मन्थलीमा सञ्चालनमा रहेको चिकित्सालयले स्थानीय तहहरुसँगकाे सहकार्यमा गाउँगाउँमा निःशुल्क स्वास्थ्य उपचार शिविर सञ्चालन थालेको हो ।
रामेछाप — आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले गाउँ–गाउँमा निःशुल्क स्वास्थ्य सेवा अभियान सुरु गरेको छ ।
सदरमुकाम मन्थलीमा सञ्चालनमा रहेको चिकित्सालयले स्थानीय तहहरुसँगकाे सहकार्यमा गाउँगाउँमा निःशुल्क स्वास्थ्य उपचार शिविर सञ्चालन थालेको हो ।
शनिबार सुनापति गाउँपालिका–केन्द्र हिलेदेवीमा एक दिने निःशुल्क आयुर्वेदिक स्वास्थ्य शिविर सम्पन्न गरेकाे छ । शिविरमा आयुर्वेदिक चिकित्सक डा. अच्युत रिमालको टोलीले बिरामी जाँच, परामर्श तथा निःशुल्क औषधि वितरण गरेका थिए ।
चिकित्सालयका प्रमुख दीपक कार्कीका अनुसार ग्यास्ट्रिक, बाथबाट सुरु हुने हाडजोर्नी दुखाइ, शरीर पोल्ने, झमझमाउने तथा पुरानो खोकी जस्ता रोगका बिरामी बढी आएका थिए । उनका अनुसार गाउँपालिकाको अस्पतालमा भएको शिविरबाट करिब २ सय जना बिरामीले प्रत्यक्ष सेवा प्राप्त गरे ।
सुनापति गाउँपालिका अध्यक्ष ठूलोकान्छा तामाङले शिविर प्रभावकारी देखिएको भन्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे। उनले पछिल्लो समय नसर्ने रोग मुख्य स्वास्थ्य चुनौती बनेकाे बताए ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापका अध्यक्ष नवराज पथिकले गाउँ–गाउँमा आयुर्वेदिक स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले अभियानको सुरुवात गरिएको बताए। 'पछिल्लो समय नागरिकको आयुर्वेदिक उपचारप्रतिको आकर्षण बढ्दो छ तर धेरै ग्रामीण बासिन्दा अझै सेवाबाट बञ्चित छन्। यही अवस्थालाई ध्यानमा राखेर यो अभियान सुरु गरेका हौं,' उनले भने।
मङ्सिर पहिलो साता उमाकुण्ड गाउँपालिकामा निःशुल्क स्वास्थ्य उपचार शिविर सञ्चालनको तयारी भएको अध्यक्ष पथिकले जानकारी दिए। उनका अनुसार यसअघि जिल्लाको प्रमुख शक्तिपीठ खाँडादेवी मन्दिरमा दर्शनका लागि आएका भक्तजनलाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य उपचार शिविर सञ्चालन गरिएको थियो ।
