सिपाही कथा पुनर्जन्ममा

कान्तिपुर संवाददाता

काठमाडौं — दुई सिपाही साथीको कथा रहेको फिल्म 'पुनर्जन्म' ले फागुन २२ को रिलिज मिति लक्षित गरी प्रचार अभियान थालेको छ ।

दुई सिपाही साथीको कथा रहेको फिल्म 'पुनर्जन्म' ले फागुन २२ को रिलिज मिति लक्षित गरी प्रचार अभियान थालेको छ ।
मंगलबार फिल्म युनिटले गरेको कार्यक्रममा निर्माता मोहनकृष्ण श्रेष्ठले भने, 'दुई सिपाहीमाथि घटेको अनौठो घटनामा फिल्म आधारित छ ।' उनले द्वन्द्वकालको पृष्ठभूमिबाट आएका दुई सिपाहीको वास्तविक कथामा फिल्म आधारित रहेको दाबी गरे । सिपाहीको भूमिकामा आर्यन सिग्देल र गजित विष्ट छन् ।
'म कहाँ सुरुमा ४५ मिनेटको स्क्रिप्ट आएको थियो,' आर्यनले फिल्ममा संलग्न हुँदाको कहानी खोले, 'हाम्रो कल्चरलाई महत्त्व दिएको स्क्रिप्टमा सर्ट फिल्म बनाएर फेस्टिभलमा लैजाने निर्माता/निर्देशकको योजना रहेछ । मैले सहमति जनाएँ । कमन फिल्मभन्दा पनि म यस्ता कला, संस्कृति लक्षित फिल्ममा आबद्ध हुन रुचाउँछु ।' नायिका केकी अधिकारीले पनि फिल्मको स्क्रिप्टको सराहना गरिन् । उनले चाहिं 'पुनर्जन्म' को स्क्रिप्ट कहिल्यै पुरानो नहुने दाबी गरिन् । 'फिल्ममा नयाँ अनुभव भयो । खासगरी आर्मी अफिसर्सको अपोजिटमा रहेको चरित्रमा खेल्दा आर्मीको जीवनमा आउने उतारचढावले मेरो चरित्रमा कस्तो असर पार्दो रहेछ भन्ने महसुस गर्न पाएँ ।' केकी फिल्ममा गजितको अपोजिटमा देखिनेछिन् । गजितले पनि काम गर्दाको अनुभव रमाइलो भएको सुनाए । 'मायाज बार' देखि अभिनय यात्रा थालेका गजितले पहिलोपटक नायिकासँगको केमेस्ट्री मिलेको जस्तो लागेको धारणा राखे । कार्यक्रममा ठटयौली पारामा उनले भने, 'केकीले भन्दा मैले राम्रो काम गरेको छु ।
हाम्रो केमेस्ट्री पनि शतप्रतिशत मिलेको छ ।'
सुदर्शन श्रेष्ठको कथा, पटकथा रहेको फिल्मले मृत संस्कृतिको पनि उत्खनन् गर्ने दाबी गरिएको छ । द्वन्द्वका क्रममा जिउँदा मान्छेहरू इतिहास नपाई पुरिएको भन्दै फिल्मले त्यसलाई खोस्रेर निकालिएको कहालीलाग्दो घटनाक्रम भनेको छ । फिल्मका निर्देशक सजन श्रेष्ठले यथार्थ, कलात्मक घटनाक्रमलाई मनोरञ्जनात्मक शैलीमा पस्किएको बताए । फिल्ममा आर्यन, केकी र गजितसहित सुस्मिता शाही, विजय लामा, मिथिला शर्मा, लक्ष्मी गिरी, रश्मि भट्ट, देशभक्त खनाल, रुस्मा श्रेष्ठ लगायतको पनि अभिनय छ । शिव ढकाल र नवराज कृष्ण थापाको छायांकन रहेको फिल्मको संगीत वसन्त सापकोटा र जयन्त शर्माले गरेका छन् । निर्माणमा मोहनकृष्णलाई भद्रबहादुर शाहीले साथ दिएका छन् भने नृत्य निर्देशन कविराज गहतराज र द्वन्द्व निर्देशन अष्ट महर्जनको रहेको छ । कार्यक्रममा फिल्मको प्रोमो पनि सार्वजनिक गरिएको थियो ।