माैसममा आएकाे फेरबद्ल र जनशक्तिका अभावका कारण रामेछापकाे ओडारे क्षेत्रमा गहत–मस्याङ जस्ता परम्परागत बाली लगाउने चलन हराउँदै गएको छ ।
What you should know
रामेछाप — मन्थली नगरपालिका–७ स्थित ओडारे गाउँ कुनै समय जिल्लाकै राम्रो गहत उत्पादन हुने ठाउँ मानिन्थ्यो । हरेक परिवारले सिजनमा १० मुरीभन्दा बढी गहत उत्पादन गर्थे । यहाँको मुख्य पहिचान नै गहत उत्पादन थियो ।
गहतपछि मकै र मस्याङ प्रमुख बालीका रूपमा लगाइन्थ्यो । ओडारेमा फलेको गहत मन्थलीको सोमबारे हाट तथा रामेछाप नगरपालिकाको बिहीबारे हाटमा नियमित रूपमा बिक्री हुन्थ्यो । अचेल घरमै खान पनि बाहिरकाे उत्पादन किन्नु परेकाे स्थानीय बताउँछन् ।
स्थानीयका अनुसार हाटमा एक मुरी गहत बेच्दा तीन मुरी बढी धान किन्न सकिन्थ्यो । जसले कतिपय परिवारले वर्षभरको खाद्यान्न जोहो हुन्थ्यो । गहत र मस्याङ बिक्रीबाट आम्दानी भई त्यसबेला जीवनयापन सहज थियो ।
'तर अचेल ओडारे गाउँको अवस्था पूरै उल्टिएको छ,' स्थानीय धनबहादुर माझी भन्छन्,'पहिला नफलेको वर्ष पनि १० मुरी गहत फल्थ्यो, अहिले १० माना पनि छैन ।'
माैसममा आएकाे फेरबद्ल र जनशक्तिका अभावका कारण गहत–मस्याङ जस्ता परम्परागत बाली लगाउने चलन हराउँदै गएको उनले बताए । उनले भने, 'सुख्खा ग्रस्त पाखो भिरालो जमिन भएकाले यो ठाउँको मुख्य बाली गहत, मस्याङ, तिललगायत थियो । अहिले ती बाली पनि लगाउन छाडिसके । जसका कारण भएका बारीहरू पनि बाँझै छन् ।'
पछिल्लो वर्षमा पानी पर्ने समय बद्लिँदा र कामदार अभावका कारण फापर, तिते फापर, जुनेलो, सिलाम, गहत, तिल जस्ता रैथाने बाली पूर्णरूपमा हराउँदै गएको अर्की स्थानीय हर्कमाया माझीले बताइन् । उनले भनिन्,'पहिला मकै, मस्याङ, गहत नै यहाँका पहिचान थिए। अब ती बालीले अंकुराउन समेत छाडे ।'
युवाहरू रोजगारीका लागि सहर तथा विदेशतिर लागेपछि कामदारको कमी, चाहिएका बेला पानी नपर्ने र बालीलाई नचाहिने बेला धेरै पानी पर्ने भएकाले रामेछापका अधिकांश गाउँमा रैथाने बाली उत्पादन हुन छाडेकाे स्थानीय बताउँछन् ।
अहिले गाउँका बारीमा फापर, तिते फापर, जुनेलो, सिलाम, गहत र तिलजस्ता परम्परागत बाली झन्डै हराउनै लागेको मन्थली नगरपालिका–९ पुरानागाउँकी धनमाया श्रेष्ठले बताइन् । उनका अनुसार दलहनमध्ये मस्याङ, मास, भटमास, गहत, सिमी र जौजस्ता बाली त लोपोन्मुख अवस्थामा पुगेका छन् । 'पहिले मकै र कोदोपछिको मुख्य बाली नै गहत र मस्याङ थियो,' धनमाया सम्झिन्छिन्, 'तर अचेल पुराना बालीकाे खेती गर्ने जनशक्ति पनि छैन । धेरथोर लगाएको पनि राम्रो फल्दै –फुल्दै नफलेपछि ज्यालासम्म उठ्दैन ।'
