रामेछापको उमाकुण्डमा भाइरल फ्लुका बिरामी बढ्दै, एउटै विद्यालयका १ सय ८५ विद्यार्थी बिरामी

विद्यालयले पालिकाको स्वास्थ्य शाखासँग सल्लाह लिएर संक्रमित विद्यार्थीलाई आइसोलेसनमा बस्न आग्रह गरेको छ ।

कार्तिक २५, २०८२

नवराज श्रेष्ठ

What you should know

रामेछाप — उमाकुण्ड गाउँपालिका–४ स्थित चण्डेश्वरी माध्यमिक विद्यालयका विद्यार्थी धमाधम बिरामी पर्न थालेका छन्। मंगलबारसम्म विद्यालयमा अध्ययनरत ३ सय ६९ जना विद्यार्थीमध्ये १ सय ८५ जना बिरामी परेका हुन्।

विद्यार्थीमा ज्वरो आउने, खोकी लाग्ने, टाउको दुख्ने, जोर्नी दुख्ने, बान्ता हुने लगायत लक्षण देखिने क्रम तीव्र बन्दै गएको विद्यालयका प्रधानाध्यापक रुद्रकुमार जेस्पुचाले बताए । 'केही दिनअघिदेखि नै गाउँमा यस्तो समस्या देखिन थालेको हो,' उनले भने, 'अहिले यही समस्या विद्यार्थीमा देखिएको छ।' सङ्क्रमित विद्यार्थीबाट अरू विद्यार्थीमा सर्ने भएकाले बिरामी विद्यार्थीलाई घरमै आइसोलेसनमा बस्न आग्रह गरेको पनि उनले बताए । पालिकाको स्वास्थ्य शाखासँग सल्लाह लिएर आइसोलेसनमा बस्न सुझाव दिइएको उनले सुनाए ।

उमाकुण्ड गाउँपालिका स्वास्थ्य शाखा प्रमुख अभिजित सुनुवारका अनुसार गाउँपालिकाभित्र भाइरल फ्लु र  सर्ने खालको ब्याक्टेरिया सङ्क्रमण देखिएको छ। उनका अनुसार कार्तिक १६ गतेदेखि भाइरल फ्लु र  सर्ने खालको ब्याक्टेरिया सङ्क्रमण देखिन थालेको हो । कार्तिक १६ देखि २५ गतेसम्मको अवधिमा बिरामी परेका वडा नं. १ मा ६ जना, वडा नं २ मा २५ जना, वडा नं ३ मा १८ जना र वडा नं ४ मा ९४ जना अहिले स्वास्थ्य संस्थाहरूमा उपचार गराइरहेका स्वास्थ्य शाखा प्रमुख  सुनुवारले बताए ।

त्यसै गरि वडा नं. ५ मा १६ जना, वडा नं. ६ मा १०९ जना र वडा नं. ७ मा ७ जना भाइरल फ्लुका बिरामीको उपचार भइरहेको छ । सबै वडाको स्वास्थ्य संस्थामा गरी अहिले १ सय ३९ जना महिला र १ सय ४४ जना पुरुष गरी २ सय ८३ जना भाइरल फ्लुका बिरामीको उपचार भइरहेको उनले बताए ।

सबै वडाका माध्यमिक विद्यालयका ४ सय १३ जना विद्यार्थी बिरामी परेको उनले बताए । 'अधिकांश बिरामीमा भाइरल फ्लुको लक्षण ज्वरो, खोकी, टाउको दुख्ने, शरीर जोर्नी दुख्ने, बान्ता हुने आदि देखिएका छन्,' सुनुवारले भने। केही बिरामीमा सर्ने खालको कडा ब्याक्टेरिया पनि भेटिएकाले उच्च सतर्कता अपनाउन गाउँपालिकाले आग्रह गरेको छ ।

नवराज श्रेष्ठ कान्तिपुरका रामेछाप संवाददाता हुन् ।

Link copied successfully