बंगलादेशको प्रस्ताव- भारत हुँदै नेपाली बिजुली खरिद

बंगलादेशी प्रधानमन्त्री शेख हसिना बाजेदले नेपाल र भुटानबाट बिजुली आयात प्रक्रियामा सहजीकरण गरिदिन भारतलाई प्रस्ताव गरेकी छन्
कमलदेव भट्टराई

नयाँदिल्ली — बंगलादेशले भारतीय भूमि हुँदै नेपाल तथा भुटानबाट बिजुली आयात गर्न प्रस्ताव गरेको छ । भारतको औपचारिक भ्रमणमा रहेकी बंगलादेशी प्रधानमन्त्री शेख हसिना बाजेदले भारतीय समकक्षी नरेन्द्र मोदी, मन्त्री तथा सरकारी अधिकारीसँगको वार्तामा भारतीय भूमि हुँदै नेपाल र भुटानबाट बिजुली आयात प्रक्रियामा सहजीकरण गरिदिन प्रस्ताव गरेकी हुन् ।

द्विपक्षीय वार्तापछि जारी विज्ञप्तिमा भारतीय भूमि हुँदै बंगलादेशले नेपाल र भुटानबाट बिजुली खरिद गर्न चाहेको र त्यसमा भारतीय सहयोगको अपेक्षा गरेको उल्लेख छ । 

‘हामीले नेपाल र भुटानबाट भारतीय भूमि हुँदै क्रसबोर्डर बिजुली आयात गर्ने सम्बन्धमा छलफल गरेका छौं,’ मोदीसँगको भेटपछि हसिनाले भनिन् । अहिले भारतले भुटानबाट बिजुली आयात र नेपाल, बंगलादेश र म्यानमारमा निर्यात गरिरहेको छ । हसिनाको अभिव्यक्तिले बंगलादेशले सिधै नेपाल र भुटानसँग बिजुली किन्न खोजेको देखिन्छ । प्रस्तावलाई भारतले कसरी लिएको छ भन्नेबारे यकिन भइसकेको छैन ।

नेपाल र भारतबीच ३ वर्षअघि विद्युत् व्यापार सम्झौता भएको छ । तर, उपक्षेत्रीय समूह नेपाल, भारत, बंगलादेश र भुटानबीचको बीबीआईएन फ्रेमवर्कअनुसार नेपालले बंगलादेशलाई बिजुली निर्यात गर्न भने सक्छ । पछिल्लो समय बंगलादेशका केही लगानीकर्ताले नेपालको जलस्रोतमा लगानी गर्न इच्छा देखाएका छन् । भारतको ट्रान्समिसन लाइन प्रयोग गरी बंगलादेशलाई बिजुली बेच्ने विषयमा कुराकानी भइरहेको छ ।

भारतीय प्रधानमन्त्री मोदी र हसिनाबीच भुटान, बंगलादेश, नेपाल र भारतसहितको चारदेशीय परियोजना अगाडि बढाउने विषयमा समेत छलफल भएको छ । उनीहरूले यस विषयमा भएका प्रगति तथा क्षेत्रीय रूपमा जलस्रोत, ऊर्जा, व्यापार, पारवहन तथा कनेक्टिभिटीमा सहकार्य विषयमा समेत छलफल गरेका थिए । भारत र बंगलादेशले यसअघि केही समय सञ्चालन भएर रोकिएको रेल तथा बस सम्झौताको सुरुआतसमेत गरेका छन् । रेल र बसको रुट पछि नेपाल–भुटानसम्म जोड्ने योजना रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

सञ्चारमाध्यमले बंगलादेशी सरकारी अधिकारीलाई उद्धृत गर्दै प्रकाशित समाचारअनुसार बंगलादेशले भारतीय भूमि हुँदै नेपालसँग रेल तथा बस सञ्चालन गर्न चाहेको छ । यसबाट तीनदेशीय ‘कनेक्टिभिटी’ बढ्ने उनीहरूको विश्वास छ । ‘भारतको पश्चिम बंगालमार्फत बंगालादेश नेपाल र भुटानसँग कनेक्टिभिटी अगाडि बढाउन चाहन्छ,’ अधिकारीले भनेका छन् । भुटानभित्रको आन्तरिक कारणले बीबीआईएन अगाडि नबढिरहेको सन्दर्भमा भारत, नेपाल र बंगलादेशले कनेक्टिभिटी अगाडि बढाउन सक्ने सम्भावना छ ।