दुई वर्ष ढिलाे गरी २०८० साउनमा निर्माण भएकाे चिस्यान केन्द्रकाे परीक्षण भइसके पनि हालसम्म प्रयोगमा आउन सकेको छैन ।
What you should know
रामेछाप — रामेछापको मन्थली नगरपालिका–१ सानीमदौमा सात करोड लागतमा निर्माण भएको चिस्यान केन्द्र अलपत्र बनेको छ । बागमती प्रदेश सरकार र मन्थली नगरपालिकाको ७०/३० लागत साझेदारीमा निर्माण गरिएको चिस्यान केन्द्र सञ्चालनमा आउन नसकेको हो ।
झन्डै सात करोड रुपैयाँ लागतमा निर्माण गरिएको उक्त केन्द्र इजी इन्फ्रा प्रालि काठमाडौंले २०७८ असारभित्र सम्पन्न गर्ने गरी जिम्मा लिएको थियो । तर निर्माणमा दुई वर्ष ढिलाइ भई २०८० साउनमा मात्रै काम सकिएको थियो । चिस्यान केन्द्रकाे परीक्षण भइसके पनि हालसम्म प्रयोगमा आउन सकेको छैन ।
स्थानीय शान्ता सुवेदीका अनुसार यसको प्रत्यक्ष असर जुनार, किबी, आलु र तरकारी उत्पादनमा आश्रित किसानमाथि परेको छ । उनले भनिन्, ‘करोडौं लगानी गरिएको संरचना बन्द छ । चिस्यानकाे सुविधा नहुँदा किसान समस्यामा छन् ।’
पाँच सय मेट्रिक टन क्षमताको याे चिस्यान केन्द्र जिल्ला सदरमुकाममा मन्थली र रामेछाप नगरपालिकासहित जिल्लाभर उत्पादन भएका फलफूल तथा तरकारी जन्य उपज भण्डारण गर्ने उद्देश्यले निर्माण गरिएको हो ।
तर केही ठाउँका किसानले अपायक भएकाले वैकल्पिक व्यवस्था पनि गरिनुपर्ने माग गरेका छन् । रामेछाप नगरपालिका–६ का कृषक पुष्करबहादुर कार्कीका अनुसार चिस्यान केन्द्र किसानलाई अपायक स्थानमा निर्माण भएको बताए । उनले भने, ‘ओख्रेनीबाट २५ किलोमिटर टाढा पर्छ । एक त गाडीको समस्या छ, अर्कोतर्फ कच्ची सडकमा सामान ढुवानी गर्दा बिग्रने सम्भावना हुन्छ । भोलीका दिनमा चिस्यानमा राखेर एक–दुई महिनापछि निकाल्दा फाइदा भन्दा घाटा हुने देखिन्छ ।’ चिस्यान केन्द्र अपायक स्थानमा भएकाले कृषि उपज उत्पादन हुने बस्तीमा सानासाना ‘कोल्ड च्याम्बर’ पनि बनाउनुपर्ने उनले बताए ।
चिस्यान केन्द्रमा बागमती प्रदेशको ४ करोड ९७ लाख र मन्थली नगरपालिकाको २ करोड १३ लाख लगानी रहेको छ । केन्द्रको मुख्य संरचना निर्माण भए पनि न्यूनतम पूर्वाधार जस्तै घेरबार, कर्मचारी निवास र शौचालय अझै बनिसकेका छैनन् ।
यस वर्ष न्यूनतम पूर्वाधार निर्माणका लागि प्रदेश सरकारले ५० लाख बजेट विनियोजन गरेको मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले जानकारी दिए । उनले भने, ‘धेरै प्रयासपछि यस वर्ष मात्र प्रदेशबाट ५० लाख रुपैयाँ विनियोजन भएको छ । यो बजेटबाट बाँकी काम तत्काल सुरु गर्ने तयारी थियो । तर कार्यविधि तयार गरेर मात्र बजेट पठाउने भनिएपछि काम अघि बढ्न सकेको छैन ।' अब प्रदेश सरकारले कार्यविधि र बजेट पठाएपछि नगरपालिकाले ठेक्का लगाएर काम अघि बढाउने उनले बताए ।
