तत्काल स्थानान्तरण गर्नुपर्ने अवस्थामा छन् ।
साउने–केउरेनी क्षेत्रमा २०३५ सालमै ठूलो पहिरो गएको थियो। त्यस बेला बस्ती सारिए पनि पहिरो रोकिएपछि स्थानीयहरू फेरि फर्किएर बसाइँ बसेका थिए। तर २०८१ असोज दोस्रो सातादेखि जमिन पुनः सर्न थालेपछि जोखिम बढेको थियो। त्यसपछि गत असोज १७, १८ र १९ गते परेको अविरल वर्षाले अझै विनाशकारी अवस्था पैदा गरेको हो।
अहिले विशेष गरी केउरेनी र साउने क्षेत्र उच्च जोखिममा छन्। कतिपय घरहरू भत्किसकेका छन् भने धेरै घरहरू चर्किएर बस्नै नसकिने अवस्थामा पुगेका छन्। तर सुरक्षित विकल्प नहुँदा स्थानीयहरू अझै त्यही चर्किएका घरमै जोखिम मोलेर बसिरहेका छन्।
४० वर्षीया पहिरोपीडित सीता खड्का भन्छिन्, 'एक वर्षभन्दा बढी भयो–धेरैलाई गुहार्यौं, हामी जोखिममा छौं भनेर। तर बस्ती सार्नपर्छ भन्नेबाहेक केही भएन। घर ढल्नै लागेको छ। राति सुत्दा ढुङ्गा र माटो झर्छ, डरै–डरमा बाँच्नुपरेको छ।' उनका अनुसार घाँस काट्न जाँदा कान्ला खस्छन्, खुट्टा राख्ने ठाउँ छैन, बस्ने ठाउँ छैन । स्थितिले उनीहरू पूर्ण रूपमा असहाय बनाएको छ।
'पूरै जमिन नै सरिरहेको छ। अब यो ठाउँमा बस्न सकिँदैन। सुरक्षित ठाउँमा सारिदिनुपर्छ,' खड्का भन्छिन्। सुनापति गाउँपालिकाले गत असोज महिनामै पूर्ण क्षति भएका परिवारलाई १५ हजार रुपैयाँ र आंशिक (मतान) क्षति भएका परिवारलाई ५ हजार रुपैयाँ राहत दिने निर्णय गरेको थियो। तर पहिरोपीडितले भने उक्त राहत रकम अझै नपाएको गुनासो गरेका छन्।
सुनापति गाउँपालिका–३ साउनेका राम श्रेष्ठ भन्छन्, 'गाउँपालिकाले तत्काल दिने भनेको राहत अहिलेसम्म पाएको छैन। बैङ्क खाताको केही प्रक्रिया बाँकी रहेको बताए। अहिले भने एक–दुई दिनभित्र रकम खातामा आउने जानकारी आएको छ।'
यसबीच, केही दिनअघि प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको नेतृत्वमा जिल्ला स्तरीय टोलीले जोखिमयुक्त बस्तीको स्थल निरीक्षण गरेको छ। निरीक्षणपछि पीडितहरूमा अबका दिनमा सार्थक कदम चालिने आशा बढेको श्रेष्ठ बताउँछन्। सुनापति गाउँपालिका–३ का वडाध्यक्ष कुलबहादुर थिङका अनुसार केउरेनी, साउनेका बस्तीहरू सबैभन्दा बढी जोखिममा छन्। यी बस्तीहरूका ६५ घर परिवारलाई गाउँपालिकाले स्थानान्तरणका लागि सिफारिस गरेर पठाएको उनले बताए ।
रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले केउरेनी, साउने लगायतका बस्ती पूर्ण रूपमा असुरक्षित भइसकेको स्पष्ट गर्दै ती बस्तीका कुनै पनि घर अब बस्न मिल्ने अवस्थामा नरहेको बताए।
उनका अनुसार तल्लो क्षेत्रमा बग्ने खानीखोलाबाट सुरु भएको पहिरो क्रमशः माथिल्लो भू–भागसम्म फैलिँदा सम्पूर्ण जमिन नै सर्न थालेको छ । जसका कारण पूरै क्षेत्र उच्च जोखिममा परेको छ। प्रजिअ थापाले भने, 'खानीखोलाबाट सुरु भएको पहिरोले सबै भू–भाग क्रमशः सर्दै गएकाले बस्तीभित्रका कुनै पनि घर सुरक्षित छैनन्।'
जोखिमग्रस्त ६५ घरपरिवारलाई तत्काल सुरक्षित स्थानमा सार्न आवश्यक प्रक्रिया अघि बढाइदिन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई अनुरोध गरिएको उनले जानकारी दिए।
विपद्बाट प्रभावित परिवारका लागि ‘अस्थायी आवास निर्माण अनुदान मापदण्ड–२०८१’ अनुसार लाभग्राही छनोट गरी तथ्याङ्क विपद् पोर्टलमा प्रविष्ट गरिएको तथा पहिलो किस्ता निकासाका लागि मागअनुसार पुनः ताकेता गरिएको उनले बताए ।
मंसिर ६ गते जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूले स्थलगत निरीक्षण गरी तयार पारेको प्रतिवेदन अनुसार तत्काल राहत स्वरूप ३५ थान टेन्ट र २० थान त्रिपाल उपलब्ध गराइने प्रजिअ थापाले बताए। उनका अनुसार विज्ञ टोलीबाट भएको भौगर्भिक अध्ययनले बस्ती तत्काल स्थानान्तरण नगरे उच्च जोखिम रहेको स्पष्ट भएकाले यथाशीघ्र स्थानान्तरणको प्रक्रिया अघि बढाइदिन राष्ट्रिय विपद् प्राधिकरणलाई ताकेता गरिएको छ। साथै आवश्यक सहयोग तथा सहजीकरणको लागि गृह मन्त्रालय र सहरी विकास मन्त्रालयसँग पनि अनुरोध गरिएको छ।
