हेटौंडा — हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङमा ट्रकले अटोलाई ठक्कर दिँदा अटोमा सवार एक महिलाको मृत्यु भएको छ ।
दुई जना घाइते भएका छन् । हेटौंडा बजारबाट चितवनतर्फ जाँदै गरेको ना ४ ख. २४९६ नं. को ट्रकले विपरीत दिशाबाट आउँदै गरेको ना १ ह. ८३०८ नं. को अटोलाई ठक्कर दिँदा अटोमा सवार मनहरी गाउँपालिका–६ खयरघारीकी ३५ वर्षीया पुजा बम्जनको मृत्यु भएको हो ।
दुर्घटनापछि गम्भीर घाइते भएकी उनको उपचारका क्रममा चुरेहिल अस्पतालमा मृत्यु भएको हो । ट्रकको ठक्करबाट घाइते भएका अटो चालक हेटौंडा–१९ की बासघारीका राजु थिङ र मृतकका छोरा ११ वर्षीय अमृत घिसिङको हेटौँडामा उपचार भइरहेको छ । ट्रक र ट्रक चालकलाई कान्छा राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
