पछिल्ला ६ महिनादेखि चिकित्सकले दिएको औषधिलेसमेत काम नगरेपछि परिवारको सुरक्षाका लागि उनलाई कोठामै थुनेर राख्न बाध्य भएको बताइन् ।
रामेछाप — मानसिक समस्याका कारण एक महिनादेखि कोठामा थुनिएका रामेछापको खाँडादेवी गाउँपालिका–२ चुल्ठेपानीका २३ वर्षीय दिनेश बुढाथोकीको मंगलबार उद्धार गरिएको छ ।
मानव सेवा आश्रम, काठमाडौंबाट आएको टोलीले स्थानीय पालिका र वडा कार्यालयको सहयोगमा बुढाथोकीलाई उद्धार गरी उपचारका लागि काठमाडौं लगेको हो ।
मानसिक समस्याले नियन्त्रण बाहिर पुगेपछि परिवारले सुरक्षाका दृष्टिले उनलाई फलामको बार लगाइएको कोठामा थुनेर राख्न बाध्य भएको थियो । खाँडादेवी गाउँपालिका–२ का वडा अध्यक्ष केशव कुमार प्रधानका अनुसार दिनेश विगत एक महिनादेखि त्यही कोठामा बन्द अवस्थामा थिए ।
‘उनी मानसिक समस्याबाट पीडित थिए र परिवारका सदस्यलाई देख्ने बित्तिकै आक्रमण गर्ने गर्थे,’ वडाध्यक्ष प्रधानले भने, ‘त्यसैले परिवारले असुरक्षा महसुस गर्दै उनलाई फलामको ग्रील भएको कोठामा राख्न बाध्य भयो।’
दिनेशका ८१ वर्षीय पिता यमबहादुर बुढाथोकीले छोराको उद्धारसँगै फेरि उपचारको आस पलाएको बताए । उनी यमबहादुरका पाँच भाइमध्ये कान्छा छोरा हुन् । छोराको उद्धारका क्रममा आँखामा आँसु रोक्न नसकेका यमबहादुरले भावुक हुँदै भने, ‘हामीले सके जति उपचार गर्यौं, तर केही भएन । अब निको हुने आस पलाएको छ ।’
दिनेशकी भाउजू मनीषा बुढाथोकीका अनुसार २०७२ सालको भूकम्पपछि उनलाई मानसिक समस्या देखिन थालेको हो । पछिल्ला ६ महिनादेखि चिकित्सकले दिएको औषधिलेसमेत काम नगरेपछि परिवारको सुरक्षाका लागि उनलाई कोठामै थुनेर राख्न बाध्य भएको बताइन् ।
‘परिवारले सकेको सबै उपचार गर्यो,’ उनले भनिन्, ‘अब लैजान बाँकी अस्पताल पनि छैन होला । अस्पताल मात्रै होइन, धामी–झाँक्री सबै ठाउँ धायौँ, तर निको भएन । तीन वर्षभन्दा बढी सुधार गृहमा राखेर पनि उपचार गरियो, तर केही सुधार देखिएन ।’
उनका अनुसार पछिल्ला महिनामा औषधिले असर गर्न छाडेपछि दिनेश अत्यन्त आक्रामक बन्दै गए । ‘औषधि काम नगरेपछि उहाँ सबैलाई जे पाउनुभयो, त्यसैले आक्रमण गर्न थाल्नुभयो,’ उनले भनिन्, ‘त्यसपछि सिङ्गो परिवार नै त्रासमा बाँच्न बाध्य भयौँ ।’
खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठका अनुसार दिनेशलाई फलामको ग्रील र शौचालयसहितको कोठामा थुनेर राखिएको अवस्थामा उद्धार गरिएको हो । ‘पालिकाको पहलमा मानव सेवा आश्रम, काठमाडौंको तीन जनाको टोलीले गाउँमै पुगेर उद्धार गरेको हो,’ अध्यक्ष श्रेष्ठले भने । उद्धारपछि उपचारका लागि तत्कालका लागि गाउँपालिकाले एक लाख रुपैयाँ सहयोग उपलब्ध गराउने अध्यक्ष श्रेष्ठले बताए ।
उनका अनुसार २०७२ सालको भूकम्पपछि त्रासका कारण दिनेशमा मानसिक समस्या देखिन थालेको थियो । ‘परिवारले लगातार उपचार गर्दै आएको थियो, केही समय सुधार हुने र फेरि समस्या बल्झिने क्रम दोहोरिँदै गयो,’ उनले भने ।
