यही साउन ३१ गते शनिबार बिहान ५ देखि राति ८ बजेसम्म तामाकोशी र सुनकोशी नदी आसपासमा माछा मार्ने, पौडी खेल्ने, लुगा धुने, गाडी तर्ने, बालुवा–गिट्टी निकाल्ने लगायतका गतिविधि नगर्न अनुरोध गरिएको छ ।
रामेछाप — रामेछाप आउँदो शनिबार तामाकोशी र सुनकोशी नदी किनारमा सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालय रामेछापले आग्रह गरेको छ ।
कार्यालयले बिहीबार सार्वजनिक गरेको सूचनामा दोलखाको विगु गाउँपालिका–१ मा रहेको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रको जलाशय सफा (रेजर्भोयर फ्लसिङ) कार्य हुने जानकारी आएकाले सो समयमा पानीको बहाव बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन भनिएको छ ।
प्रशासनका प्रशासकीय अधिकृत प्रकाश प्रधानका अनुसार यही साउन ३१ गते शनिबार बिहान ५ देखि राति ८ बजेसम्म तामाकोशी र सुनकोशी नदी आसपासमा माछा मार्ने, पौडी खेल्ने, लुगा धुने, गाडी तर्ने, बालुवा–गिट्टी निकाल्ने लगायतका गतिविधि नगर्न अनुरोध गरिएको छ । त्यसैगरी, नदी किनारमा हुने धार्मिक संस्कार वा मृतकको दाहसंस्कारसमेत अत्यन्त सावधानीपूर्वक मात्र गर्न भनिएको छ । प्रशासनले आकस्मिक जोखिम न्यूनीकरणका लागि सचेत रहन सबैमा आह्वान पनि गरेको छ ।
