हृदयेश त्रिपाठी आगामी चुनावमा सूर्य चिन्हमा चुनाव लड्ने !

कान्तिपुर संवाददाता

काठमाडौं — लामो समय तराई मधेस केन्द्रित दलमा रहेका नेता हृदयेश त्रिपाठी एमालेको सूर्य चिन्ह लिएर चुनाव लड्ने भएका छन् ।राष्ट्रिय जनता पार्टीका वरिष्ठ नेतासमेत रहेका त्रिपाठीको नेतृत्वमा रहेको ‘स्वतन्त्र राजनीतिक समूह’का नेताहरु सूर्य चिन्हमा चुनाव लड्ने टुंगो भएको हो ।

लामो समय तराई मधेस केन्द्रित दलमा रहेका नेता हृदयेश त्रिपाठी एमालेको सूर्य चिन्ह लिएर चुनाव लड्ने भएका छन् ।

राष्ट्रिय जनता पार्टीका वरिष्ठ नेतासमेत रहेका त्रिपाठीको नेतृत्वमा रहेको ‘स्वतन्त्र राजनीतिक समूह’का नेताहरु सूर्य चिन्हमा चुनाव लड्ने टुंगो भएको हो । त्रिपाठीसहित बीके गुप्ता, पशुपतिदयाल मिश्र र जगदीश शुक्ला सूर्य चिन्हमा चुनाव लड्ने भएका हुन् ।

हृदयेश नवलपरासी, बीके र ईश्वरदयाल कपिलवस्तु, पशुपतिदयाल र जगदीश बाँकेबाट चुनाव लड्ने निश्चित भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसमेतको उपस्थितिमा एमालेका तर्फबाट महासचिव ईश्वर पोखरेल र स्वतन्त्र राजनीतिक समूहका तर्फबाट पाँचै जना नेताले संयुक्त हस्ताक्षर गरेका छन् । 

दुवै पक्षबीच भएको दुई बुँदे सहमतिमा स्वतन्त्र राजनीतिक समूहका नेता तथा कार्यकर्ताहरु आगामी प्रतिनिधिसभा, प्रदेशसभा तथा राष्ट्रियसभाको निर्वाचनमा सूर्य चिन्हमा चुनाव लड्ने र स्वतन्त्र पहिचानसहित क्रियाशील हुने उल्लेख छ ।