लदी पर्वका अवसरमा बागमती सरकारले दियो सार्वजनिक बिदा

फाल्गुन १९, २०८१

प्रताप बिष्ट

Bagmati government has given public holiday on the occasion of Ladi festival

हेटौंडा — बागमती प्रदेश सरकारले माझी समुदायको लदी पर्वका दिन मंगलबार सार्वजनिक बिदा दिएको छ । 

फागुन ९ मा बसेको मन्त्रिपरिषद्को बैठकले प्रत्येक वर्षको फागुन २० गते मनाइने लदी  पर्वमा माझी समुदायका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

यसैगरी मकवानपुरको बकैया गाउँपालिकाले पनि आइतबार सूचना जारी गर्दै बिदाबारे जानकारी गराएको छ । मंगलबार गाउँ कार्यपालिकाको कार्यालय, गाउँ कार्यपालिका अन्तर्गतका वडा कार्यालय, स्वास्थ्य संस्था तथा शैक्षिक संस्थामा स्थानीय बिदा दिने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठले जानकारी दिए ।

बकैयामा माझी समुदायको ५ हजार ७ सय २० रहेको छ । २०७८ सालको जनगणना अनुसार मुलकुमा माझी समुदायको जनसंख्या एक लाख ११ हजार ३ सय ४२ रहेको छ । बागमती प्रदेशमा ४१ हजार ६ सय ७१ माझी छन् । प्रदेशमध्ये सबैभन्दा धेरै माझीको बसोबास बागमतीमा छ । मकवानपुरमा माझीको जनसंख्या ११ हजार ५ सय ३८ रहेको छ । 

बागमतीको मकवानपुर, चितवन, सिन्धुली, दोलखा, दोलखा र धादिङमा माझी समुदायको बसोबास छ । मकवानपुरको पूर्वी क्षेत्रमा पर्ने बकैया र बागमती गाउँपालिकाका विभिन्न भागमा माझी समुदायको बाक्लो वस्ती छ ।

नेपाल माझी उत्थान संघ केन्द्रीय समितिले  माझीको महत्वपूर्ण चाड लदी पर्व बकैया-६ जुइनामा मनाउने भएको छ । यो पर्वमा नजिकका नदीखोलामा गएर पूजा गर्ने गरिन्छ ।

उत्थान संघले लदी पर्वलाई राष्ट्रिय चाडका रुपमा घोषणा गरेको उत्थान संघका महासचिव बबिन्द्रलाल माझीले बताए ।

प्रताप बिष्ट

Link copied successfully