गत वर्षको तिहारमा गाउँभरि ढकमक्क फुलेका सयपत्री र मखमली फूलले रौनक ल्याउने बारीहरू यसपाली सुनसान छन् । फूल नफुल्दा अब दाजुभाइलाई भाइटीकामा माला लगाउने र घर सजाउने फूलकै अभाव हुने चिन्ता सुरु भएको छ ।
रामेछाप — तिहार नजिकिँदै गर्दा गाउँघरका बारी, पाखा र बाटाहरू सयपत्री र मखमली फूलले ढकमक्क हुने रामेछापका बस्तीहरू यसपाली भने सुनसान देखिन्छन् । पहिलाजस्तै फूलको रङ्गिन दृश्यले सजाउने धेरै गाउँको वातावरण यो वर्ष हराए जस्तै बनेको छ ।
गाउँका अधिकांश घरबारीमा किसानहरूले कोदो रोप्दा सँगसँगै सयपत्री र मखमलीका बिरुवा पनि रोप्ने गर्छन् । कतिले फूल च्यातेर छर्ने पनि गरेका छन् ।
असोज–कात्तिक लागेपछि ती फूलहरू ढकमक्क फुल्थे र गाउँभरि तिहार आएको संकेत दिने गर्थे । तर यो वर्ष भने त्यस्ता दृश्य दुर्लभ जस्तै बनेका छन् । गएका तिहारहरूमा फूलको रौनकले ढाकिने बारीका पाटाहरू अहिले हरियो कोदो र अन्य बालीले मात्र भरिएका छन् ।
गत वर्षको तिहारमा गाउँभरि ढकमक्क फुलेका सयपत्री र मखमली फूलले रौनक ल्याउने बारीहरू यसपाली सुनसान छन् । फूल नफुल्दा अब दाजुभाइलाई भाइटीकामा माला लगाउने र घर सजाउने फूलकै अभाव हुने चिन्ता सुरु भएको छ ।
मन्थली नगरपालिका–९ पुरागाउँकी रश्मि श्रेष्ठ भन्छिन्, ‘म पढ्नका लागि काठमाडौंमा बस्छु, तर घरमा परिवारले सधैंझैं कोदो रोप्दा फूल पनि रोपेछन् । तर यसपाली बारीमा फूल फुलेन । किन नफुलेको हो, बुझ्न सकिएन,’ उनी थप्छिन्, ‘अब तिहार नजिकिँदै छ, तर दाजुभाइलाई एउटा–एउटा माला दिने फूल पनि छैन, घर सजाउन त झन् झन्झट नै भयो ।’
रामेछाप नगरपालिका–१ का मदनबहादुर बुढाथोकीका अनुसार यो वर्ष गाउँभरि फूल नफुल्दा तिहारको रौनक नै हराएको अनुभव भएको छ । उनी भन्छन्, ‘पहिला गाउँघरका बारी सयपत्री र मखमली फूलले ढाकिएका हुन्थे, जसले तिहारको माहौल नै फरक बनाउँथ्यो । तर यो वर्ष बारीमा फूल फूलेका छैनन्, तिहार पनि उजाड लाग्दो छ । यो वर्ष फूल किन नफुले अचम्मै लागेको छ ।’
फूल खेती गर्ने किसानहरूको चासो घट्नु, हावापानी र माटोको प्रभावजस्ता कारणले यसवर्ष फूल उत्पादन घटेको हुनसक्ने स्थानीयको अनुमान छ ।
घट्दै व्यावसायिक फूल खेतीको आकर्षण
तिहार नजिकिँदा खेतबारी ढकमक्क सयपत्री र मखमली फूलले रङ्गिने मन्थली नगरपालिका–५ सुनारपानीको पाखो यसपालि भने उजाड छ । लामो समयदेखि व्यावसायिक पुष्प खेती गर्दै आएका स्थानीय रामबहादुर साहीले यस वर्ष फूल खेती गरेनन् ।
२०५३ सालदेखि काठमाडौंमा नर्सरी व्यवसाय गर्दै आएका शाहीले चार वर्षअघि गाउँ फर्किएर भदौरे कालिका कृषि फर्म दर्ता गरी करिब पाँच रोपनी क्षेत्रफलमा पुष्प खेती गर्दै आएका थिए ।
तिहार नजिकिँदा सयपत्री र मखमली फूलको माग उच्च हुने भएकाले उनी विगतमा फूल बिक्री र वितरणमा निकै व्यस्त हुने गर्थे । तर यो वर्ष भने उनको फर्ममा फूल खेतीको सट्टा ड्रागन फ्रुट र अमिलो जातका फलफूलका बिरुवा मात्र फस्टाइरहेका छन् ।
शाही भन्छन्, ‘यो वर्ष पुष्प खेती गरिएन, किनभने फलफूलका विरुवाको जराले फूल खेतीमा असर गर्न सक्ने देखियो । त्यसैले यसपालि फलफूल र नर्सरीमै ध्यान केन्द्रित गरिएको छ ।’
उनका अनुसार रामेछापमा व्यावसायिक रूपमा फूल खेती गर्ने किसानको सङ्ख्या अहिले शून्य जस्तै छ । ‘फूल खेतीको राम्रो सम्भावना भए पनि किसानले त्यसतर्फ ध्यान नदिँदा खेती विस्तार हुन सकेको छैन,’ शाहीको गुनासो छ । रामेछापमा विगतमा सयपत्री र मखमली फूलको उत्पादन स्थानीय माग मात्रै नभई आसपासका जिल्लामा पनि पुग्ने गर्थ्यो । तर पछिल्ला वर्षमा व्यावसायिक फूल खेतीप्रति किसानको चासो घट्दै गएको देखिन्छ ।
