चार दिनदेखिको वर्षाले काटेको धान खैतमै डुब्यो

गत बुधबारदेखिको वर्षाका कारण छ महिनादेखि गरेको परिश्रम खेर जाने डरले रामेछापका किसान यतिबेला चिन्तित भएका छन् ।

कार्तिक १५, २०८२

नवराज श्रेष्ठ

The four-day rain has submerged the harvested rice fields.

रामेछाप — निरन्तरको बेमौसमी वर्षाले रामेछापका किसानको धानबालीमा ठूलो क्षति पुर्‍याएको छ । गत बुधबारदेखिको वर्षाका कारण छ महिनादेखि गरेको परिश्रम खेर जाने डरले किसान चिन्तित भएका छन्।

यस वर्ष रामेछापमा कात्तिकको पहिलो हप्तादेखि नै धान पाक्न सुरु भएको थियो। कतिपय किसानले तिहारअघि नै आफ्नो खेतको धान भित्र्याइसकेका थिए भने धेरै किसानले तिहारपछि भित्र्याउने तयारी गरेका थिए। तर, सोमबारदेखि मौसम एक्कासि बिग्रियो। धेरै किसानले यसलाई सामान्य ठानेर धमाधम धान काटेर निहिनसहित सुकाउने तयारी गरे, तर बुधबारदेखि फेरि वर्षा सुरु भयो।

मन्थली नगरपालिका–६ कुनौरीका गोपाल माझीका अनुसार यो वर्ष खेतमा राम्रो धान फलेको थियो। तर थन्क्याउने बेलामै आएको बेमौसमी झरीले सबै मेहनत खेर गएको छ। उनले भने, 'यो वर्ष बोक्से फाँट र कुनौरीको बगर फाँटमा राम्रो धान फलेको थियो। बोक्से फाँटका किसानले धान थन्क्याइसकेका थिए, तर बगर फाँटमा काटेको धान भोलिपल्टदेखि परिरहेको झरीले पूरै पानीमा डुबेको छ।'

The four-day rain has submerged the harvested rice fields.

निरन्तर चार दिनदेखि परेको बेमौसमी वर्षाले रामेछापका किसानहरू ठूलो क्षतिको सामना गर्न बाध्य भएका मन्थली नगरपालिका–७ का किसान सुरज श्रेष्ठले बताए । उनका अनुसार काटेर सुकाइएका धान अहिले पानीमा डुबेर उम्रने अवस्थामा पुगिसकेको छ।

श्रेष्ठले भने, 'यो बेलामा यसरी झरी पर्छ भन्ने हामीले कल्पना पनि गरेका थिएनौँ। तर एक्कासि सुरु भएको वर्षा चार दिनदेखि निरन्तर परिरहेको छ। यसले यस वर्षको मुख्य बाली धानमा ठूलो क्षति पुर्‍याएको छ ।'

उनका अनुसार वर्षा सुरु हुनुअघि काटेर निहिनमा सुकाउन राखिएको सबै धान पानीमा डुबेको छ भने खेतमा बाँकी रहेको धान पनि धेरै मात्रामा ढलेको छ।

गत वर्षको तुलनामा यो वर्ष धानको उत्पादन राम्रो हुने आशा गरेका किसानहरू अहिले निराश भएका उनले बताए ।

The four-day rain has submerged the harvested rice fields.

मुख्य बाली धान भित्र्याउने चटारोमा रहेका किसानलाई हालको बेमौसमी वर्षाले समस्या बनाएको मन्थली नगरपालिका कृषि विकास उपशाखाका सहायक कृषि अर्थ विज्ञ योवनकुमार सुनुवारले बताएका छन्।

उनका अनुसार तिहार लगत्तै किसानहरू धान भित्र्याउन व्यस्त थिए। 'कतिपय किसानले तिहारअघि नै धान भित्र्याइसकेका थिए। तर भित्र्याउने बेलामै अचानक मौसम बदलिएपछि किसानहरू प्रभावित भएका छन्,' उनले भने।

सुनुवारका अनुसार यो मौसमको पूर्वानुमान केही दिनअघि नै गरिएको थियो। 'मौसमसम्बन्धी सूचना नियमित रूपमा पछ्याउने किसानले धान जोगाउन सकेका छन्,' उनले थपे, 'तर जानकारी नपाएका किसानको धान भने यस बेमौसमी वर्षाले क्षति पुर्‍याएको छ।'

The four-day rain has submerged the harvested rice fields.

कृषि विकास कार्यालय रामेछापका अनुसार, जिल्लामा दुई नगरपालिका र छ वटा गाउँपालिका रहेका छन्। यहाँ कुल ७ हजार ८ सय ५९ हेक्टर क्षेत्रफल धान खेतीयोग्य रहेको छ। चालु वर्षमा ७ हजार २ सय हेक्टरभन्दा बढी जमिनमा धान रोपाइँ गरिएको छ। गत वर्ष रामेछापमा ७ हजार ८ सय हेक्टर क्षेत्रमा प्रतिहेक्टर औसत २ दशमलव ५४ मेट्रिक टनका दरले करिब २० हजार १५ मेट्रिक टन धान उत्पादन भएको कृषि विकास कार्यालयको तथ्यांक छ।

नवराज श्रेष्ठ कान्तिपुरका रामेछाप संवाददाता हुन् ।

Link copied successfully