तीन दिनपछि खुल्यो मन्थली खाँडादेवी–सित्खा सडक

भटौली खोलामा आएको बाढीले पुलको पिलरमा क्षति पुर्‍याएपछि शनिबारदेखि ठूला सवारी साधन चल्न नसक्ने अवस्था बनेको थियो।

श्रावण २०, २०८२

नवराज श्रेष्ठ

Manthali Khandadevi-Sitkha road was opened after three days

रामेछाप — तीन दिनदेखि अवरुद्ध बनेको रामेछापको मन्थली–खाँडादेवी–सित्खा सडक मंगलबार दिउँसोदेखि पुनः सञ्चालनमा आएको छ ।

भटौली खोलामा आएको बाढीले पुलको पिलरमा क्षति पुर्‍याएपछि शनिबारदेखि ठूला सवारी साधन चल्न नसक्ने अवस्था बनेको थियो।

खाँडादेवी गाउँपालिका–४ का वडाध्यक्ष कृष्णप्रसाद पौडेलले मर्मतपछि सडक अस्थायी रूपमा खुलाइएको जानकारी दिए। 'हालका लागि सडक खोलिएको हो, तर मर्मत अझै बाँकी छ । ठूलो पानी परेमा फेरि अवरुद्ध हुने जोखिम छ,' उनले भने।

सदरमुकाम मन्थलीसँग खाँडादेवी, दोरम्बा शैलुङ, सुनापति गाउँपालिका र काठमाडौँ जोड्ने वैकल्पिक मार्ग बन्द हुँदा सवारी साधन खाँडादेवी–४ मै रोकिएका थिए।

मन्थली नगरपालिकाका प्रवक्ता गोपाल श्रेष्ठले मर्मतपछि ठूला सवारी साधन सञ्चालनमा आएको बताए। 'आजदेखि सवारी आवागमन सुचारु भएको छ। अब नियमित आवतजावत हुने अपेक्षा छ,' उनले भने । उनका अनुसार पुल क्षेत्रमा अहिले पनि पूर्वाधार विकास कार्यालयमार्फत प्रोटेक्सन वाल निर्माण कार्य भइरहेको छ।

स्विस सरकारको सहयोगमा ‘स्थानीय सडक पुल कार्यक्रम (एलआरबीपी)’ अन्तर्गत निर्माण गरिएको भटौली खोलाको ४० मिटर लामो यो पुल आर्थिक वर्ष २०७१/७२ मा करिब ४ करोड रुपैयाँको लागतमा बनेको हो । वैकल्पिक यातायात सञ्जालका लागि यो पुल अत्यन्त महत्त्वपूर्ण मानिन्छ ।

गत वर्ष असोजमा खुर्कोटको पुल बगाएपछि त्यहाँ बेली ब्रिज जडान गरिएको थियो । तर, १५ टनभन्दा बढी तौलका गाडीले त्यो प्रयोग गर्न नसक्ने भएकाले हालसम्म सबै ठूला मालबाहक सवारी यही भटौली पुल हुँदै सञ्चालन हुँदै आएका थिए।

नवराज श्रेष्ठ श्रेष्ठ कान्तिपुरका रामेछाप संवाददाता हुन् ।

Link copied successfully