असोज १९ देखि २४ शुक्रबारसम्म प्रत्येक साँझ ५ देखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको हो ।
रामेछाप — अविरल वर्षाले सडकमा जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय रामेछापले खुर्कोट–मन्थली–खिम्ति–मिल्ती सडक खण्डमा रात्रिकालीन सवारी आवागमन निषेध गरेको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार असोज १७ देखिको वर्षाका कारण यात्रु तथा सवारी साधनलाई बाढी–पहिरोको सम्भावित जोखिमबाट जोगाउन असोज १९ देखि २४ शुक्रबारसम्म प्रत्येक साँझ ५ देखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको हो ।
उक्त अवधिमा एम्बुलेन्स र अत्यावश्यक सेवाका सवारी साधनबाहेक सबै प्रकारका सार्वजनिक तथा निजी यात्रुवाहक सवारी साधन चलाउन नपाइने प्रशासनले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले यात्रुवर्गमा पर्न सक्ने असुविधाप्रति क्षमायाचना गर्दै सबैलाई सतर्क रहन र सुरक्षालाई प्राथमिकता दिन आग्रह गरेका छन् ।
