खुर्कोट-मन्थली-खिम्ती-मिल्ती सडकमा अब रात्रिकालीन आवागमन पनि खुला

यात्रा सहज भए पनि सडकका केही भागमा जोखिम कायमै रहेकोले ट्राफिक नियमको पूर्ण पालना गर्दै सतर्कताका साथ यात्रा गर्न जिल्ला प्रशासनले आग्रह गरेको छ।

आश्विन २१, २०८२

नवराज श्रेष्ठ

Night traffic is also open on Khurkot-Manthali-Khimti-Milti road

रामेछाप — गत आइतबारदेखि रामेछाप प्रशासनले रात्रिकालीन आवागमन निषेध गरेको खुर्कोट-मन्थली-खिम्ती-मिल्ती सडक खण्डमा अब दिन र रात दुवै समयमा सवारी सञ्चालन गर्न सकिने भएको छ । 

जिल्ला प्रशासन कार्यालय, रामेछापले अविरल वर्षाका कारण बाढी र पहिरोको जोखिम देखिएपछि गरिएको आवागमन निषेध मंगलबारदेखि फुकुवा गरेको हो। यसअघि असोज १९ गतेदेखि असोज २४ गतेसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म रात्रिकालीन आवागमनमा रोक लगाएको थियो।

हाल वर्षा रोकिएर सडकको अवस्था सामान्य बनेकाले एम्बुलेन्स, अत्यावश्यक सेवा सवारी मात्र नभई सबै प्रकारका सार्वजनिक तथा निजी सवारी साधनलाई अवरुद्ध नभई सञ्चालन गर्न अनुमति दिइएको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले बताए ।

यात्रा सहज भए पनि सडकका केही भागमा जोखिम कायमै रहेकोले ट्राफिक नियमको पूर्ण पालना गर्दै सतर्कताका साथ यात्रा गर्न जिल्ला प्रशासनले आग्रह गरेको छ। स्थानीय बासिन्दा र व्यवसायीले सडक खुल्दा राहत महसुस गरेका छन्। 

गत शनिबार बिहानदेखि आइतबारसम्म अविरल वर्षाले रामेछापलाई छोटो दुरीमा राजधानी काठमाडौँसँग जोड्ने बिपी राजमार्ग अवरुद्ध भएको छ । बाढी र पहिरोका कारण बीपी राजमार्ग बन्द भएपछि अहिले सोलुखुम्बु, ओखलढुङ्गा र रामेछापबाट छुट्ने साना तथा ठूला सवारीसाधनहरू पुष्पलाल मार्ग हुँदै मन्थली-चरिकोट मार्ग पार गरेर अरनिको राजमार्ग हुँदै राजधानी गइरहेका छन् ।

नवराज श्रेष्ठ कान्तिपुरका रामेछाप संवाददाता हुन् ।

Link copied successfully