परिवारका सबै सदस्यलाई मासिक ४ हजार रुपैयाँका दरले पाइने सामाजिक सुरक्षा भत्ता उपयोग गरेर रामेछापका हायू समुदायले व्यावसायिक तरकारी खेती, बाख्रापालन, कुखुरा पालनजस्ता साना उद्यम गरिरहेका छन् ।
रामेछाप — गुणस्तरीय शिक्षा र रोजगारीको खोजीमा सहरतिर जाने चलन बढेसँगै गाउँहरू क्रमशः सुनसान बन्दै गएका छन् ।
चहलपहल देखिने प्रायः बस्तीहरू अहिले मानिसविहीन बनेका छन् । गाउँका धेरैजसाे घरमा वर्षौंदेखि ताला झुन्ड्याइएका छन्, कतिपय त बिस्तारै भग्नावशेषमा परिणत भइरहेका छन् ।
सहर केन्द्रित जीवनशैलीले गाउँको पुरानो स्वरूप नै बदलिदिएको छ । गोठभरि गाईबस्तु पाल्ने र खेतबारीमा पसिना बगाउने चलन करिब हराउने अवस्थामा पुगेको छ । गाउँमा रहेका मानिसले पनि बस्तुभाउ पाल्ने बानी त्यागेका छन् । बाँदर र जंगली जनावरका कारण खेतीपातीमा अरू बढी रुचि पनि देखिँदैन । गाउँका धेरै खेतीयोग्य जमिन आज बाँझै परेका छन् ।
बदलिँदै गएका यी गाउँकै बीच रामेछाप नगरपालिका–७ मुगानका ७० वर्षीय रुद्रबहादुर हायू र उनकी ६७ वर्षीया श्रीमती सानुले भने गाउँमै जीवनको अर्थ खोजेका छन् । उमेरको ढल्किँदो चरणमा पुगेका हायू दम्पती पशुपालन र खेतीपाती गरेर गाउँमै रमाएका छन् । उनीहरूको गोठमा अहिले गाई, गोरु र भैँसी गरी डेढ दर्जन बढी चाैपाया छन् । उनीहरूले बाख्रा पनि पालेका छन् । हायू दम्पतीको मुख्य आम्दानी यिनै कृषि र पशुपालन हुन् । आठ सन्तान हुर्काएर सबैलाई शिक्षा–दीक्षा र कर्ममार्गमा अघि बढाएका उनीहरू अहिले गाउँमा दुई जना मात्रै छन् ।
राज्यले प्रदान गरेको सामाजिक सुरक्षा भत्ता पनि उनीहरूको लागि ठूलो सहारा बनेको छ । महिनामा प्राप्त हुने आठ हजार रुपैयाँ उनीहरूले पशुपालन र खेतीमा लगानी गर्छन् । यही कमाइ र श्रमबाट उनीहरूले आफ्नो बुढ्यौली जीवन आत्मनिर्भर बनेका छन् ।
सामाजिक सुरक्षा भत्ता मासिक चार हजार रुपैयाँ पुगेपछि आफहरूकाे आर्थिक मात्र नभई सामाजिक जीवनशैलीमा समेत परिवर्तन आएको रुद्रबहादुरले बताए । उनी भन्छन्, 'सरकारले भत्ता दिन थालेपछि खान–लाउनको चिन्ता छैन । भत्ताबाटै बचत रकम पशुपालन र तरकारी खेतीमा लगानी गर्न थालेका छौँ ।' उनका अनुसार, गाउँका अन्य वृद्धवृद्धाले पनि सामाजिक सुरक्षा भत्ता उपयोग गरेर व्यावसायिक तरकारी खेती, बाख्रापालन, कुखुरा पालनजस्ता साना उद्यम थालेका छन् ।
हायू जातिको पुर्ख्याैली पेसा बाँसको चोयाबाट मान्द्रो, डोको, डालो, नाङ्लो, चाल्नो र भकारी बुनेर बेच्ने थियो । त्यस्तै, उनीहरू बारीमा कपास उत्पादन गरेर कपडा पनि आफैँ बुन्थे । पुस्तान्तरण नहुँदा याे परम्परागत सीप र पेशा क्रमशः लोप हुँदै गएका छन् । तर रुद्रबहादुरका आँगनमा बाँसको चोयाबाट बनाइएको डोको, डालो अझै छन् । उनले परम्परागत सीप र पेशा पनि छाडेका छैनन् ।
सामाजिक सुरक्षा भत्ताले हायू समुदायको जीवनस्तरमा उल्लेख्य सुधार ल्याएको रामेछाप नगरपालिका–७ मुडाजोरकी ५२ वर्षीया नरमाया हायू बताउँछिन् । 'पहिले बाँच्नका लागि सङ्घर्ष गर्नुपर्थ्याे, अब त खान–लाउन सजिलो भएको छ,' नरमायाले भनिन् ।
उनका अनुसार भत्ताको सदुपयोग गर्नेले आफ्नो आर्थिक अवस्था सुधार गर्दै घर–घडेरीसम्म जोडेका छन् । तर केहीले अझै त्यसको महत्त्व बुझ्न सकेका छैनन् । 'हाम्रो परिवारमा १० जना छाैं । अहिले महिनाको ४० हजार रुपैयाँ भत्ता आउँछ । यही रकमले खेतीपाती र घर खर्च दुवै सहज भएको छ,' उनले भनिन्, 'सामाजिक सुरक्षा भत्ता केवल आर्थिक सहयोग मात्र होइन, आत्मनिर्भरता र सम्मानपूर्वक बाँच्ने आधार बनेको छ ।'
अल्पसंख्यक समुदायअन्तर्गत पर्ने हायू एक लोपोन्मुख जाति हो । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालभर हायू समुदायको जनसङ्ख्या जम्मा ३ हजार ६९ मात्र रहेको छ । जसमध्ये रामेछापमा १ हजार १२६ जना बसोबास गर्छन् । रामेछाप नगरपालिका–७ को मुडाजोर क्षेत्रलाई हायू जातिको उद्गमथलो मानिन्छ ।
हाल रामेछाप नगरपालिका–६, ७ र ८ वडामा हायू समुदायको बसोबास छ । रामेछाप नगरपालिकाको तथ्यांक अनुसार सबैभन्दा धेरै वडा ७ को सुकाजोरमा ६९७ भन्दा बढी हायू समुदायकाे जनसंख्या छ । जिल्लाभरका हायू समुदायका १ हजार ९ जना अहिले मासिक चार हजार रुपैयाँका दरले सामाजिक सुरक्षा भत्ता पाइरहेका छन् ।
