निर्वाचन आयोगले १६ वर्ष उमेर पूरा भई नेपाली नागरिकता प्राप्त गरेकालाई मतदाता नामावलीमा नाम दर्ता गर्न अनुमति दिए पनि मतदानको अधिकार भने १८ वर्ष पुगेपछि मात्र प्रयोग गर्न सकिनेछ ।
What you should know
रामेछाप — प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचन मिति तोकेका छन् । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार तोकिएको मितिमै निर्वाचन सम्पन्न गर्ने तयारीमा जुटेको छ ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचन मिति तोकेका छन् । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार तोकिएको मितिमै निर्वाचन सम्पन्न गर्ने तयारीमा जुटेको छ ।
निर्वाचन आयोगले निर्धारित मितिमा निर्वाचन गराउने उद्देश्यले असोज ९ गतेदेखि देशभर मतदाता नामावली सङ्कलन गरिरहेकाे छ । यससँगै रामेछापमा पनि १६ वर्ष पूरा गरेका नयाँ मतदाताको उत्साह र चहलपहल बढ्न थालेको छ ।
जिल्ला निर्वाचन कार्यालय रामेछापमा दैनिक नयाँ मतदाता थपिँदै छन् । बिहानैदेखि साँझसम्म नागरिकता बोकेर आउने युवाको चहलपहल बढेको छ । मतदाता नामावलीमा नाम दर्ता गर्न बिहानै निर्वाचन कार्यालय पुगेकी मन्थली नगरपालिका–१ की प्रेमिका श्रेष्ठ पहिलो पटक नाम दर्ता गर्न पाउँदा निकै उत्साहित भएको बताइन् । अब म पनि देशको नेतृत्व छनोटमा सहभागी हुन सक्छु भन्ने गर्व महसुस भइरहेको छु,’ उनले भनिन् ।
त्यस्तै, मन्थली नगरपालिका–९ पुरानागाउँका दिलराज गिरीले निर्वाचनमा भाग लिनकै लागि आफू विदेशबाट आएको बताए । 'नयाँ पुस्ताको मतले देशको दिशा निर्धारण गर्न सक्छ ।अहिले नै नाम दर्ता गरेर सचेत नागरिकको जिम्मेवारी पूरा गर्न आएको हुँ,' उनले भने । 
जिल्ला निर्वाचन अधिकृत नारायण लामिछानेका अनुसार असोज ९ गतेदेखि कार्यालयमा दैनिक ४० देखि ५० जना नयाँ मतदाताले नाम दर्ता गराइरहेका छन् । 'यो वर्ष युवा पुस्ताको रुचि र सहभागिता उल्लेखनीय रूपमा बढेको छ,’ उनले भने, 'अघिल्ला निर्वाचनमा भन्दा यो पटक युवा मतदाताको उत्साह धेरै देखिएको छ।’
उनका अनुसार देशभरका कुनै पनि निर्वाचन कार्यालयबाट नाम दर्ता गर्न सकिने र रामेछापमा अत्यधिक भीड देखिए पनि दर्ता प्रक्रिया सहज र व्यवस्थित रूपमा अघि बढिरहेको छ । निर्वाचन आयोगले १६ वर्ष उमेर पूरा भई नेपाली नागरिकता प्राप्त गरेकालाई मतदाता नामावलीमा नाम दर्ता गर्न अनुमति दिएको छ, तर मतदानको अधिकार भने १८ वर्ष पुगेपछि मात्र प्रयोग गर्न सकिनेछ ।
मतदातातर्फ उत्साह बढेको देखिए पनि रामेछापका राजनीतिक दलहरू भने आगामी निर्वाचनले छोएको छैन। निर्वाचन नजिकिँदै जाँदा पनि दलहरूको गतिविधि र राजनीतिक सरगर्मी भने शून्य जस्तै छ ।
