सिन्धुली — बीपी राजमार्गको सिन्धुलीमाडी–खुर्कोट खण्ड अन्तर्गत गोलन्जोर गाउँपालिका-५ खनियाँखर्क नजिक शुक्रबार बिहान भएको निजी विद्युतीय सवारी (ईभी) दुर्घटनामा परी चालकको मृत्यु भएको छ भने ५ जना घाइते छन् ।
मृत्यु हुनेमा दोलखा गौरीशंकर गाउँपालिका ठेगाना भएका चालक २६ वर्षीय सुशान्त नेपाली रहेको प्रहरीले जनाएको छ ।
उनको सिन्धुली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । झापाबाट काठमाडौं जाँदै गरेको बा १ –०३० च ९६४२ नं को ईभी दुर्घटनामा परी घाइते हुनेहरुमा मोरङ लेटाङ नगरपालिका-२ की ३४ वर्षीय देवी लिम्बू, इलामा देउमाइ नगरपालिका-८ का ५३ वर्षीय सनबहादुर तामाङ, काठमाडौं कागेश्वरी मनोहरा ५ की २८ वर्षीय श्वेता गिरी, २८ वर्षकै सञ्जय रोक्का र झापा बाह्रदशी गाउँपालिका-१ का किस्कु मण्डल रहेको प्रहरीले जनाएको छ ।
घाइते मध्ये लिम्बूको अवस्था गम्भीर रहेको छ । उनको आँखा, टाउको र घाँटीमा चोट लागेको छ ।
गाडी अनियन्त्रित भई सडकबाट अन्दाजी चारसय मिटर तल खसेकाले उद्धारमा समेत कठिनाइ भएको सिन्धुलीका प्रहरी प्रमुख एसपी गोबिन्दराज काफ्लेले बताए । चालक निदाएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
