रामेछाप–कारागार कार्यालय रामेछापमा रहेका कैदीबन्दीहरूले बिहीबार बिहान सामूहिक रूपमा भाग्ने प्रयास गर्दा सुरक्षाकर्मीले गोली चलाउँदा दुई जनाको मृत्यु भएको छ ।
घटनामा घाइते भएका १४ मध्ये छ जना गम्भीर भएकालाई थप उपचारका लागि रिफर गरिएको छ । रामेछाप अस्पतालका कार्यवाहक मेडिकल सुपरिटेन्डेन्ट डा. अमित कुमार शाहका अनुसार बिहीबार बिहान कारागारभित्र गोली लागेका १४ कैदीबन्दीलाई अस्पताल ल्याइएको थियो ।
‘त्यसमध्ये दुई जनाको मृत्यु भयो, छ जनालाई रिफर गरिएको छ र बाँकी छ जना अस्पतालमै भर्ना छन्,’ शाहले बताए । मृत्यु हुनेमा कर्तव्यज्यान र जबर्जस्ती करणी तथा मानव बेचबिखन मुद्दामा सजाय भोगिरहेका दुई कैदीबन्दी रहेको जिल्ला कारागारले जनाएको छ ।
रामेछाप नगरपालिका–८ डाँडामा अवस्थित कारागारमा हाल ३०० भन्दा बढी कैदीबन्दी छन् । सेनासहित नेपाल प्रहरी र सशस्त्र प्रहरीले कारागारलाई नियन्त्रणमा लिएपछि अहिले अवस्था शान्त रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
हालै देशभरकै कारागारमा कैदीबन्दी भाग्ने प्रयास बढिरहेका बेला रामेछाप तुलनात्मक रूपमा शान्त रहेको भनिएको थियो । तर बिहीबार बिहान यहाँ पनि सामूहिक भाग्ने प्रयास भएपछि सुरक्षाकर्मीले गोली चलाउन बाध्य भएको प्रहरीले जनाएको छ ।
